रुद्राक्षको व्यापार धरापमा ?

रुद्राक्षको व्यापार धरापमा ?


रुद्राक्षको मूल्यमा भारी मात्रामा गिरावट आएपछि रुद्राक्ष खेतीमा संलग्न कृषकमा निराशा छाएको छ । खासगरी पूर्वी पहाडी जिल्ला भोजपुर र संखुवासभाको मुख्य आम्दानीको स्रोत रहेको रुद्राक्षको मूल्यमा पछिल्लो समय ७५ प्रतिशतसम्मले ह्रास आएपछि स्थानीय क्षेत्रमा दाना भनेर चिनिने रुद्राक्षका कृषक एवम् व्यापारीमा चिन्ता बढेको हो ।

धार्मिक या फेसनको कोणबाट मात्र नभई स्वास्थ्यको दृष्टिले पनि रुद्राक्ष धारण गर्ने अवधारणाको विकास भइरहेको बेला पहिले एक हजार पाँच सय रुपैयाँ किलोमा किनबेच हुने रुद्राक्ष अहिले पाँच सय रुपैयाँमा पनि किनबेच हुन मुस्किल रहेको सम्बद्ध व्यापारी बताउँछन् । मुख, आकार, प्रकार, बनावट र गुणस्तरका आधारमा किनबेच हुने रुद्राक्षको मूल्य पाँच वर्षयता उच्च भएको थियो । पछिल्लो समय अकल्पनीय ढङ्गबाट मूल्यमा गिरावट आउँदा व्यापार चौपट बनेको छ । कसरी मूल्य समायोजन गरेर व्यापार टिकाउने भन्ने चिन्ता बढ्नुका साथै गिर्दो मूल्यकै कारण व्यवसायी पलायन हुने अवस्था आएको उनीहरू बताउँछन् ।

रुद्राक्ष व्यापारीका अनुसार कुनै बेला ११ मुखे रुद्राक्ष ६ हजार रुपैयाँसम्ममा किनबेच हुने गरेकोमा अहिले दुई हजार रुपैयाँमा पनि बिक्न छोडेको छ । मूल्यमा गिरावट आएपछि व्यापारीले बिक्रीका लागि खरिद गरेका रुद्राक्ष गोदाममा थन्किएका छन् । मूल्य उच्च भएको अवस्थामा किनेर राखेको रुद्राक्ष अहिले किनेको मूल्यमा पनि बिक्री हुन नसक्दा व्यापारीमा निराशा त बढ्ने नै भयो । बताइएअनुसार व्यापारीले किसानसँग तीन हजार रुपैयाँमा खरिद गरेको रुद्राक्षको मूल्य अहिले एक हजार रुपैयाँमा झरेको छ ।

त्यसमाथि रुद्राक्ष निकासीमा वन कार्यालय, नगरपालिका र जिविसले कर लिने गरेका छन् । भोजपुरबाट काठमाडौंसम्म पु¥याउँदा विभिन्न जिल्लामा वन, नगरपालिका र जिविसको ढाटैपिच्छे करको झमेला रहेको र पटके कर तिर्नुपर्दा आफूहरू थप मारमा परेको सम्बद्ध व्यापारीको गुनासो छ ।
उत्पादनको हिसाबले मूलतः भोजपुर र संखुवासभामा रुद्राक्षको उच्च कारोबार हुन्छ । भोजपुरको दिङ्ला रुद्राक्षको राजधानीका रूपमा पनि चिनिन्छ । दिङ्ला आसपासका तुँगेछा, केउरेनीपानी, मूलपानी, नेपालडाँडा, कुलुङ तथा संखुवासभाका खाँदबारी, वाना, स्याबुन, धुपु, चैनपुरलगायत स्थानमा रुद्राक्ष बढी पाइन्छ । पाँच वर्षअघिसम्म भारततर्फ निकासी हुने गरेको रुद्राक्ष माग उच्च भएपछि चीनतर्फ निकासी हुन थालेसँगै मूल्य पनि बढेको थियो । तर, पछिल्लो समय चीनतर्फ यसको माग अप्रत्यासित रूपले घटेसँगै मूल्य पनि ओरालो लागेको व्यापारीहरूको बुझाइ छ । चीनमा एक्कासि रुद्राक्षको मागमा किन गिरावट आयो भन्नेचाहिँ आफूहरूले बुझ्न नसकेको व्यवसायीको भनाइ छ ।