एक लाख जनालाई रगतदान सचेतना गराउने

एक लाख जनालाई रगतदान सचेतना गराउने


milanनेपालमा रगतदान शुरू गरिएको ७३ वर्ष पुरानो इतिहास छ । अझ रगत भण्डार तथा वितरण सुविधा भएको ५० वर्ष भइसकेको छ । यस अवधिमा करिब ३३ लाख जनाले आवश्यक बिरामीहरूको लागि रगतदान गरिसकेका छन् । यति हुँदाहुँदै पनि बेलाबेलामा रगत अभावले बिरामीहरूको उपचार हुन नसकेको समाचारले हामी रगत दान गर्नेहरूलाइ चिन्तित बनाएको छ ।

रगतको अभावले कुनै पनि बिरामीले जीवन गुमाउनु हुँदैन । यसका लागि रगत संकलन, भण्डार तथा वितरण गर्न कुशल व्यवस्थापनको आवश्यक पर्छ । यसको साथसाथै आमनागरिकमा रगतदानबारे जानकारी गराउनु पर्ने पनि उत्तिकै खाँचो छ ।

मेरो विचारमा काठमाडौं उपत्यकाका हाइस्कूलका एक लाख भाइबहिनीहरूलाई रगतदानबारे जानकारी गराउन सकिएमा आगामी २ वर्षभित्रमा रगतको अभाव टर्नेछ । यसको साथै ती भाइबहिनीहरू भविष्यका लायनवादका शक्ति पनि हुन सक्नेछन् । उपरोक्त लक्ष पुरा गर्न मेरो निम्न प्रस्ताव छः

कार्यक्रम: रक्तदान उत्प्रेरणा कार्यक्रम
लक्षित समूह : काठमाडौं उपत्यकाका हाइस्कूलका एक लाख विद्यार्थीहरू
कार्यक्रम अवधि : २ महिना
कार्यक्रम खर्च : ५ लाख रूपैयाँ

रक्तदान उत्प्रेरणा कार्यक्रम कार्यान्वयन :

(१) करिब १ लाख २५ हजार प्रति रगतदानबारे जानकारीमुलक थ्री-फ़ोल्डिङ्ग पर्चा छापी काठमाडौं उपत्यकाका सम्पूर्ण माध्यमिक विद्यालयका विद्यार्थिहरूमा वितरण गरि पढ्न लगाउने ।
(२) विद्यार्थीहरूमा ‘रगतदान जीवनदान’बारे निबन्ध प्रतियोगिता गराउने । निबन्ध ७ सयदेखि १ हजार शब्दको हुनु पर्ने छ ।
(३) प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगदका साथै प्रशंसा-पत्र प्रदान गर्ने ।

रक्तदान उत्प्रेरणा कार्यक्रम व्यवस्थापन :

(१) करिब १ लाख २५ हजार प्रति रगतदाबारे जानकारी मुलक पर्चा दुई जनाले काठमाडौं उपत्यकाका सम्पूर्ण हाइस्कूलका विद्यार्थिहरूमा वितरण गर्नेछन् । मोटरसाइकल भएकालाई चालिस-चालिस हजार पकेट खर्च दिई उक्त पर्चा वितरण गराउने । ती व्यक्तिले पर्चा बुझाएको ठाउँको स्कुल विद्यार्थी संख्या र सम्पर्क व्यक्तिको टेलिफोन वा इमेल नोट गर्नेछन् । पर्चा वितरण गरेको २ हप्तापछि तिनीहरूले नै निबन्ध पनि संकलन गर्नेछन् ।
(२) पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागका एक-एक जना र लायन्स क्लबबाट एक जनासहित ३ जनाको निबन्ध छनौट समिति बनार्इ काम गराउने । उक्त समितिलाई पनि प्रति व्यक्ति चालिस-चालिस हजार पकेट खर्च प्रदान गरिने छ । समितिले निबन्ध पाएको १ महिनामा प्रतिवेदन पेश गर्नेछ ।
(३) प्रतिवेदन प्राप्त गरेको १ महिनाभित्र एउटा भव्य कार्यक्रमबीच अति विशिष्ट व्यक्तिद्वारा पुरस्कार तथा प्रमाण-पत्र वितरण गराउने ।

रक्तदान उत्प्रेरणा कार्यक्रम व्यवस्थापन खर्च :

(१) पर्चा छपाइ खर्च ७५ हजार रूपैयाँ
(२) पर्चा वितरक तथा निबन्ध संकलक खर्च ८० हजार रूपैयाँ
(३) निबन्ध जाँचकी खर्च १ लाख २० हजार रूपैयाँ
(४) पुरस्कार खर्च १ लाख रूपैयाँ
(५) पुरस्कार वितरण कार्यक्रम खर्च १ लाख (हल भाडा, दिवा भोजन आदि ) रूपैयाँ
(६) विविध खर्च २५ हजार रूपैयाँ