राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण : तिक्तता अन्त्य गर्ने अवसर

राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण : तिक्तता अन्त्य गर्ने अवसर


Laxmikanta Paudel

– लक्ष्मीकान्त पौडेल

भारतीय राष्ट्रपतिको यो भ्रमण हामी सबैको लागि यथार्थ धरातलमा उभिएर काम गर्ने अवसर हो । उनको नेपाली मन्दिरमा पुजा गर्ने कार्यले हामी परम्परागत रुपमा एकअर्काको हितको लागि एक छौँ र भावनात्मक एकता हुन सक्दछ भन्ने सन्देश दिन्छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यो भ्रमण विगतका तिक्तता अन्त्य गर्ने अवसर भएको र अब नयाँ सिराबाट नेपालको हित हुने गरेर विकास, विषेशतः जल विद्युत, उद्योग, पर्यटनको क्षेत्रमा र सहयोगको पनि राम्रो आधार तयार गर्ने वातावरण बनेको सम्झन सक्नु पर्दछ र हरेक निर्णय नेपालको हितमा गर्ने क्षमता हामीमा हुनै पर्दछ ।

समस्या र विवाद सकिनासाथ छिमेकी मित्रराष्ट्र भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण भएको छ । भारत र नेपालमा चीनको जस्तो प्रत्यक्ष कार्यकारी अधिकार राष्ट्रपतिलाई देखिँदैन, तर भारतमा राष्ट्रपतिको सम्मान उच्च छ र राष्ट्रपति धेरै हदसम्म निश्पक्ष भएको पनि देखिन्छ । त्यसो त नेपालमा पनि माओवादीको नेतृत्वले कम्युनिष्ट सर्वसत्तावादी सरकार ल्याउन सेना प्रमुख नै बदल्न लाग्दा त्यसलाई रोक्ने काम राष्ट्रपति रामवरण यादवले ठुलो सुझवुझका साथ गरेका थिए । त्यस कार्यमा उनलाई गिरिजाप्रसाद कोइराला र रुक्माङ्गद कटवालले ठुलो योगदानपूर्ण सहयोग गरेका थिए । सायद त्यतिवेला प्रचण्ड प्रधानमन्त्री हुँदा उनले चाहेअनुसार प्रधानसेनापति बदलिएको भए नेपाल अहिले उत्तर कोरियाको जस्तो गरिवविरोधी र नेतालाई देवत्वकरण गर्ने तानाशाहीको रिहलसलमा हुने थियो । उनीहरूको त्यो महान् योगदानको कारण स्वयम् प्रचण्ड लोकतन्त्र र बहुलवादको पक्षमा उभिने ब्यवहारिक नेताको रूपमा देखिन पुगेका छन् ।

नेपाल भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले औपचारिक रुपमा नेपालको संविधानलाई समर्थन गरिदिएका छन् । उनी भारतको आर्थिक उदारवादको लागि भुतपुर्व प्रधामन्त्री मनमोहन सिंहलाई सहयोग गर्ने हस्ती वा सहकर्मी पनि हुन् । लामो समयसम्म अर्थमन्त्रीको पदमा रहेकाले उनको आर्थिक पक्षमा पनि राम्रो दखल छ, यद्यपि उनको पुरानो छवि उदारवाद पक्षधर थिएन । नेपाललाई आर्थिक सहयोग गर्न र सहयोगको सम्बन्धमा उपयुक्त दिशाको लागि पनि उनको भूमिका महत्वपुर्ण रहन सक्दछ । नेपालको आर्थिक विकासमा भारतले लगानी प्रोत्साहित गर्नुपर्ने जति नगरेको हो कि भन्ने आशंकालाई पनि मुखर्जीले चिर्न सक्दछन् । एकातिर नेपालको उद्योग र ब्यापारमा भारतीय एकाधिकार अन्त्यको आवश्यकताको कुरा छ भने अर्कोतर्फ भारतको सहयोगको अपेक्षा पनि छ । सायद हामी यो पक्षमा विरोधाभाषपूर्ण अवस्थामा छौँ । भारतसँग समानता र स्वाभिमानमा आधारित भएर अधिक ब्यापार हुनु सबैभन्दा राम्रो हो ।

अर्कोतर्फ भारतले नेपाली मुलका भारतीयहरू मेघालय असम आदि देशबाट लखेटिँदा बेवास्ता गर्दछ । भारतीयको सानो स्वार्थको लागि पनि नेपालमा भारतले दबाब दिने गर्दछ भन्ने पनि बारम्बार सुनिन्छ । यो नकारात्मक पक्ष हो । हामी नेपाली पनि भारतको बारेमा झिनामसिना विषयमै विवाद गरिदिन्छौँ । कुटनैतिक मर्यादा हामीहरूको भारतसँग भन्दा चीनसँग सिस्ट छ । चीनका बारेमा नकारात्मक बोल्न अप्ठेरो मान्नेहरू भारतबारे चाहिँ जनस्तरमै जथाभावी कुरा गर्ने र विरोध गर्ने गरेका देखिन्छन् । त्यसो त भारतले नेपालको अस्थिरतालाई मतलव नराखेर माओवादी लडाकुलाई तालिम समेत दियो भन्ने प्रसङ्ग पनि आए । भारतले नेपालमा अघोषित हिसाबले नाकाबन्दी पनि लगायो । तर, यो नाकाबन्दी भने विवादास्पद रहेको हो । हामीले भारतीय नाकाबन्दी भयो भन्यौँ तर भारतीयहरूले यो नेपालका मधेशवादीहरूले गरेको काम हो भन्यो । यहाँनेर हामीले भारतको बाध्यता वुझ्न सकेनौँ र भारतलाई बढी दोष पनि दियौँ । मधेशको ठुलो हिस्सा आन्दोलन गर्ने र भारतीय सामान नेपाल आउन नदिने कार्यमा लागेको समयमा भारतले ती मधेशका नेपालीको विपक्षमा काम गर्दा मधेश भारतविरोधी बन्नु स्वभाविक हुन्थ्यो । भारतले मधेशका जनतालाई चिढाउनु उसको लागि काउन्टर प्रोडक्टीभ हुने थियो । के यो पक्षलाई नेपालको राज्य पक्षले बुझ्न चाह्यो ? हामीले ध्यान दियौँ ?

त्यसो त भारतको आन्तरिक स्वार्थ पनि थियो होला र त्यो स्वार्थ नेपालभित्रको आन्दोलनले अगाडि बढाउन सहयोग पुग्ने आशा भारतको राज्य पक्षको थियो होला । भनिन्छ कि भारत सरकारको चाहना नेपला हिन्दुराष्ट्र कायम होस् भन्ने थियो । अन्त्यसम्म भारतीय विदेशमन्त्री समेत आएर त्यो प्रयास गरे । त्यसमा धेरै नेपालीको पनि चाहना थियो र जनमत संग्रह गरेको भए पर्दाभित्रको भारतीय चाहना र धेरै नेपालीको चाहना एकै ठाउँमा हुने थियो । तर नाकाबन्दीको प्रचारले भारतको पक्षमा रहन सक्ने नेपालीहरू भारतले आफ्नै स्वार्थ पूरा हुने कार्यको सहयोग गरेकोमा पनि भारतप्रति दुःखी भए भन्ने गरिन्छ । यो भारतको लागि कुटनैतिक असफलता होला तर यस्तो कार्य वास्तवमा नेपालका धेरै जनताको लक्ष्यमा आधारित थियो केवल त्यो लक्ष्यको रणनीति घातक वनेकोले भारतीयहरू दोषी देखिए । यस सम्बन्धमा भारतलाई जति दोष दिइन्छ त्यति दोष दिन आवश्यक थिएन कि भन्ने विश्लेषण पनि छ । मुलतः मधेशको आन्दोलन र हिन्दुत्वको कारणले, किनभने स्वार्थ त सबैको हुन्छ, केवल स्वार्थलाई घाटा कम हुने तथा ब्यवहारिक र विवादरहित बनाउने भन्ने मात्र हो ।

हामी नेपलीले अर्कोतर्फ जोशमा होस गुमाउने र होशमा आएपछि पहिलाको गल्तीलाई सच्याउन पहिले जोशमा गरेका गल्तीको पनि हिसाब तिर्ने गरेका छौँ कि भन्ने पनि देखिन्छ । हामीले अत्यन्त सामान्य लाग्ने तर भित्र ठुलो अर्थ राख्ने विदा भारतीय राष्ट्रपति आउँदा नै दिन थाल्यौँ । भारतीय राष्ट्रपतिलाई लिन आफ्नो राष्ट्रपति नै विमानस्थल पठायौँ । यो चाहिनेभन्दा बढि भयो कि ? यो परम्परालाई कायम गर्दा पछि अप्ठेरो हुने र परम्परा काम नगर्दा भारत नेपालीको लागि ठुलो दाइ नै हुने अवस्था देखिने त हैन ? यी सवाल कैयन वुद्धिजिवी नेपालीहरूको ओठमा देखिन्छ ।

भारतीयहरूको लगानीको चाहना जलविद्युत र पानीमा वढि होला तर हामीलाई त्यो पक्ष सबैभन्दा शङ्का लाग्ने भएको छ । त्यो पक्ष सल्टाउन भारतले पाकिस्तान, बंलादेश, भुटान जस्ता देशमा गरेको परम्परा, अन्य राष्ट्रका परम्परा तथा अन्तराष्ट्रिय सन्धी सम्झौता र देशहरूबीचका ब्यवहारलाई आधार मानेर काम गर्न सकिन्छ । बरु हामी भारतबाट बिजुली आयात गर्न सक्दछौँ तर भारतीय कम्पनीहरूलाई नेपालमा जलविद्युत उत्पादन गर्नको लागि सुरक्षाको प्रत्याभुति दिन सकिरहेका छौंनौ भन्ने देखिएको छ । विभिन्न ठाउंमा निर्माण कार्यमा अवरोध आएको पनि छ । निर्माण गर्न रोक्ने र सम्झौता गर्दा नेपालको अधिकतम हितको ध्यान नदिने कार्य विरोधाभाषपूर्ण छ । कि यसमा नेपाली नेताहरू गलत चलखेल गर्दछन् या सचेत छैनन् वा भारतसँग हेपिन्छन् भन्ने अर्थ लाग्दछ । यसमा सचेत हुन आवश्यक छ ।

भारतसँग समानता र स्वाभिमानका साथ उद्योग समेतमा सहयोग लिन सक्नु पर्दछ । भरत नै नेपालको विकासमा सवैभन्दा स्वभाविक र सजिलो साझेदार हुन सक्दछ । उसको उत्पादन हामीलाई सबैभन्दा पायक पर्दछ र हाम्रो उत्पादनको सबैभन्दा सजिलो बजार पनि भारत नै हो । यो धरातलीय यथार्थलाई दुवै पक्षले बुझ्न र ब्यवहारमा उतार्न आवश्यक छ ।

भारतीय राष्ट्रपतिको यो भ्रमण हामी सबैको लागि यथार्थ धरातलमा उभिएर काम गर्ने अवसर हो । उनको नेपाली मन्दिरमा पुजा गर्ने कार्यले हामी परम्परागत रुपमा एकअर्काको हितको लागि एक छौँ र भावनात्मक एकता हुन सक्दछ भन्ने सन्देश दिन्छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यो भ्रमण विगतका तिक्तता अन्त्य गर्ने अवसर भएको र अब नयाँ सिराबाट नेपालको हित हुने गरेर विकास, विषेशतः जल विद्युत, उद्योग, पर्यटनको क्षेत्रमा र सहयोगको पनि राम्रो आधार तयार गर्ने वातावरण बनेको सम्झन सक्नु पर्दछ र हरेक निर्णय नेपालको हितमा गर्ने क्षमता हामीमा हुनै पर्दछ ।