सुनसरीमा मानव बेचविखन कहालीलाग्दो

सुनसरीमा मानव बेचविखन कहालीलाग्दो


22 Manita pic

धरान । मानव बेचविखनसम्बन्धी मुद्दाको अवस्था सुनसरीमा कहालीलाग्दो बन्दै गएको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता भरतमणि रिजालले बताएका छन् । दशौँ राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवसका अवसरमा ‘धरान उपमहानगरपालिका मानव बेचविखन ओसापसारविरुद्ध नगर कमिटी’द्वारा आयोजित एकदिने गोष्ठीमा सहजीकरण गर्दै उनले गत आर्थिक वर्षमा सुनसरीमा मानव बेचविखनसम्बन्धी मुद्दाको सङ्ख्या १३ वटा रहेकोमा यस आर्थिक वर्ष सुरु भएको डेढ महिनाभित्रै सातवटा मुद्दा परिसकेको जानकारी दिए ।

मानव बेचविखन इन्डो–नेपाल बोर्डरको तथ्याङ्कअनुसार सुनसरीमा मानव बेचविखनको मुद्दा गत वर्षभन्दा यस वर्ष झनै बढेर गएको देखाएको छ । पछिल्लो क्रममा धरान नगरीमा समेत वेश्यावृत्ति र मानव बेचविखनसम्बन्धीका मुद्दाहरू बढ्दै गएको बताइएको छ ।

मानव बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन २०६४ अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना, वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्मको जरिवाना, वेश्यागमन गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद र दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिने प्रावधान छ । साथै, देहव्यापारमा लगाउन मानव ओसारपसार गर्ने व्यक्तिलाई सातदेखि १० वर्षसम्मको कैदको व्यवस्था भए पनि विदेशमा वेश्यावृत्तिका लागि लैजानेलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।

मानव बेचविखनसम्बन्धी केही तथ्यलाई हेर्दा पनि नेपालमा सन् २०१५ मा ४६ वटा मुद्दा परेकोमा ६९ जना पीडकलाई पक्राउ गरिएको र एक सय ५९ जनालाई उद्धार गरिएको जनाइएको छ भने प्रत्येक वर्ष नेपालबाट १० देखि १५ हजार महिला भारतमा बेचिने र सात हजार पाँच सय बालबालिका स्थानीय रूपमा बेचविखन हुने गरेको मानव बेचविखन इन्डो–नेपाल बोर्डरको तथ्याङ्कले जनाएको छ । तर पनि किन मानव ओसारपसार बढ्दो छ त भन्ने सवालमा जिल्ला न्यायाधिवक्ता रिजालले मानव ओसारपसारमा संलग्न हुने अपराधीका लागि बन्दीगृह, सुधारकेन्द्र हुनुपर्नेमा अपराधी जन्माउने थलोको रूपमा परिणत हुँदै गएकाले पनि मानव बेचविखन झनै बढ्दै गएको बताए । उनले नेपालका राजनीतिक दल, प्रहरी र अपराधी मिलेपछि अपराधले झनै बढावा पाएको बताए ।

सो कार्यक्रममा माइती नेपालका संयोजक सुनिता कार्कीले नेपालका अठार ठाउँमा शाखा कार्यालय खोलिएको बताउँदै बोर्डरहरूमा आवासगृह खोली पीडितहरूको उद्धार गरेर पुनस्र्थापना गरिने, त्यसपश्चात् परिवारमा मिलन गराउने कार्य माइती नेपालले गर्दै आएको बताइन् । त्यस्तै, महिला विकास कार्यालय तथा बालबालिका कार्यालयका सुशीला कार्कीले बेचविखनमा परेका महिला, बालबालिकाहरूका लागि धरानमा दुईवटा, इटहरी, आँपगाछीसमेतमा पुनस्र्थापना केन्द्र रहेको जानकारी दिइन् । साथै सो केन्द्रहरूद्वारा उनीहरूलाई आत्मनिर्भर बनाउन आफूहरूले सीपमूलक तालिमसमेत प्रदान गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रमका अध्यक्ष धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनिल नेपालले धरानलाई ट्रान्जिट प्वाइन्ट बनाई जानेक्रम बढ्दो रहेको कारण धरानमा मानव बेचविखनका कार्यहरूले धरानसमेत अछुतो नरहेको बताए । साथै उनले मानवाधिकारका लागि राष्ट्रिय कार्ययोजना बनाइएकाले अब मानव बेचविखनका घटनामा कमी आउने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममा उठेका प्रश्नलाई जिल्ला न्यायाधिवक्ता रिजाल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले जवाफ दिएका थिए । सो कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेश खतिवडा, महिला सञ्जाल धरानका अध्यक्ष शिला बज्राचार्य, पारालिगल धरान नगर समितिका अध्यक्ष मीना पुलामीलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
– मनिता चाम्लिङ