
प्रधानमन्त्री नियुक्त भएलगत्तै भारत भ्रमणमा जाने पुरानो परम्परालाई प्रचण्डले ‘मोडिफाई’ गर्नुभएको छ । आफ्ना दुई उपप्रधानमन्त्रीमध्ये एउटालाई भारत र एउटालाई चीनको भ्रमणमा पठाएर प्रचण्डले नयाँ अभ्यास गर्नुभएको हो । मित्रराष्ट्र भारतले ‘कम्फर्टेबल’ ठान्न सक्ने विश्वासका आधारमा प्रचण्डले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारतको भ्रमणमा पठाउन लाग्नुभएको छ भने चीनले ‘सहज’ ठान्ने विश्वास गरिएका अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाइसक्नुभएको छ । महरा गत आइतबार चीन प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री निधिको भ्रमण अगस्ट १५ मा भारतको स्वतन्त्रता दिवस परेकोले केही पछि सरेको बताइन्छ । निधिको भारत भ्रमण यसै साताभित्र भइसक्ने बुझिएको छ । सम्भवत: उहाँ बिहीबार (भदौ २ गते) भारत जानुहुनेछ ।
निधिको भ्रमणपश्चात् वर्तमान सरकार र भारतबीच सहमति र सहकार्यको खाका स्पष्ट हुने विश्वास प्रधानमन्त्री प्रचण्डले गर्नुभएको छ । तर, अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग चीनले कति विश्वासपूर्ण व्यवहार प्रस्तुत गर्ला भन्नेबारेमा भने आशङ्का गरिएको छ । माओवादी हिंसात्मक युद्धकालमा भारतीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गर्नुभएका कृष्णबहादुर महरा २०६३ मा माओवादी खुला राजनीतिमा आएपछि चीनको नजिक पुग्नुभएको थियो । महराले चीनसँग पचास करोड रुपैयाँ सहयोग प्राप्त गर्नेसम्बन्धी वार्तालापको टेप रेकर्ड पनि एक समय सार्वजनिक भएको थियो ।
तर, पछिल्लो समयमा कृष्णबहादुर महराले भारतीय अधिकारीहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्नुभएको छ र यो कुराको जानकारी चिनियाँ अधिकारीहरूलाई पनि भएको विश्वास गरिन्छ । खड्ग ओली नेतृत्वको सरकार ढाल्न महराले विशेष भूमिका निर्वाह गर्नुभएको र प्रचण्ड सरकारमा अर्थ मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्रीको हैसियत प्राप्त गर्नुभएको घटनालाई पनि चीनले नियालिरहेकोमा शङ्का गरिँदैन । यस्तो अवस्थामा चीनले महरालाई कति विश्वासपूर्ण व्यवहार गर्ला र प्रचण्डले महरामार्फत दिने सन्देशलाई चीनले कति गम्भीरतापूर्वक लेला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । जे होस्, प्रचण्डले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन गरेको प्रयासको कूटनीतिक क्षेत्रमा भने सराहनीय मानिएको छ । दुई उपप्रधानमन्त्रीको भ्रमणपश्चात् सरकारले लिने नीति र प्रस्तुत गर्ने व्यवहारले नेपालसँग छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्ध निर्धारण हुने ठानिएको छ ।
प्रतिक्रिया