-मिलन शर्मा
खास केही नभएकाे अनि खुश काेही नभएकाे ठाउँ मानिएकाे नेपालकाे केन्द्र काठमाण्डाैंमा रहेर सम्पूर्ण मुलुकमा प्रत्यक्ष प्रभाव पार्ने प्रकारका राजनीतिका नीतिकारहरुले फेरि अर्काे अध्याय खाेलेका छन् । अत: मुलुकमा नयाँ संविधान जारी गर्ने समय सबै दलहरु एकवद्ध भएर लागी परेकाछन् । यसले नेपाली एकताको छनक दियो तर थोरै समय पनि नबित्दै उनीहरु फेरि सत्ताको खेलमा माथापच्चीसी शुरु गरिसकेका छन् । प्राय आधा वा पौने वर्ष मात्र सरकार चलाउने उनीहरु एकले अर्कोलाई दोषारोपण गर्दै आएका छन् तापनि नेपाली जनताले आफ्नाे राष्ट्रप्रेमका अगाडि स्वार्थी राजनीति खेल भन्दा स्वतन्त्र काम गरिखाने वातावरण निर्माण गर्ने कडा सरकारको आशा गर्न थालेका छन् । यसैले पनि राजनीतिक वा गणतान्त्रिक पद्धतिमा नै नेपाली जनताको निराशा थप बढोत्तरी हुँदै आएको छ ।
देशले अव विकासको वाटो अवलम्वन गर्ला र हाम्रो अवस्थामा सुधार आउँला भन्दै नेपाली जनता लोकतान्त्रिक संविधानको लागि विगत साढे छ दशकदेखि आन्दोलित थिए । यतिवेलासम्म गणतन्त्रिक देशको नयाँ संविधानले धेरै कुरा दिइसक्नुको साटो दलहरुमा आपसी तिक्तता र जनताप्रति निराशाबाहेक केही दिन सकेको छैन । संविधान निर्माणको महासन्धान सकिएलगत्तै देश आर्थिक विकासको फड्कोमा जानुपर्ने थियो । राजनैतिक दलका नेताहरु सत्ताकै भागवण्डामा लागिरहनुले पनि देश र जनताको चासो ओझेलमा परेको देखिनु दुर्भाग्य शिवाय के हुन सक्ला ! पहिला देश अनि मभन्ने सोचमा परिवर्तन नआउनु नै प्रमुख कारण हो । दोस्रो पटक संविधान सभाको चुनावताका नेपाली जनताप्रति गरेका प्रतिवद्धतालाई विर्सिएर उही पुरानै शैलीवाट अगाडी वढ्न खोज्नु कति अदुरदर्शिता हो हाम्रा नेताहरुको । के नेपाली जनता वुझ्दैनन् र ? अव सचेत भइसकेका नेपाली जनताको अगाडि आफैले तोकेको समय सीमा २०७४ माघ ७ भित्र संविधानलाई पूर्ण कार्यान्वयनमा ल्याउन होमिनुपर्ने अवस्थामा राजनीतिक दलका नेताहरुको यो सत्तालिप्साले देशलाई अझ जर्जर अवस्थातिर लैजानेतर्फ संकेत गरेको देखिन्छ ।
देश र जनताका लागि अझै पनि संवेदनशील हुन नसक्नु नेताहरुको अकर्मण्यता वाहेक केही होइन । दलहरुले समयमा नै संविधान जारी गर्न सकेको भए पहिलो संविधानसभाबाट नै देशले नयाँ निकास पाउने पक्का थियो । तर देश एकातिर र दल अर्कातिर, अझ भनौं राष्ट्रियभन्दा दलीय र दलीय भन्दा पनि व्यक्तिकेन्द्रित राजनीतिक संकीर्णताका कारण देश ठूलो दुर्घटनामा प-यो र संविधानसभा विघटन भयो । विदेशीहरुको चासो वढ्नु र छिमेकीराष्ट्रको प्रष्टरुपमा देखिएको संलग्नतालाई दोष लगाएर पानीमाथिको ओभानो देखिने दलहरुको यस कुटील चालले राष्ट्रघातीहरुले सर्पले टाउको उठाए झै खुलेआम आफ्नो शाख व्यक्त गर्दै हिँड्नुले पनि देशको भविष्य कतातिर जाँदैछ भन्ने आँकलन गर्न सकिन्छ ।
हिजो नेपालीहरुले बगाएको रगतको अवमूल्यन गर्दै सत्तासिनहरु राजनैतिक खिंचातानीमा लागिरहुनले पनि राजनीतिक यात्रा जनपक्षीय धारमा छैन भन्ने स्पष्ट देखिन्छ । ‘भाइ फुटे गवार लुटे’ भन्ने उखानलाई चरितार्थ गर्दै छन् नेताहरु । जनताले दलीय कार्यदेखि विरक्त भएर पुरानै सरकारको प्रशंसामा जुट्न थालेको पनि नेपाली राजनीतिक दीर्घामा देखिन्छ । यसरी हरेक समयको कालखण्डमा एउटै शैलीवाट अगाडि वढ्न खोज्नु र देशलाई लुट्ने काम वाहेक केही हुन सकेको छैन । देश भ्रष्टाचारको संस्थागत विकासमा लागेको जस्तो देखिन्छ । महँगी र बेथितीले जरा फैलाएको छ । यसलाई विश्वको आँखामा प्रगतिशील उन्नत राष्ट्रका रुपमा स्थापित गर्नु पर्नेमा उल्टो देशलाई सोमालिया वनाउँने रणनीतिमा लाग्नु दुर्भाग्यपूर्ण हो ।
जर्जर अवस्थामा पु-याइएको राजनीतिक मार्गचेतनाले देश र नेपाली जनता अझै दिन प्रतिदिन गरीव वन्दै गइरहेका छन् । देश विदेशिएका युवाको रेमिट्न्सले चलिरहेको छ । लगानी कर्तालाई उपयुक्त वातावरण छैन । दैनिक हजारौको संख्यामा युवाहरु विदेशिन वाध्य छन् । यस्तो अवस्थामा तिनै युवालाई देशमा रोकेर रोजगारीको वातावरण तयार गरि भोलिको देश चलाउने जिम्मेवारी दिनुपर्नेमा उल्टो अझै सहज वातावरण निर्माण गरेर विदेश लखेटिरहने देशको गणतान्त्रिक नीतिलाई के भन्ने ! नेपालमा संविधान निर्माण होला र आफ्नै देशमा लगानी गरेर स्वदेशमा बस्नचाहने विदेशी युवाको सपना संविधान निर्माण भइसकेकपछि पनि पूरा हुन सकेको छैन बरु विदेशमा नै मर्न वाध्य पारिनु कति दुःखको कुरा हो ।
०७४ माघ ७ गते आउँन अव धेरै दिन वाँकी छैन । नेपाली जनताको आशामा तुरासापात छर्दै नेताहरुले विभिन्न वाहनामा आन्दोलन थाल्नु कति लाजमर्दो हो । आपूm काम गर्न नसक्ने अनि हरेक पटक नेपाली जनताका नाउँमा आन्दोलन थोपरेर नेपाली जनतालाई वेकुप वनाउने घृष्टता अव नगरे पनि हुन्छ । किनकि नेपाली जनताले अब राम्ररी वुझिसकेका छन् कि यो देशका शत्रु को हुन् भनेर । देशका लागि केही गर्न नसक्ने यस्ता दल र त्यसका नेतृत्वको नेताहरुको भविष्य अव कस्तो होला ?
नेपाल आमा र हामी सम्पूर्ण नेपालीहरुको दुभाग्र्य नै हो भन्नु पर्छ आज सम्म देशको माया गर्ने सपुतले जन्म नै लिन सकेन छ । सवै वहुरुपीहरु मात्र रहेछन् । जसलाई आफ्नो वाहेक अर्काको कुनै चिन्ता छैन । हिजो जे जति देशका नाउँमा आन्दोलन भए हजारौको संख्यामा निर्दोष जनताका छोरा छारी मारिए यो सवै सत्ता प्राप्तिको खेलमात्र रहेछ भन्ने कुरा अव नेपाली जनताले वुझिसकेका छन् । जसको विरुद्धमा नेपाली जनतालाई उचालेर आन्दोलन गरेका नेताहरु आज आफ्नो स्वार्थ पुरा भएपछि पुनः पुरानै अवस्थामा पूनरावृत्ति हुन खोज्नुले नै प्रष्ट पारेको छ ।
नेपाली जनता राणाहरुको विरुद्धमा यिनीहरुसंग लागेर लडे, पञ्चायती विरुद्ध लडेपछि शाही शासन विरुद्ध भन्दै लडाइए । खै त, के पाए त नेपाली जनताले ? नेताहरुका आफन्त मारिएका छैनन् त्यस घटनामा नकि उनीहरु नै सहिद भए मात्र नेपाली जनताका छोरा छोरीहरु मात्र । त्यसैले पनि नेपाली सोझा जनतालाई हरेक पटक आफ्नो स्वार्थको वलिको बोका बनाउँने नेताहरुले कुनै दिन पनि देश र जनताका विषयमा सोचेनन् । आज पनि आफ्नै स्वार्थमा लागिरहेका छन् । दलीय स्वार्थ भन्दा माथि उठेर देश र जनताका लागि काम गर्ने कुनै गान्धी नेता जन्मेकै छैनन् यो देशमा । हजारौ सहिदको आँसुले नपिरोल्ने, नसम्झने यी नै नेताहरुका कारण नेपाली जनताले अब राजसंस्था व्यूत्याउन पर्ने हो कि भन्ने सोच्न वाध्य भइरहेका छन् । गणतन्त्रात्मक शासन पद्धतिमा अगाडि वढेको देशलाई फेरि असफल नेताहरुको कार्यशैलीले राजतन्त्रप्रतिको नेपालीको विश्वास जगाउँदै लगेको छ । यिनीहरुको कार्यगत शैलीका कारण नेपाली जनता आजित भइसकेका छन् । त्यसैले समयको कोल्टेफेराईसँगै नेपाली जनताले पनि अव आफै निर्णय गर्ने समय आइसकेको छ । जुन वेला राजनैतिक नेताहरुको अस्तित्वप्रति नै प्रश्न उठ्ने छ । यस विषयमा समयमा नै सचेत हुन आवश्यक छ ।
नेपालमा २०१७ सालमा पञ्चायत आएझै फेरि राजतन्त्र नआउँला भन्न सकिन्न । त्यसैले यतिवेला राजनीतिक दलका नेताहरुको पनि आफ्नै परिक्षाको घडी हो भने विश्वविकसित भएको अवस्थामा नेपालको राजनीतिक अस्थिरताले देखाएको वाटोका कारण देशमा वाहिरी शक्तिको प्रभावलाई थेग्नु पर्ने स्थिति पनि देखिन्छ । अव नेपाली जनता यतिमात्र चाहन्छन कि आफ्नो देश नेपाल विश्वमानचित्रमा आफ्नै स्वअस्तित्वमा वाचिरहोस् र नेपाली हुँ भन्ने गर्व गर्न पाइरहुँ । तसर्थ यसको सहि उपाय मात्र एउटै छ कि संविधान जारी गरिसकेपछि यसको समयसापेक्ष कार्यान्वयन गरी देशलाई अगाडी वढाउनु । यसका लागि दलका नेताहरु सचेत नागरिक वर्ग वुद्धिजविसर्कल आदि सवैको आ–आफ्नो तर्फवाट गहन जिम्मेवारी वहन गर्नु पर्दछ । देशलाई दुर्घटनातिर हैन उन्नतीतिर लैजाने वातावरण तयार गर्नु पनि सवैको दायित्व हो । त्यसैले राजनीतिक नेताहरुलाई सचेत गराउँदै निर्मित संविधान कार्यान्वयन गरी नेपाली जनतालाई न्याय दिनु वाहेक अहिले अरु कुनै सोच पाल्नु गलत हुनेछ । दलिय स्वार्थ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि सोच्नु पर्दछ । देश र जनता रहे पो नेता रहन्छन् । त्यसैले आफ्नो अस्तित्व जोगाउन पनि संवेदनशील हुनु जरुरी छ । यदि नेपाली जनता निरश भए भने यो भन्दा दुःखको क्षण कुनै हुने छैन ।
तसर्थ अव राजनीतिक दलका नेताहरुको अगाडी नेपाली जनतालाई गणतन्त्रको सही मूल्याङ्कनसहित जनतालाई विकासको मार्ग प्रशस्त गर्नुवाहेक अरु कुनै विकल्प छैन । यस विषमा अत्यन्तै गम्भीर हुनु जरुरी छ । नेताको असफलता भनेकै नेपाली जनताको असफलता हो । जसका कारण देशले ठूलो दुर्गतिको सामना गर्नु पर्ने छ । अहिलेसम्मको उपलव्धि अर्थहीन हुनेछ । त्यसैले विरोधीहरुले टाउको उठाउने वातावरण तयार गर्नु हुदैन । जसका कारण देशको अस्तित्वप्रति नै संकट पर्नेछ । त्यसैले नेताहरुले वेलैमा सचेतका साथ काम गर्नुपर्दछ । यो कुरा हिमालले सोच्नु पर्छ, पहाडले बुभ्mनु पर्छ र मधेशले पनि मनन गर्नु जरुरी छ ।
प्रतिक्रिया