
संसारमा कुनै कुराप्रति असन्तुष्टि या विरोध जनाउने आ–आफ्नै शैली देखिन्छन् । नारा, जुलुस र भोक–हडतालजस्ता विरोधका शैली अब नौलो रहेन । बरु अमेरिकाको टेक्सस युनिभर्सिटीका छात्रछात्राले क्याम्पसमा बन्दुक बोकेर जान पाउने सरकारी कानुनको विरुद्धमा गजबको अभियान छेडेका छन्, जसले विरोधको शैलीलाई विशेष र रोचक पारिदिएको छ । कलेज जाने विद्यार्थीले साथमा बन्दुक राख्न पाउने कानुन लागू भएको विरोधमा जेसिका जिन नामक छात्राले कलेज हातामा प्रतिबन्धित भए पनि खुलेआम ‘सेक्सटोय’ (यौन खेलौना) बोकेर विरोधको नौलो अभियान सुरु गरेकी हुन् । उनको यो साहसी अभियानलाई त्यहाँका करिब ४ हजार ५ सय छात्रछात्राले साथ दिँदै सेक्सटोय प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरूको तर्क छ, ‘युनिभर्सिटीमा बन्दुक बोकेर आउन पाइन्छ भने सेक्सटोयमाथि किन प्रतिबन्ध ? यौन खेलौनाले त बन्दुकले झैँ कुनै हिंसा मच्चाउने काम गर्दैन ।’ अमेरिकीहरू बन्दुक–संस्कृतिमा लिप्त हुन पुग्नु दुःखद् कुरा भन्दै यौन खेलौना प्रदर्शनमा उत्रिएका छात्रछात्राले प्रशासनले यसरी जथाभावी बन्दुक बोक्न पाउने नियममाथि पुनर्विचार गर्ने अपेक्षा गरेका छन् । ज्ञातव्य छ, अमेरिकाका शैक्षिक संस्थामा बन्दुकको दुरुपयोगका कारण बीभत्स घटना निम्तिने गरेको छ ।
प्रतिक्रिया