तरुण दलको नेतृत्व लिन समूहगत होडबाजी

तरुण दलको नेतृत्व लिन समूहगत होडबाजी


tarun-dal

नेपाली राजनीति सिद्धान्त, बलिदानी, सङ्घर्षमा सिर्जना भएको परिवर्तनको बिहानी हो । राजनीतिमा विचार, सिद्धान्त र परिवर्तनको आयाम बोकेका पार्टीहरूको जन्म हुने गर्दछ । नेपाली भूमिमा जनलक्षित सिद्धान्त बोकेको पार्टी भनेकै बीपीको समाजवादमा चारतारे झण्डामा प्रस्तुत भएको नेपाली काङ्ग्रेस पार्टी नै हो भन्नुमा अतियुक्ति नहोला । नेपाली काङ्ग्रेस पार्टीको महत्वपूर्ण मेरुदण्ड नेपाल तरुण दलको महाधिवेशन नजिकिँदै गर्दा तरुणहरूको नेतृत्वका प्रतिस्पर्धीको होडबाजी चलिरहेको छ । वि.सं. २०१० कात्तिक १० गते प्रजातन्त्रको नयाँबिहानीसँगै गठन भएको तरुण दल नेपाली काङ्ग्रेस पार्टीलाई सफल गन्तव्यमा पु¥याउने सूचक हो ।

नेपाल तरुण दलको वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू अब उम्मेदवार नबन्ने निश्चितजस्तै छ । यही असोज ३, ४ र ५ गते पोखरामा तरुण दलको महाधिवेशन गर्ने निश्चित भइसकेको छ । सोही कारण अहिले तरुण दलको अध्यक्षका लागि तरुण नेताहरू तीव्र रूपमा लागिपरेका छन् । यसरी तीव्र रूपमा लाग्नेमा मीनकृष्ण महर्जन, कर्ण मल्ल, सिद्धार्थ कोइराला, दामोदर कोइराला, पद्म पालुङ्गालगायतका तरुण नेताहरू छन् ।

महर्जन, मल्ल र पालुङ्गा संस्थापन पक्षका हुन् भने सिद्धार्थ, दामोदर पौडेल पक्षका हुन् । महर्जनलाई नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, रक्षामन्त्री बालकृष्ण खाण, वनमन्त्री शंकर भण्डारी र तरुण दलका अध्यक्ष उदयशमशेर राणाको साथ रहेको बुझिन्छ । महर्जनले तरुण दलमै बसी १० वर्षसम्म निभाएको भूमिका, ०४६ सालदेखि नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध भई गरेका कामका साथै ०६२-६३ को जनआन्दोलनमा तरुण उपत्यकाकै संयोजक भई शाही सरकारसँग लडेको वास्तविकता देखेर नेपाली काङ्ग्रेस पार्टीका सभापति एवम् शेरबहादुर देउवासमेत प्रभावित बनेका छन् । ०६४ सालको माओवादी पार्टीको एकलौटी त्रास र बन्दुकको निर्वाचनमा महर्जनले देखाएको साहसका साथै ०७० को निर्वाचनमा देखाएको बहादुरीको पुरस्कार दिनुपर्नेमा नेपाल तरुण दलका वर्तमान अध्यक्ष उदयशमशेर राणासमेत सहमत देखिन्छन् ।

यस्तै, कर्ण मल्ल डडेल्धुरा पार्टी सभापति हुन् । मल्ललाई पार्टी सभापति शेरबहादुर देउवाले खासै रुचाउँदैनन् । गएको तेह्रौँमहाधिवेशनबाट देउवा र मल्लको सम्बन्ध बिग्रिएको बुझिन्छ । त्यसैकारण मल्ल संस्थापनबाट तरुण दलको सभापतिको उम्मेदवार बन्ने निकै कम सम्भावना रहेको छ । उता पालुङ्गाको खासै हाँगाबिँगा छैन भने नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काले उनको भाञ्जा निरञ्जन केसीलाई संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन् । तर, केसीको स्वास्थ्य समस्याका कारण केसीका परिवारले राजनीति नगर्न दबाब दिइरहेका छन् । केसीको तीन वर्षअगाडि ब्रेनट्युमरको अप्रेसन गरिएको थियो । यता, प्रभावशाली नेता खुमबहादुर खड्का र वनमन्त्री शंकर भण्डारीले तरुण दलमा आफ्नो समूह निकै बलियो रहेकाले संस्थापन पक्षबाट मीनकृष्ण महर्जनलाई अध्यक्षको उम्मेदवार बनाउन देउवालाई दबाब दिइरहेका छन् । महर्जन अध्यक्षको उम्मेदवार भएमा सजिलै जित्न सकिने खड्का र भण्डारीको तर्क छ । उता, पौडेल समूहबाट महामानव बीपी कोइरालाका नाति शाही सरकारमा विज्ञान तथा प्रविधिमन्त्री बनेका प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइरालालाई उम्मेदवारी बनाउन महामन्त्री शशांक कोइराला, सुजाता कोइरालाले लबिङ गरिरहेका छन् भने अर्का प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइरालाले भने दामोदर कोइरालालाई उम्मेदवार बनाउन लबिङ गरिरहेका छन् ।

पौडेल समूहमा नेतापिच्छे तरुण दलको अध्यक्षमा उम्मेदवार बनाउने होडबाजी चलिरहेको अवस्थामा संस्थापन पक्ष निकै बलियो बनेको देखिन्छ । पौडेल पक्षले अनावश्यक विवाद निकाली अधिवेशनमा भाग नलिने भन्दै भागबन्डाको राजनीति खोजिरहेको पनि देखिएको छ । यता, कृष्णप्रसाद सिटौला समूह पनि आफ्नो छुट्टै समूह खडा गरी नेविसङ्घमा जस्तो संस्थापनसँग भागबन्डा खोजिरहेको अवस्था छ । वास्तवमा अहिले तरुण दलमा संस्थापन पक्ष निकै बलियो अवस्थामा रहेको छ ।
– नवीन उप्रेती