
नेपाल ििवद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १ सय १९ मतले पराजित गर्दै ११औँ महाधिवेशनबाट ४४ वर्षीय महर अध्यक्ष निर्वाचित भएका हुन् । महरले एक हजार ४४७ र आचार्यले एक हजार ३२८ मत प्राप्त गरेका छन् । त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी शिव रिमाललाई हासिल भएको छ ।
यसैगरी उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी भएका छन् । समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी भएका छन् ।
सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी भएका छन् भने समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी बनेका छन् ।
सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो ।
नवनिर्वाचित अध्यक्ष नैनसिंह महर नेविसंघका पूराना नेता हुन् । नेविसंघको इकाइ अध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र प्रदिप पौडेल अध्यक्ष जित्दा उपाध्यक्ष भएका महरले नेविसंघ अध्यक्ष बन्न निकै लामो प्रतीक्षा गरे । डँडेलधुराका बागेश्वरी गाविसमा जन्मिएकाउनी त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । लोकतान्त्रिक आन्दोलनका क्रममा उनी चार पटक जेल बसेका थिए । ३४ वर्षको उमेर नेविसंघको उपाध्यक्ष भएका महरले अध्यक्ष बन्नका लागि करीव १० वर्ष पर्खिनुपर्यो । आफ्ना बिरोधीहरुलाई समेत मिलाएर सँगै लैजाने क्षमता राख्ने महर कांग्रेसको संस्थापन पक्षमा पनि आरजु देउवाका खास विश्वासपात्र व्यक्तिका रुपमा चर्चामा छन् ।
प्रतिक्रिया