मुस्ताङ यात्रामा के–के गरे राजदूत रायले ?

मुस्ताङ यात्रामा के–के गरे राजदूत रायले ?


pic-1

नेपालका लागि भारतीय राजदूत रणजित रायले हालै मुस्ताङ जिल्लाको भ्रमण गरी जिल्लाका विभिन्न स्थानमा भारतीय सहयोगमा निर्माण भएका पाँच परियोजनाको उद्घाटन गर्नुभएको छ । मुस्ताङ भ्रमणका लागि यही असोज ७ गते राजदूत राय जोमसोम पुग्नुभएको थियो । सो अवसरमा भारतीय सहयोगमा टुकुचेमा निर्माण भएको योगेन्द्र उमाविका साथै कालीगण्डकी र कागखोलाको नदी नियन्त्रण कार्य एवम् कागबेनीस्थित झारकोट सामुदायिक भवनको पनि राजदूत रायले उद्घाटन गर्नुभएको थियो । राजदूत रायको मुस्ताङ यात्रामा सांसद महेन्द्र शेरचन पनि सहभागी हुनुहुन्थ्यो । मुक्तिनाथ पुग्नुअघि ऐतिहासिक मार्फा गाउँ तथा विगतमा नुनको व्यापारका लागि कहलिएको टुकुचेको समेत अवलोकन गर्नुभएका राजदूत राय ८ असोजका दिन पवित्र मुक्तिनाथ मन्दिर स्थल पुग्नुभएको थियो । त्यहाँ मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्षलगायतसँग छलफल गर्नुभएका रायले एक करोड तीन लाख भारतीय सहयोगमा निर्माण भएको पुरानोगाउँ खानेपानी आयोजनाको पनि उद्घाटन गर्नुभयो । उक्त खानेपानी आयोजनाले पुरानोगाउँ र रानीपौवा गाविसका बासिन्दालाई पिउनेपानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । सो अवसरमा मन्त्री रोमी गौचन थकालीसँग राजदूत रायले भेटवार्ता गर्नुभएको थियो । सोही दिन साँझ लोमान्थाङ पुग्नुभएका राजदूत रायले छोक्साङ र थोराङ गाविसका बासिन्दाको रहनसहन, त्यहाँको आर्थिक गतिविधि र संस्कृतिबारे जानकारी लिनुभयो भने भोलिपल्ट उहाँले लोमान्थाङमा चार करोड ४४ लाख २० हजार भारतीय सहयोगमा निर्माण भएको गुम्बाको उद्घाटन गर्नुभयो ।

यस्तै, मुस्ताङ भ्रमणका क्रममा उहाँले जोमसोङस्थित कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुल र छोनुप गाविसमा मित्ररष्ट्र भारतकै सहयोगमा निर्माण भइरहेको विद्यालयको पनि निरीक्षण गर्नुभयो । उक्त परियोजनाको यथाशक्य छिटो निर्माण गर्न चाल्नुपर्ने आवश्यक कदमबारे सरोकारवालाहरूसँग छलफल गर्नुभएका राजदूतले छोसार गाविसमा रहेको प्रसिद्ध तथा ऐतिहासिक सिजा र जोङ नामक गुफाको पनि अवलोकन गर्नुभयो । जोमसोङ फर्केर राजदूत रायले उच्च स्थानमा रहेको माउन्टेन वारफेयर विद्यालयको अवलोकन गर्नुभयो । उक्त विद्यालयमा हरेक वर्ष भारतीय सेनाका दुई अधिकारीले समेत प्रशिक्षण लिने गरेका जानकारी पाएर राजदूत आश्चर्यमा पर्नुभयो । सोही अवसरमा राजदूत रायले जनहित उमावि र मुस्ताङ जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरूसँग पनि छलफल गर्नुभयो ।

मुस्ताङ यात्राका क्रममा स्थानीय बासिन्दाबाट अत्यन्त न्यानो स्वागत पाउनुभएका राजदूत रायले पवित्र मुक्तिनाथको दर्शनका निम्ति आउने पर्यटकका लागि उक्त स्थानलाई एक सुरक्षित र महत्वपूर्ण तीर्थस्थलको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । स्मरणीय छ, मुस्ताङ जिल्लामा विशेषगरी शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न पाँचवटा परियोजनाका लागि मित्रराष्ट्र भारतले १२ करोड २८ लाख सहयोग उपलब्ध गराई परियोजना सम्पन्न भइसकेका छन् भने चारवटा एम्बुलेन्सलगायतका सहयोग पनि उपलब्ध भइसकेको छ ।
pic-3

यसैबीच विराटनगरमा चार सय सिट क्षमताको एक रङ्गमञ्च निर्माणका लागि भारतले सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र आरोहण–गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीबीच भएको त्रिपक्षीय सम्झौतामा नेपालको नाट्यकला क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएको आरोहणलाई छिमेकी भारतले तीन करोड ६१ लाख ८० हजार आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ । विराटनगरमा १७ करोड ६६ लाखका विभिन्न ६ वटा परियोजना सम्पन्न भइसकेका र भारतीय सहयोगमै नौ करोड २५ लाखका अन्य तीनवटा परियोजना पनि मोरङमा निर्माणाधीन रहेका छन् । यस्तै, सुनसरीस्थित पूर्वक्षेत्रीय प्रहरी बोर्डिङ माध्यमिक विद्यालयको छात्रावास भवन एवम् खेलमैदान निर्माणका लागि भारत सरकारले चार करोड २२ लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

यसैगरी, गान्धीजयन्तीको अवसरमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रणजित रायले इजिप्ट, मेक्सिकोलगायत मुलुकमा भारतको लागि राजदूतका रूपमा काम गरिसकेका पी. एलन नजरेथद्वारा लिखित ‘गान्धीको उत्कष्ट नेतृत्व’ नामक पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभयो । भारतको स्वतन्त्रता आन्दोलनमा गान्धीले गर्नुभएको कुशल नेतृत्वमाथि लेखिएको उक्त पुस्तक विभिन्न २३ भाषामा प्रकाशित छन् भने पुस्तकको नेपाली अनुवाद किशोर नेपाल र कर्णप्रखर धितालले गर्नुभएको हो ।