
– इन्द्रबहादुर बराल
नेपाली जनताका ढुकढुकी बन्न सफल हुनुभएका स्व. जननेता बीपी कोइरालाको १०२औँजन्मजयन्ती भर्खरै गुज्रिएको छ । यस सन्दर्भमा पार्टी नेता तथा कार्यकर्ताले आ–आफ्नै तौरतरिकाले विभिन्न कार्यक्रममार्फत बीपीको स्मरण गरे । बीपीलाई सम्झिने अहिलेको काङ्ग्रेसी ढङ्ग देख्दा लाग्छ– अधिकांश कांग्रेसजन बीपीका विचार र दृष्टिकोणबारे कि त अनभिज्ञ छन् कि बुझ पचाएर स्वार्थी बाटो अपनाएका छन् ।
नेपाली जनतालाई निष्पट्ट अँध्यारोबाट मिर्मिरे उज्यालोतर्फ डो¥याउन आफ्नो सम्पूर्ण बर्कत खर्चेका बीपीलाई वर्षको दुईपटक जबर्जस्ती सम्झेर बाँकी समय बिर्सने प्रवृत्तिले मुलुकको सिङ्गो प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाहलाई कमजोर बनाएको छ । बीपीको विचारलाई तिलाञ्जली दिँदै जब गणतन्त्रको मार्गमा देशलाई लगियो तत्पश्चात् काङ्ग्रेस राष्ट्रिय राजनीतिमा तिल्मिलाउन थालेको आभास हुन्छ ।
देश, काल र परिस्थितिअनुकूल आफूलाई परिमार्जन एवम् परिवर्तन गर्दै जानु गतिशील राजनीतिक नेतृत्वको विशेषता मान्ने हो भने जनआन्दोलन ०६२÷६३ पछि बीपीका विचारबाट फड्को मार्दै कांग्रेस गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामा प्रवेश ग¥यो । त्यसकारण गणतन्त्र नेपालमा बीपीको स्थान पार्टीभित्र र राज्यमा कहाँनेर भेट्न सकिन्छ, खोजको विषय बनेको छ । अब राज्यको कुरा त परै भयो, कांग्रेस पार्टीभित्र बीपीका विचार वा आदर्श कति अवलम्बन भएका छन् वा छैनन् त्यसको लेखाजोखा गर्ने बेला आएको छ । समयमै काङ्ग्रेसले आफूलाई सच्याउन नसके पार्टी मात्र होइन प्रजातन्त्रकै भविष्य खतरामा देखिन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको एक मात्र अग्रणी पार्टी नेपाली काङ्ग्रेसले बीपीलाई वैचारिक र सैद्धान्तिक हिसाबले कहाँनेर बिर्सिएको हो, त्यो पत्ता लगाएर आफूलाई सच्याउनुको विकल्प छैन ।
राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमान अनि भौगोलिक अखण्डता तथा राष्ट्रवादका ठेकेदार ठान्नेहरूको ‘बकुल्लाभक्ति’ले देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न सक्दैन । दुई उदीयमान शक्तिको बीचमा अवस्थित भौगोलिक, जनसङ्ख्या र आर्थिक दृष्टिले पनि पछाडि रहेको देश नेपालले दुवै मुलुकसँगको सम्बन्धमा समानताको आधारमा सन्तुलित र संयमित कूटनीतिक सम्बन्ध बिग्रन दिनुहुँदैन । बिग्रेको भए वा बिग्रन लागेको भए पनि तत्काल राष्ट्रको स्वाभिमान र स्वाधीनतामा ठेस नपुग्ने गरी सम्बन्ध सुधार्नुपर्छ । नेपालीका लागि आफ्नो स्वाधीनता र स्वाभिमान प्राणभन्दा प्यारो छ । हिजोका दिनमा पनि नेपालीले जस्तोसुकै शक्तिका सामु कहिल्यै शिर झुकाएनन् बरु हाँसी–हाँसी आफूलाई बलिवेदीमा चढाएको इतिहास पुरानो भएको छैन ।
यस परिवेशमा अब बीपीलाई कांग्रेसभित्र खोज्ने बेला आएको छ । बीपीलाई मृत्युदण्ड दिन दर्जनौँमुद्दा लगाएर तत्कालीन दलविहीन पञ्चायती व्यवस्थाका नाइकेहरूले षड्यन्त्र रचेको अवस्था पनि राष्ट्रियतामाथि खतरा देखेर निर्वासित जीवनबाट स्वदेश फर्केको घटना स्मरण गर्दै आगामी कार्यदिशा तय गर्नु कांग्रेसका लागि अनिवार्य सर्त बनेको छ । जनआन्दोलन ०६२÷६३ पछि कांग्रेस अन्योलपूर्ण यात्रामा अलमलिएको छ भन्नु कसैप्रति आग्रह–पूर्वाग्रह हुन सक्दैन । तथापि, कांग्रेसले केही हदसम्म सन्तोष गर्ने ठाउँके छ भने मुलुकका उग्रवामपन्थी हुन वा उग्रदक्षिणपन्थी सबै दललाई यसले लोकतन्त्रको मूल प्रवाहमा समाहित गराएको छ । यसरी नेपाली कांग्रेसका अग्रज जसले यो पार्टी स्थापना गरेर समाज परिवर्तनका लागि सुन्दै कहालीलाग्दा क्रान्तिमार्फत मुलुकलाई मुक्ति दिलाउन सफल भए, आज सोही ०७ सालको क्रान्तिको जगमा टेकेर थप क्रान्तिकारी कदमले यहाँसम्म ल्याइपु¥याएको हो ।
आज कांग्रेसमा बीपी कहाँछन्, खोज्नुपर्ने स्थिति छ । सोह्रश्राद्ध तथा वर्षदिनको तिथिमा आफ्ना पितृलाई सम्झेजस्तै बीपीलाई हरेक वर्ष साउन ६ र भदौ २४ गते सम्झेर मात्र पुग्दैन । बीपीका विचार र आदर्शबाट ओतप्रोतका साथ पार्टीको जीवनपद्धति सुदृढ बनाउनुपर्छ । अनि मात्र कांग्रेसमा कहाँछन् बीपी भन्ने प्रश्नको जवाफ भेटिन्छ ।
समयको माग र जनताको चाहना नै राजनीतिक पार्टीको चाहना र आवश्यकता हुनुपर्छ । त्यसैले समयसापेक्ष रूपमा अघि बढ्दा आफ्ना पुराना मूल्य र मान्यतालाई परिमार्जन गर्दै जानुपर्ने हुन्छ । ०७ सालको राजनीतिक परिवर्तनले जनताका सदियौँदेखि गुम्सिएर रहेका इच्छा, आकाङ्क्षा र आवश्यकतालाई परिपूर्ति गर्न नेपाली कांग्रेसले २०१२ सालमा वीरगञ्ज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादको बाटो समाएको थियो । आज त्यही विचार र पथमा नेपाली समाज अघि बढ्न खोजे पनि त्यसको सही नेतृत्व नेपाली काङ्ग्रेसले मात्र दिन सक्छ भन्ने सन्देश दिन नसक्नु बीपीका सच्चा अनुयायी काङ्ग्रेसजनका निम्ति विडम्बनाको सन्दर्भ हो । माओवादी केन्द्रको नामबाट होस् वा एकीकृत माक्र्सवाद र लेनिनवाद, जुनसुकै नामबाट स्थापित कम्युनिस्ट पार्टी पनि बीपीकै विचारलाई केन्द्रमा राखेर अघि बढ्न खोजेका देखिन्छन् । संसारमा देखापरेको उदार र खुला राजनीतिबाट बाहिरिन सकिने अवस्था नदेखेर होला बन्द समाजको अन्ध समर्थनमा रहेका यहाँका धेरै कम्युनिस्ट नामधारी पार्टीहरू जानेर वा नजानेर बीपीकै प्रजातान्त्रिक समाजवाद नै आफ्नो आदर्श ठान्न थालेको आभास हुन्छ । यस दृृष्टिकोणबाट हेर्दा चतुर कम्युनिस्टहरू मीठा र सुन्दर सपनाका वितरणमुखी प्रचारबाजीले नेपाली जनताको मन र मस्तिष्कलाई आफूतिर आकर्षित गरिरहेका छन् ।
यसर्थ नेपाली कांग्रेसले आफ्ना नीति र कार्यक्रममार्फत नेपाली जनताको भावना आफूप्रति आकर्षित अनिवार्य छ । प्रजातन्त्रको पुनस्र्थापना र गणतन्त्रको स्थापनासम्म आइपुग्दा नेपाली कांग्रेसले बीपीलाई कहाँभेट्टाउँछ थाहा छैन, तर आमकांग्रेसी कार्यकर्ताले भेट्टाउन सकेजस्तो लाग्दैन । गरिबसँग बीपी नामका कार्यक्रम सञ्चालन भए पनि बारम्बार सरकार परिवर्तनको खेलले उक्त कार्यक्रम त्यति प्रभावकारी बन्न सकेको देखिएन । यसकारण नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला मात्र नभई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका आदर्श र व्यवहारलाई पार्टीमा हुबहु उतार्नैपर्छ । त्यसका लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा सक्षम र योग्य छन् र हुनुपर्छ पनि । अब नेपाली कांग्रेसभित्र बीपीलगायत उहाँका सहयात्रीको बिम्ब देखिनुपर्छ । अहिलेको नयाँपुस्ता त्यसै पनि जाने–बुझेका, पढे–लेखेका छन्, तर तिनलाई पार्टीले यथोचित प्रशिक्षण दिन सकिराखेको छैन । यसर्थ पनि यथाशीघ्र पार्टी सङ्गठनलाई पूर्णता दिएर जिम्मेवारी बाँफबाँड गर्न कत्ति पनि ढिला गर्न हुँदैन । कसले के भन्छ होइन, आफूले के गर्ने हो गरिहाल्नुपर्छ भन्ने स्कुलिङबाट आएका पार्टी सभापति शेरबहादुर देउवालाई भनिराख्नुपर्ने त होइन, तर घचघच्याउने धृष्टता भने गरिएको छ ।
आफूलाई काङ्ग्रेसको विरासत धान्ने ठूलै नेता ठान्ने सुजाता कोइरालाले आजभोलि विचित्रको व्यवहार देखाउँदै छिन् । सार्वजनिक स्थानमै उनी केपी ओलीको प्रशंसामा आफूलाई बहकाउँछिन् । कुनै विपक्षी नेताविशेषको प्रशंसा गर्नु अपराध त होइन, तर एउटा जिम्मेवार नेताले आफ्नै पार्टीको नीति–निर्णयको विरुद्ध बोल्दा कार्यकर्ता तथा आमनागरिकको तप्कामा भ्रम पैदा हुनेतर्फ उनले विचार पु¥याएको देखिएन । बाबुको पालामा रजगज गरेको, तर आज त्यसरी हालिमुहाली गर्न नपाउँदा पार्टीप्रति नै कृतघ्न बनेर विचलनमा पुगेको हो कि भन्ने आशङ्का जन्माएको छ । यो त एउटा उदाहरण मात्र हो, नेपाली काङ्ग्रेसमा यस्ता स्वार्थी प्रवृत्ति निकै मौलाएको पाइन्छ । यदि पार्टी एकढिक्का नहुने र एउटा निश्चित सन्देश देश, जनता र कार्यकर्तामाझ पु¥याउन नसक्ने हो भने कांग्रेसका दुर्भाग्यका दिनलाई कसैले रोक्न सक्नेछैन । पार्टी निश्चित विचार, सिद्धान्त र राजनीतिले चल्छ भने त्यसलाई व्यवस्थित र मर्यादित गर्न अनुशासनको त्यत्तिकै खाँचो हुन्छ । अनुशासनहीनताले पार्टीलाई चाँडै ओह्रालो लगाउँछ । यो तीतो सत्यलाई मनन गर्दै पार्टीलाई अनुशासित र सङ्गठित गर्दै जानु अपरिहार्य देखिएको छ ।
अन्त्यमा, आज कांग्रेसमा बीपी कहाँछन्, खोज्नुपर्ने स्थिति छ । सोह्रश्राद्ध तथा वर्षदिनको तिथिमा आफ्ना पितृलाई सम्झेजस्तै बीपीलाई हरेक वर्ष साउन ६ र भदौ २४ गते सम्झेर मात्र पुग्दैन । बीपीका विचार र आदर्शबाट ओतप्रोतका साथ पार्टीको जीवनपद्धति सुदृढ बनाउनुपर्छ । अनि मात्र कांग्रेसमा कहाँछन् बीपी भन्ने प्रश्नको जवाफ भेटिन्छ ।

प्रतिक्रिया