
– लक्ष्मीकान्त पौडेल
राजनीति भनेको देश बनाउने कला होे, यो समाजलाई जोड्ने माध्यम हो, राजनीतिले नै देशलाई विकास, समानता र शान्ति तथा भाइचाराको बाटोमा लगेर समाजलाई उच्च स्थानमा पुग्न सक्ने बनाउनेछ भन्ने सन्देश दिनु युवा मन्त्रीहरूको एउटा महत्वपूर्ण भूमिकामा पर्नेछ ।
भनिन्छ, हरेक बादलमा चाँदीको घेरा हुन्छ । ओली सरकारले मात्र होइन विगतका धेरै सरकारले देश र जनताले चाहेजस्तो काम गर्न सकेनन् । आशा देखाइयो र देखियो नि, तर पूरा भएन । सुशील कोइरालाले संविधान दिन सकेको यथार्थबाहेक जनताले आफ्नो जनजीविकाको सवालमा माओवादी आन्दोलनपछि अहिलेसम्म पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेनन् । प्रचण्डले विकास गरेर देशको कल्याण गर्नभन्दा सेनामा कब्जा जमाएर उत्तर कोरियाली गरिबमारा शैली अपनाउन खोजे । ओलीको कार्यकाल अरू कारणले नकारात्मक भन्न मिल्दैन, तर भूकम्पपीडितप्रति सुस्त व्यवहार र छिमेकी देशसँग गैरकूटनीतिक व्यवहार गरेर राष्ट्रियतालाई कमजोर बनाए कि भन्ने आशङ्का भएको हो । त्यो आशङ्कालाई काङ्ग्रेस सहभागी रहेको सरकारले दूर गर्न प्रयास गरिरहेको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतमा पाएको सम्मान र त्यहाँ भएको कार्यले भारत स्वतन्त्र नेपालको सम्मानमा रहेको र आपसी आशङ्का हटेको सङ्केत पनि मिलेको छ । तर, जनताले दीर्घकालका लागि चाहेको भनेको विकास, रोजगारी, स्वास्थ्य, शिक्षा र शान्ति नै हो ।
अहिले प्रचण्डको नेतृत्वको सरकार छैन, किनभने प्रचण्डपथ हराइसकेको छ । हाँडी फुटेजस्तो गरेर फुटिसकेको छ । भावनात्मक रूपमा अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन्, पुष्पकमल दाहाल हुन् । उनको सेना कब्जा गर्ने हैसियत पनि छैन र अब बुझेका छन् सत्ता कब्जा सस्ता नारा र बन्दुकबाट होइन, बरु लामो समयसम्म जनताको सेवा गरेर उनीहरूको मतबाटै सरकार प्राप्त हुन सक्दछ । उनका भनाइबाट उनी अब विकास, लोकतन्त्र र शान्ति एक–अर्काका पूरक हुन् भन्ने पक्षमा रहेको देखिन थालेको छ । केही परम्परावादी कार्यकर्तालाई खुसी पार्न उनले बहुलवाद समर्थनमा सम्म बोल्न मिलेको छैन । उद्योग, प्रशासन, सेना, प्रहरी सबै ठाउ“मा कम्युनिस्ट पार्टीको सेल हुनुपर्छ भन्नेलाई मदन भण्डारीले जननायक बीपीले भन्नुभएजस्तै साम्यवादमा लोकतन्त्र थपे समाजवाद हुन्छ भन्ने कुरालाई परोक्ष रूपमा बहुदलीय जनवादबाट प्रवेश गराउन खोजे । प्रचण्डले जति मानिसलाई दुःख दिएर बन्दुकको शासन चलाउन खोजे पनि पुष्प कमलले एकदलीयता एकाङ्गी हुने भन्दै जनताको सरकार भनेको लोकतन्त्रमा आधारित नै हो भन्ने बुझेका छन् । काङ्ग्रेसको सङ्गतले उनको सोचलाई अझ परिपक्व बनाउनेछ ।
अङ्गुलीमाल नामक प्रचण्ड बलियो हत्यारा रहेछ । उसले मानिस मार्ने र एक मानिसको एक औँलाको माला बनाएर लगाउने गरेको रहेछ । बुद्ध त्यही बाटो गएछन् । जनताले अङ्गुलीमालबारे बताएछन् । तर, बुद्ध मानेनछन् र बाटो लागेछन् । अङ्गुलीमालले देखेछ र उसलाई देखेपछि मानिस डराउने गरेकोमा उसको अगाडि एउटा साधु आइरहेको देखेर अचम्म मान्दै भनेछ कि मसँग तँलाई डर लागेन ? म अब तँलाई मार्छु, बुझिस् । बुद्धले भनेछन्, हुन्छ । अङ्गुलीमाललाई अझै अचम्म लागेछ । मानिस मार्न खोज्दा रुने–कराउने भाग्ने गर्दथे । तर, यो अचम्मको कुरा गर्दछ । तैपनि उसले तेरो अन्तिम भन्नु के छ भनेछ । बुद्धले नजिकैको रूखको सानो हाँगो तोडेर भनेछन् कि यो जोड । अङ्गुलीमालले भनेछ, यो त हुनै सक्दैन । त्यसपछि बुद्धले भनेछन् अरूले गर्न नसक्ने काम गर । मार्ने काम त धेरैले गर्न सक्छन् । तिमीले नमारे पनि मानिसले निर्वाण प्राप्त गर्छन् नै । यो बुद्धको भनाइले अङ्गुलीमालजस्तो खुंखार दुस्साहसी व्यक्ति कमलको पुष्प बनेछ, अर्थात् पुष्पकमल । ऊ साधु बनेर बुद्धको पछि लागेछ । अरूलाई दुःख दिन होइन, आफ्नो र अरूको शान्तिको लागि लागेछ ।
बुद्धको देशमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि जनताले उनका अहिलेका भनाइबाट त्यही विश्वास गरेका छन् । अब चाँदीको घेरा वास्तवमा राम्रो कामको थालनी हुनेछ भन्ने आशा छ । उनका शिक्षामन्त्री धनीराम पौडेलले भने कि शिक्षामा राजनीति हुनुहुँदैन । कम्युनिस्ट मन्त्रीले त्यसो भन्नु आफैँमा राम्रो हो । त्यही काङ्ग्रेसले भनेको भए केही ठूलो कुरा हुने थिएन । किनभने काङ्ग्रेस देशको राजनीतिज्ञको इच्छामा देश चल्ने होइन, विकास र जनताको हितको अधारमा राजनीति चल्नुपर्छ भन्ने विश्वास राख्ने दल हो । काङ्ग्रेसले त्यसमा पनि राम्रो टिमलाई मन्त्रिपरिषद्मा पठाएको छ । यस अर्थमा पनि राम्रो कि धेरैजसो मन्त्री युवा र प्रस्ट भिजन भएका छन् । बालकृष्ण खाण, नवीन्द्रराज जोशी, शंकर भण्डारीहरू दलभन्दा देश र जनतालाई महत्व दिन्छन् र भ्रष्टाचारको अन्त्य चाहन्छन् । प्रकाशशरण महत उच्चतम शिक्षाबाट दीक्षित मात्र होइन, आफ्नो क्षेत्रमा विशेषज्ञता नै प्राप्त गरेका विद्वान् हुन् । अन्य काङ्ग्रेस मन्त्रीहरूको उत्साह पनि राम्रो छ ।
सुशील कोइराला प्रधानमन्त्री हुने भन्दा पहिला यसै पत्रिकामा दामोदर पौडलले लेखेका थिए कि देशको प्रधानमन्त्री युवा हुनुपर्दछ र त्यसमा उपयुक्त व्यक्ति गगन थापा हुन्, अन्य मन्त्रीहरू पनि सकेसम्म बढी युवा नै हुनुपर्छ । ती गगन थापा देश र जनताको स्वास्थ्य राम्रो गर्ने पदमा पुगेका छन् । उनको पर्फर्मेन्सले उनलाई जनताका कति प्रिय बनाउने छ भन्ने हेर्न दिन आएका छन् । तर, उनले भनेका छन् कि जाँदा जनताको हितमा काम गर्ने भनेर सम्झने काम गरेर जान चाहन्छु । पुष्पकमल दाहालले जनताको पक्षमा तथा लोकतन्त्र र शान्ति तथा विकासको पक्षमा काम गर्न चाहेमा काङ्ग्रेसका मन्त्रीहरूले उनलाई अरूले भन्दा बढी साथ दिनेछन् भन्ने प्रस्ट छ ।
रावण नभएको भए रामको र कौरवको अत्याचार नभएको भए कृष्णको भूमिकाको महत्व हुने थिएन । त्यसैले अहिले पनि देश अस्तव्यस्त छ । जताबाट राम्रो काम थाले पनि जनता खुसी नै हुन्छ । यो नै सरकारका लागि अवसर पनि हो । गरिब र निम्न वर्गलाई काम र मामको व्यवस्था गरेर उनीहरूको कल्याण र देशको हित गर्नु सजिलो छैन भन्न सकिएला, तर उनीहरूको ऊर्जालाई देशको हितमा लगाउन सक्ने हो भने उनीहरूको श्रमको मूल्य उनीहरूको र देशको हितका लागि हुनेछ ।
सङ्घीयतालाई सबैको धरातलीय हितमा आधारित रहेर निकास दिने कार्य महत्वपूर्ण छ । समावेशी तथा समावेशी प्रतिनिधित्वलाई जति राम्रोसँग लागू गर्न सक्यो त्यति नै जनतामा उत्साह आउनेछ र अशान्ति कम हुनेछ । यी काम गर्न आर्थिक लगानी नभई इमानदारीका साथ सुझबुझ चाहिनेछ । तर, यो देशको सम्पूर्ण विकास र एकता हामीहरूको प्राण हो भन्ने हामीले बुझेका छौँ । अहिले गगन थापासमेतका नेताहरू मन्त्री भएकोमा जनता उत्साहित छन् नै । यो उत्साहलाई स्थायी बनाउन गर्नुपर्ने काम धेरै छन् र केही काम समझदारीको आधारमा र केही काम इमानदारीका साथ जनतालाई साथमा लिएर गर्नुपर्ने छन् । भूकम्पका पीडितहरूलाई भएको पैसा सजिलैसँग पुग्ने काम गरेमा पनि जनतालाई पुगेको छ । युवाहरूमा तानाशाही सोचका चर्का र कहिल्यै पूरा नहुने भाषणहरूले वाक्क बनाएको छ । उनीहरू राजनीतिलाई सकारात्मक रूपमा कम हेर्ने भएका छन् । राजनीति भनेको देश बनाउने कला होे, यो समाजलाई जोड्ने माध्यम हो, राजनीतिले नै देशलाई विकास, समानता र शान्ति तथा भाइचाराको बाटोमा लगेर समाजलाई उच्च स्थानमा पुग्न सक्ने बनाउनेछ भन्ने सन्देश दिनु युवा मन्त्रीहरूको एउटा महत्वपूर्ण भूमिकामा पर्नेछ ।
रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा र सारमा लोकतन्त्र र समुन्नत समाज एक–अर्काका पूरक हुन् भन्ने मान्यता लिएका काङ्ग्रेसका हस्तीहरूको भावनामा रहेर देशको प्रगति खोज्न हामी सिंहदरबारतर्फ फर्किरहेका छौँ । यसमा मिल्ने सफलता देश र जनताका लागि हुनेछ ।
प्रतिक्रिया