
– कृष्णप्रसाद पौडेल
पर्याप्त जग्गा–जमिन, धन–सम्पत्ति, घर, शिक्षित र माया गर्ने सन्तान हुँदाहुँदै पनि अहिले ठूलो सङ्ख्यामा रहेका ज्येष्ठ नागरिक कष्टकर जीवन व्यतीत गर्न बाध्य छन् । यो समस्या अहिले देशैभर विकराल बन्दै गइरहेको छ र अझ भयावह हुने अवस्था टड्कारो रूपमा तपाईं–हामीसामु छ ।
अरूको भन्दा कमजोर पो होला कि भनेर समयसापेक्ष शिक्षाको अवसर अहिले प्रत्येक अभिभावकले आफ्नो सन्तानलाई दिइरहेका छन् । आफ्नो बुढेसकालको सहारा बन्ला भनेर होइन, आफ्नो सन्तान अरूको भन्दा कमजोर पो होला कि, सन्तानले पछि गएर दुःख पो पाउला कि भनेर नै यो सब भइरहेको हो र सन्तान जन्माएपछि जिम्मेवार अभिभावकका लागि यो कर्तव्य पनि हो ।
तर हाम्रो देशको सबै स्थानमा शिक्षित व्यक्तिका लागि रोजगारीको सहज अवसर छैन । रोजगारीकै लागि देशको एक कुनाको व्यक्ति सहर–बजार, अर्को जिल्ला वा क्षेत्रमा जानुपर्ने अवस्था विद्यमान छ । अझ अहिले त शिक्षित युवाशक्ति रोजगारकै सिलसिलामा विकसित मुलुक जाने लहर नै चलेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानजस्ता देश शिक्षित युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
शिक्षित व्यक्ति रोजगारीका लागि आफ्नो घरबाट टाढा देशको अर्को जिल्ला पुगेपछि वर्षको एक–दुईपटक हो घर पुग्ने भनेको । अझ विदेश नै गएको हो भने त तीन–चार वर्षको अवधिमा मात्र हो घर आउने । सञ्चारको सुविधाले गर्दा प्रत्येक दिन के–कसो छ भनेर हालखबर बुझ्न र गफ गर्न त सकिन्छ, अझ अहिलेको समयमा मोबाइल वा कम्प्युटरमा अनुहार हेरी–हेरी गफ गर्न पनि सकिन्छ । आर्थिक अभाव छोराछोरीले तत्काल समाधान पनि गरिदिन्छन् । तर, सन्तानसँगको दैहिक सामीप्यता दूर हुँदै गइरहेको छ ।
कतिपय सन्तानले आफ्ना वृद्ध बाबुआमालाई आफूसँगै लगेर राखेका पनि छन् । तर, सबैजसो अभिभावकका लागि यो अवसर कतिपय कारणले सहज पनि हुँदैन र एक ठाउँमा रोजगार गरिरहेका छोराछोरी वृद्ध बाबुआमाको रेखदेख र स्याहार–सुसारका लागि रोजगारी नै छाडेर घर फर्किन पनि व्यावहारिक ठहर्दैन ।
अहिले सम्पन्न भनिएका परिवार र सुविधासम्पन्न सहर–बजारमै यो समस्याको रूपमा देखा परिरहेको छ । आफू सक्षम रहुन्जेल अथवा शरीरमा जोस र पाखुरीमा बल हुन्जेलका लागि त कुनै पनि व्यक्तिलाई अरूको सहयोगको आवश्यकता रहँदैन, आफैँले सबै समस्या पार लगाउन सक्छ । तर, जब उमेरले पनि नेटो काट्छ, पाखुरीको बल पनि एकादेशको कथा बन्छ र घरको आँगन पनि परदेश बन्छ त्यो समय जति नै सम्पत्ति भए पनि वृद्धवृद्धाका लागि असह्य हुन पुग्छ । बिरामी पर्दा अस्पतालसम्म पु¥याउने र एक गिलास पानी दे भन्ने आफ्नो मान्छे साथमा नहुँदा त्यस्ता वृद्धवृद्धाहरूको मन कति रुँदो हो । शरीर न हो, एक दिन त मृत्यु अवश्यम्भावी छ, दाम्पत्यजीवनमा एउटाको विछोडपछि अर्को एकल हुने त निश्चित छ । जब व्यक्ति एक्लो हुन्छ त्यसपछिको जीवनको दुःख त के वर्णन गर्न सकिएला र !

यस्तो अवस्थामा वृद्धाश्रमजत्तिको भरपर्दो र उपयुक्त स्थान अरू बन्न सक्दैन । तर, हामी वृद्धाश्रम भन्नेबित्तिकै खानलाउन नपुग्ने, रोगले थलिएका, छोराछोरीबाट परित्यक्त, सडकमा बेवारिसे भेटिएका, कसैले चाडबाड, पुन्यतिथि वा जन्मदिनको अवसरमा भोजन गराउने, फलफूल र लत्ताकपडा वितरण गर्ने र त्यस दिनको पर्खाइमा कुनै सुविधा नभएका स्थानमा बसोबास गर्ने वृद्धवृद्धाहरू रहने ठाउँलाई सम्झन पुग्छौँ । तर, अब यस सोचाइलाई परिमार्जित गर्दै सुविधासम्पन्न, दैनिक डाक्टर–नर्सहरूको सेवा लिन सक्ने स्थान र सुविधा भएको, समय–समयमा आरामदायी तरिकाले तीर्थाटन गराउन सक्ने, पर्याप्त आँगन भएको, समय–समयमा उमेरजन्य मनोरञ्जन प्रदान गर्ने, उमेरजन्य हिसाबका सुविधासम्पन्न भौतिक सामग्रीले सम्पन्न सामूहिक घर भन्ने अवस्थाको विकास गराउन आवश्यक छ । त्यस्ता घरमा सफासुग्घर गर्ने पर्याप्त कर्मचारी, आफ्ना आवश्यक सामानहरू राख्ने उपयुक्त स्थानको व्यवस्था पनि हुन आवश्यक छ जहाँ बसेर उनीहरूले एक्लो महसुस कहिल्यै गर्नु नपरोस् । आफ्ना अनुभवहरू एक–अर्कासँग साटासाट गर्न पाऊन् । त्यस्ता वृद्धाश्रममा कहिलेकाहीँ आफ्ना छोराछोरी आउँदा पनि बाबुआमाले गुनासो गर्ने कुनै ठाउँ नहोस् र छोराछोरीमा पनि आफ्ना आमाबाबुलाई वृद्धाश्रममा राखेकोमा कुनै हीनताबोध नहोस््, अझ निर्धक्क भन्न सकून्– मेरा अभिभावक फलाना वृद्धाश्रममा हुनुहुन्छ । त्यसका लागि उनीहरू त्यस वृद्धाश्रमले उपलब्ध गराउने सेवा–सुविधाबापतको शुल्क तिर्न तयार छन् ।
यस्ता वृद्धाश्रम निर्माणमा आमाबाबुबाट बाध्यताले अलग रहनुपरेका, शिक्षित र उच्च ओहोदाका व्यक्तिहरूबाटै पहलकदमी लिँदा अझ प्रभावकारी हुन्छ । उनीहरू पनि एक दिन त त्यही हालतमा पुग्छन् नै । जति नै सम्पत्ति भए पनि त्यो वातावरण त घरमा प्राप्त गर्न सकिन्न र उनीहरूका सन्तान पनि सधैँ उनीहरूसँग बस्न पाउँदैनन् । यो समयको परिवर्तनसँगै आजको आवश्यकता पनि हो । यसको निर्माणतिर आजका युवापुस्ताको सोचाइ पनि पुग्नु आवश्यक छ । आजका वृद्धवृद्धाको अवस्थामा भोलि आजको युवापुस्ता अवश्य पुग्नेछ । त्यतिखेर हो यसको आवश्यकता बोध हुने ।
यो व्याख्या आमा–बाबुलाई बोझको रूपमा लिएर गरिएको होइन । आफ्नो बुबाआमाको उहाँहरूसँगै बसेर अन्तिम अवस्थासम्म आफ्नै घरमा सेवा गर्न अवसर पाउने सन्तान त भाग्यमानी हो । आमाबुबाभन्दा ठूलो अर्को कुनै भगवान् हुन सक्दैन । त्यस्ता सन्तानले धर्मकर्मका लागि तीर्थाटन गर्न चारधाम भौँतारिन आवश्यक छैन । त्यस्तो अवसर कहाँ सबैले पाउँछन् र ? घरमै हुने सन्तानले यसको विकल्प सोच्न पनि सक्दैन र सोच्न हुँदैन । तर, जसका सन्तान घरमा अभिभावकसँगै रहने अवस्था छैन यसका लागि सुविधासम्पन्न वृद्धाश्रमभन्दा राम्रो विकल्प अरू केही हुन सक्छ जस्तो लाग्दैन । यो लेख पढ्दै गर्दा कतिपयले पङ्क्तिकारलाई गाली गर्नुहोला, कतिले धिक्कार्नुहोला, तर के यसको विकल्प उहाँहरूसँग छ त ?
देशमा शैक्षिक संस्थाहरू निजी छन्, अस्पतालहरू निजी छन्, बैंकहरू निजी छन् । अनेक व्यवसाय पनि निजी तवरले सञ्चालनमा छन् । तिनीहरूले ग्राहकलाई पु¥याउने सेवाअनुसारकै शुल्क पनि लिइरहेकै छन् र ग्राहक पनि राजीखुसी त्यो शुल्क तिर्न मञ्जुर छन् । त्यसैले सरकारी तवरबाट यो काम सम्भव हुन्न भने निजीस्तरबाटै गर्दा पनि कुनै अप्ठ्यारो पर्छ जस्तो लाग्दैन र यस्ता वृद्धाश्रम धार्मिक स्थलको नजिकै मात्र हुनुपर्छ भन्ने पनि छैन ।
हाम्रा वृद्ध अभिभावकलाई समयसापेक्ष उचित किसिमले हेरचाह गर्न सकिएन, सम्मान दिन सकिएन भने छोराछोरीका लागि बाबुआमाले गरेको स्वार्थविहीन लगानीको क्षतिपूर्ति त हुन सक्दैन नै, सन्तानले पनि जीवनभर आफूप्रति हीनताबोध गर्नुपर्ने अवस्था आइलाग्छ ।
उनीहरूलाई एक्लो महसुस हुने र निरस जीवनको अन्त्य गर्न सकियो भने उनीहरूको आशीर्वाद सधैँ सन्तानकै साथमा रहनेछ । यसका लागि सुविधासम्पन्न वृद्धाश्रम नै एक मात्र उपयुक्त माध्यम बन्न सक्छ । नत्र वर्षको एक–दुईपटक त्यही पनि चाडबाडको बेला जम्मा हुने, अझ कतिपय अवस्थामा त तीन–चार वर्षमा भेट हुने, तर फोन र स्काइपमा भने दिनैपिच्छे भेट भएर स्वाङ रच्ने अनि आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिन ह्याप्पी मदर्स डे र ह्याप्पी फादर्स डे लेखेर आमा–बुबासँग खिचिएका तस्बिरहरू फेसबुकमा पोस्ट गर्नेहरूप्रति के नै पो भन्न सकिन्छ र !
[email protected]
प्रतिक्रिया