
अनिच्छित गर्भ रोक्नका लागि महिलाहरू अनेक प्रकारका गर्भनिरोधक क्याप्सुलको प्रयोग गर्छन् । गर्भनिरोधक औषधिको सही ढङ्गले प्रयोग गरिए त्यसको नतिजा पनि राम्रै हासिल हुन्छ, अन्यथा त्यसले नकारात्मक असर पु¥याउन सक्छ । एक तथ्याङ्कअनुसार आज विश्वका ८० प्रतिशतभन्दा बढी महिलाले गर्भनिरोधक औषधि सेवन गर्ने गरेका छन् । तर अब महिलाले अनिच्छित गर्भ रोक्नकै लागि यसरी औषधि खाइरहनु नपर्ने भएको छ । अमेरिकाको मेसाच्युसेट्स युनिभर्सिटीका वैज्ञानिकहरूले कम्प्युटर चिपमा आधारित गर्भनिरोधक प्रविधि विकसित गरेका छन् जसलाई रिमोट कन्ट्रोलबाट अपरेट गर्न सकिन्छ । महिलाको हिप्स, पाखुरा या पेटको छालामुनि राखिने हार्मोनयुक्त डेढ सेन्टिमिटरको उक्त चिप्सलाई इच्छाअनुसार रिमोटबाट खोल्न या बन्द गर्न सकिन्छ । सम्बन्धित महिलालाई जानकारी नदिई दोस्रो व्यक्तिले सो चिप्सको दुरुपयोग गर्न नसकून् भन्ने उद्देश्यले त्यसको सुरक्षासम्बन्धी अध्ययनमा यतिबेला वैज्ञानिकहरू जुटिरहेकाले सस्तो र शुलभ रूपमा उपलब्ध हुने भनिए पनि आगामी सन् २०१८ सम्ममा मात्रै गर्भनिरोधक चिप्स बजारमा आउनेछ । १६ वर्षसम्म काम गर्ने दाबी गरिएको यस्तो चमत्कारी चिप्स उत्पादन परियोजनालाई विश्वकै धनीव्यक्ति बिल गेट्सले सघाउँदै छन् ।
प्रतिक्रिया