नमिलोस् भाषा–माफियालाई उन्मुक्ति

नमिलोस् भाषा–माफियालाई उन्मुक्ति


rameshwor-matridas


– रामेश्वर राउत ‘मातृदास’

बुद्धुत्व र वीरताले महिमामण्डित राष्ट्रका नागरिक हौँ हामी नेपाली । विश्वका एघारवटा प्राचीनतम् देशमध्येको प्राचीन संस्कृति र सभ्यता भएको हाम्रो देश । अनेकौँ जटिलतम् र कठिन घडीमा समेत हाम्रा परम् आदरणीय पूर्वजहरूले आफ्नो भाषा, साहित्य, कला, संस्कृति र सभ्यतालाई आउने पिँढीको विरासतको वैभव र नासोका रूपमा सुरक्षित छाडिदिएका छन् ।

उप्रान्त, यो शान, मान र गौरवमाथि साङ्घातिक र विषाक्त आक्रमण भएको छ । दशौँ हजार वर्णमाला र चित्रात्मक सङ्केतबाट बुझ्नुपर्ने लिपिलाई सहजै बुझ्न र अध्ययन गर्न सक्ने नेपालीको जिब्राले आफ्नै भाषाको वर्णहरू उच्चारण गर्न सक्तैनन् भन्ने उडन्ते र आधारहीन कुतर्कको भ्रम फैलाइराखेका छन् भाषा–माफियाहरू । नेपाली भाषामा रहेका ५२ वटा वर्णमालालाई छिन्नभिन्न बनाउने र देवनागरी लिपिलाई समाप्त पारेर ‘नरहे बाँस, नबजे बाँसुरी’ बनाउने भाषा–माफियाको बेइमानीलाई सम्पूर्ण सचेत जनमनले राम्रोसँग बोध गरिसकेका छन् । के आफ्नै वाणी बागेश्वरीका गोडा काट्ने र बीभत्स हत्या गर्ने अपराधीहरूको दुष्ट्याइँ क्षम्य र स्वीकार्य हुन सक्छ र ?

‘सरलता र प्रविधिमैत्री’ भाषा–माफियाले अर्को जालसाजीपूर्ण किर्ते तर्कको जालो फैलाएको देखिन्छ । के भाषामा भएका वर्णविन्यास र लिपिलाई नै समाप्त पारेपछि भाषा सरल र प्रविधिमैत्री हुन्छ ? संसारको कुन राष्ट्रले यस्तो प्रविधि स्वीकार गरेको छ, जुन प्रविधिको सरलताले गर्दा आफ्नो राष्ट्रको भाषा नै समाप्त भएको होस् ! भाषा–माफियासँग यी प्रश्नको न्यायिक र विज्ञानसम्मत जवाफ छ ?

जनताले आफ्नो रगत–पसिना बगाएर तिरेको राजस्वबाट लाखौँ–लाख तलब–भत्ता हसुरेर राष्ट्रको सार्वभौम अस्तित्वसँग गाँसिएको भाषाको हत्यामा संलग्न भएका हत्यारा जघन्य अपराधीहरूलाई कानुनी कारबाही हुन्छ कि हुँदैन ? आज आम भाषा–प्रयोक्ता जनजनका मनमा यही जिज्ञासात्मक प्रश्न दर्बिलोसँग उभिएको छ । जीवन्त भाषामा यस्ता सामान्य उतार–चढाव भइरन्छन् भनेर मुलुकको सार्वभौम अस्तित्वसँग गाँसिएको भाषा–हत्यामा संलग्न अपराधीलाई उन्मुक्ति भयो भने न्यायमाथि अन्याय हुन्छ । संसारको कुनै पनि सार्वभौमसत्तासम्पन्न राष्ट्रले न्यायमाथि अन्याय गर्दैनन् ।

नेपाली भाषामाथि भएको सुनियोजित अन्यायले मूलतः हामी आमनेपाली भाषा–प्रयोक्ताको नैसर्गिक अधिकार हनन भएको छ । नेपाली भाषाको वर्णविन्यास र लिपिलाई नै समाप्त पार्ने गोप्य षड्यन्त्र गरेर राष्ट्र र जनतामाथि धावा बोल्ने दुष्टहरू जुनसुकै तह र ओहोदामा रहेका किन नहुन् समयको न्यायालयले दण्डित नगरी छाड्नेछैन ।
भाषा–माफियाहरूको जालसाजीपूर्ण किर्ते कार्यले भावी भविष्यका कर्णधार अबोध बालबालिकाको शुद्ध लेख्न, पढ्न र सिक्न पाउने नैसर्गिक अधिकारलाई हनन गरेको छ । यसले मानवअधिकार र प्राकृतिक न्यायलाई समेत चुनौती दिएको छ । के भाषा–माफियाको आर्थिक लाभका लागि राष्ट्रलाई अचानो बनाएर अबोध र निर्दोष विद्यार्थी एवम् शिक्षार्थीलाई बारम्बार अवैध दण्डित गर्न पाइन्छ ?

हो, इतिहासमा भाषा विकासका लागि समय–समयमा विसद् विचार–विमर्श भएका छन् । नेपाली भाषाको ऐतिहासिक चरण र कालखण्डमा पनि नभएका होइनन् । शुद्ध मन र पवित्र भावनाबाट भएका भाषा विकासका प्रयासलाई आत्मसात् गर्नेहरूको कमी हुँदैन । दुर्भाग्य, वर्णविन्यास र लिपिमाथि जुन किसिमले हमला गरिएको छ यो नेपाली भाषाको हत्या गर्ने सुनियोजित योजनाभित्रै भएको देखिन्छ ।

वर्णहरू नै भाषाको प्राण हो । लिपि, भाषाको मुटु र मेरूदण्ड । यसैमाथि भाषा माफियाले साङ्घातिक प्रहार गरेका छन् । संस्कृत भाषाबाट आएका संयुक्त वर्णहरूलाई नेपाली भाषाबाट अलग गर्ने र आगन्तुक शब्दहरूलाई विकृत गर्नु भनेको भाषाको सर्वनाश गर्ने योजना प्रस्ट देखिन्छ । योभन्दा पहिला भएका भाषाको आन्दोलनमा यसरी योजना र षड्यन्त्रबद्ध किसिमले भाषामाथि आक्रमण भएको थिएन । प्रयोक्तालाई आफ्नो मार्गमा अवरोध गरिएको पाइँदैन । लेख्य भाषा हाम्रो पैतृक र पुरातात्विक सम्पत्ति हो । भविष्यका कर्णधारको भाग्य र भविष्यलाई अन्धकार गर्तमा धकेल्ने र हाम्रा परम् आदरणीय पूर्वजहरूलाई अपमानित गर्ने कुकर्म गर्ने भाषा–माफियाहरू जानी दुश्मनहरू हुन् । हाम्रो सार्वभौम अस्तित्वमाथि आइलाग्ने दुश्मनहरूमाथि जाइलाग्नु आत्मरक्षायुक्त अधिकार हुन्छ । ‘वसुदैव कुटुम्बकम्’ हाम्रो आदर्श हो । विश्वमा रहे–भएका सम्पूर्ण जातजाति, भेष, कला, संस्कृति र भाषाहरूप्रति हामी नेपाली पूर्ण सम्मान गर्दछौँ । तर, यो उदारतालाई कमजोरी ठानेर हाम्रो प्राणप्रिय भाषाको वर्णविन्यास र लिपिमाथि कुठाराघात गर्नेहरूका विरोध र विरुद्धमा चट्टानी पहाड भएर उभिनु हाम्रो धर्म हो । भाषाको रक्षाका लागि आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्ने आँट, उत्साह, जोस र जाँगरले अग्लिरहेका छन् नेपाली मनहरू ।

हाम्रो भावनामाथि चोट पु¥याउने र भाषाको हत्या गर्न खोज्ने जोसुकै किन नहोस्, त्यसको जगधुरी उतार्ने कला नेपालीलाई राम्रोसँग थाहा छ । मौकामा चौका बजारेर नेपाली भाषामाथि विषाक्त दाह्रा–नङ्ग्रा उजाउने भाषा–माफियाको दोहोलो कटाउन नेपाली जनमन आज अरिङ्गालझैँ जागिसकेका छन् र भाषाका हत्याराहरू ज्युँदा लास हुन् । भाषा मास्न चाहने नेपाली अनुहारकै भए पनि ती नेपाली मुटुका किला र आँखाका कसिङ्गरहरू नै हुन् । हामी नेपालीले आजसम्म कोही कसैको भाषा, साहित्य, कला र संस्कृतिमाथि विद्वेष फैलाएका छैनौँ । दुर्भाग्य, हाम्रो आफ्नै थलोकिलोबाटै केही नेपाली अनुहारका तर नेपाल र नेपालीकै सार्वभौम अस्तित्वमाथि निर्ममतापूर्वक जाइलाग्ने कृतघ्न कुलङ्गारहरूलाई प्रयोग गरेर नेपाली भाषाको बध गर्ने खतरनाक दुष्प्रयासप्रति सम्पूर्ण नेपाली भाषा–प्रयोक्ताहरू जागरुक भइरहेका छन् । भाषा–माफियाहरूको विषाक्त पञ्जाबाट नेपाली भाषालाई बचाउने पवित्र भावना र महान् लक्ष्य लिएर ‘नेपाली भाषा बचाऊँ अभियान–२०७२’ को आरम्भ भएको हो । जसको परिणाम सम्पूर्ण नेपाली जनमनमा नेपाली भाषाप्रतिको सम्मान र पे्रमभावले यत्रतत्र सर्वत्र व्याप्त पाइरहेको छ । देशभरका न्यायमूर्ति एवम् विद्वान् कानुन–व्यवसायीको नेपाली भाषाप्रतिको घनीभूत जागरुकतालाई नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठानले अरू बढी मुखर गर्दै जानेछ ।

१) पृथ्वीतलमा अवतरित भएका सम्पूर्ण भाषाको मूलाधार मुटु र मेरुदण्ड भनेकै वर्णमाला, व्याकरण र लिपि हुन् । हरेक भाषाको मूलाधारका रूपमा रहेका यी तीन तत्वलाई कुनै पनि विद्वताको पगरी गुथेको व्यक्ति वा समूहले चाहँदैमा घटाउने, हटाउने वा फेरबदल गर्ने सामथ्र्थ राख्तैनन् र उनीहरूलाई त्यो अधिकार पनि हुँदैन ।

२) वर्णमाला, व्याकरण र लिपिको संयोगबाट शब्दहरूको संरचना र निर्माण हुन्छन् । शब्दहरूले क्रमशः भाव ग्रहण गर्दछन् र यसैका आधारमा साहित्य, कला, संस्कृति, संस्कार, सभ्यता र दर्शनको प्रारम्भ हुने क्रम शुभारम्भ हुन्छ । सरल र प्रविधिमैत्री बनाउने नाउँमा नेपाली भाषाको कुल र मूलमा प्रहार गर्ने र पदयोग गराएर नेपाली भाषाका बनिबनाउ, अर्थपूर्ण र विवादरहित शब्दहरूलाई विकृत बनाउने विषाक्त षड्यन्त्र रहेको देखिन्छ । ‘ह्रस्व’ ‘दीर्घ’ सर्वसाधारणलाई अलमल्याउने बहाना मात्र हो । यसभित्रको रहस्य विवादरहित नेपाली भाषालाई भाषिकामा परिणत गर्ने, ‘नञा र पुरानो’को द्वन्दात्मक परिस्थिति उत्पन्न गराएर नेपाली भाषालाई ‘प्रयोजनहीन’ घोषणा गराउने नै रहेको देखिन्छ ।

३) एकछिन, एकदिन वा कुनै व्यक्तिविशेषको एक्लो प्रयासले वर्णमाला, व्याकरण र लिपि तयार भएका होइनन् र निर्माण हुन पनि सक्दैनन् । वर्णमालाको परस्पर संयोग र परिचालन जुन अनुपातमा सम्मिलन हुँदै जान्छन् सोही अनुपातमा भाषा सुदृढ र समुन्नत बन्दै जान्छ । विश्वमा रहेका सम्पूर्ण भाषामा लागू हुँदै आइरहेका नियमकै परिधिभित्र देवनागरिक लिपिमा नेपाली भाषा निरन्तर रूपमा पुष्पित र पल्लवित हुँदै आइरहेको छ । हरेक भाषाको वर्णमाला, व्याकरण र लिपिको आ–आफ्नै विशेषता, अस्तित्व र महत्व रहेका हुन्छन् । यस्तै देवनागरिक लिपिको पनि छ । भाषाको मूलाधार, जग, मुटु, मेरुदण्ड र प्राण भनेकै वर्णहरू हुन् । नेपाली भाषामा प्रयुक्त हुँदै आएका १६ वटा स्वर वर्ण र ३६ वटा व्यञ्जन वर्णसमेत ५२ वटा वर्णमालाको संयोजनबाट नेपाली भाषाका शब्दहरू निर्माण र अभिवृद्धि भइराखेका छन् । अर्थात् नेपाली भाषाको शब्दस्रोतको प्रमुख धरातल भनेकै यिनै ५२ वटा वर्णमाला हुन् । एउटा वर्णबाट हजारौँ–लाखौँ शब्द निर्माण भइरहेका हुन्छन् । वर्णमाला हटाउनु, कटाउनु वा घटाउनु भनेकै भाषाको हत्या गर्ने विषाक्त योजना र षड्यन्त्र हो । तथाकथित सुधार, सरल र प्रविधिमैत्रीको नाममा नेपाली भाषाको स्वरवर्णबाट क्रमशः ऊ, ई, ऋ, ऋृ एवम् व्यञ्जन वर्णबाट ञ, ण, त, थ, द, य, व, श, ष, क्ष, त्र, ज्ञ आदि वर्णहरूलाई घटाएर २४ वटा वर्णहरूलाई मात्र कायम राखेर नेपाली भाषाको समृद्धि र समुन्नत मार्गलाई समाप्त पार्ने भाषा–माफियाको बेइमानी प्रस्ट भएको छ । यसरी स्वरवर्ण र व्यञ्जन वर्णको नृत्यानन्दबाट नेपाली भाषालाई वञ्चित गराएर नेपाली भाषालाई भाषिकामा खुम्च्याएर समाप्तितर्फ लाने भाषा–माफियाको दुष्प्रयास कुनै पनि जीवित नेपालीका लागि स्वीकार्य हुन सक्तैन ।

४) संसारमा भएका सम्पूर्ण मान्छेको भावना अभिव्यक्तिको माध्यम कथ्य र लेख्य दुई मात्र हुन् । साङ्केतिक भाषालाई पनि यही श्रेणीभित्र राखेको पाइन्छ । संसारमा भएका कुनै पनि भाषा विज्ञान र वैज्ञानिकहरूले कथ्यलाई मानक मानेको पाइँदैन र कथ्य मानक हुने सम्भावना पनि रहँदैन । यो सर्वमान्य, वस्तुगत र विज्ञानसम्मत वास्तविकताको विपरीत नेपाली भाषाको कथ्यलाई नै मानक मान्न, प्रयत्नशील रहनुले भाषा–माफियाको नियत दिनको घामझैँ छर्लङ्ग हुन्छ । शुभारम्भदेखि नै अभिछिन्न रूपमा कायम रहँदै आएका नेपाली भाषाका वर्णमालामाथि हमला गर्दै जाने भाषा–माफियाको विषाक्त दुष्प्रयास निरन्तर भइरहेको छ । मूलतः भाषामाथि भइरहेको यो बेइमानी सार्वभौमसत्तासम्पन्न सम्पूर्ण नेपाली र नेपाल राष्ट्रकै लागि भएको र बोलिएको धावा हो । भाषामाथि भएको यो जघन्य र अक्षम्य अपराध र अपराधीलाई सधैँ मौनता साँधेर क्षमा र छुट दियौँ भने वर्तमानले मात्र होइन आउने भविष्य र वाणी–वागेश्वरीले हामी सम्पूर्ण नेपालीलाई बारम्बार धिकार्नेछिन् । भाषा–माफियाको विषाक्त कोपभाजनबाट नेपाली भाषालाई जोगाउने र बचाउने दायित्व र जिम्मेवारी आमनेपालीको काँधमा आएको छ ।

५) भाषा–माफियाको अर्को भयानक र खतरनाक उद्देश्य र योजना नेपाली भाषा, साहित्य, कला, संस्कृति, पुरातत्व, न्याय तथा कानुनलगायतका तथ्य र प्रमाणिक इतिहास एकैसाथ, एकमुष्ट रूपमा अशुद्ध र प्रयोजनहीन बनाएर समाप्त पारिदिने रहेको देखिन्छ । संसारकै सार्वभौमसत्तासम्पन्न राष्ट्रमाथि यसभन्दा भयानक, कपटपूर्ण, छद्मवेशी र षड्यन्त्रात्मक आक्रमण अर्को हुँदैन । त्यही प्रकृतिको आक्रमण भाषा–माफियाले आज हामी सम्पूर्ण नेपाली र नेपाल राष्ट्रमाथि गरिराखेका छन् । हरेक सार्वभौमसत्तासम्पन्न राष्ट्रको मुुटु, मेरुदण्ड र प्राण भनेकै भाषा हो । भाषालाई समाप्त पारेपछि कुनै पनि भूभागमा बसोबास गर्ने मानव समुदायलाई पूर्णतः बँधुवा–दास बनाउने वैधानिक मार्ग प्रशस्त हुन्छ । तथाकथित गोष्ठी र सङ्गोष्ठीको मिति कायम गराएर नेपाल सरहदभित्र भएका कुनै पनि ऐन, कानुन, संविधान, नीति, नियम, विधान र सम्मानित सर्वोच्च न्यायालयको नजिरसमेतको प्रावधानले नदिए–नपाएको अधिकार आफूहरूले लियौँ–पायौँ भन्ने कपोलकल्पित मनगढन्ते, दिग्भ्रमित र नितान्त व्यक्तिगत किर्ते, जालसाजीपूर्ण निर्णय गराएर यसैका आधारमा आधारहीन, अवैज्ञानिक, छद्मवेशी पाठ्यपुस्तक राज्यकोषको अर्बौं रुपैयाँ खर्च गराएर, सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कवि, लेखक, साहित्यकार, पत्रकार, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कानुन व्यवसायी, न्यायाधीश, कर्मचारी, विद्यालय, विश्वविद्यालय र प्राध्यापकलाई समेत भाषा–माफियाले गुमराहमा राखेर आफ्ना गैरकानुनी धन्दा सञ्चालन गर्दै आइरहेका छन् । भाषा–माफियाले नेपाली भाषामाथि गरेको र गर्दै आइरहेको यो जघन्य र अक्षम्य हर्कत श्वेत अपराध मात्र नभएर मानवताविरोधी फौजदारी अपराध हो । यी जघन्य अपराधी भाषा–माफियालाई क्षमा र छुट दिनु भनेको अपराधलाई हुर्काउनु र अपराधीलाई प्रेरणा, प्रोत्साहन र प्रतिष्ठित गरिरहनुसरह हुन्छ । अपराधीलाई प्रोत्साहित गर्नु भनेको राष्ट्र, समाज र शुभकार्यको सर्वनाश गराउनु हो । भाषा–माफिया जिउँदा लास हुन् । जीवन्त राष्ट्र र समाजका लागि यस्तो जघन्य अपराध कार्यमा छद्मवेशी रूपमा सङ्लग्न भएकाहरूले आफ्नो उपस्थिति र औचित्यलाई आफैँले समाप्त पारिरहेका छन् र नेपाली भाषामाथि अन्यायपूर्ण हमला गरिराखेका छन् ।

६) एउटै मूलले समुद्र नबनेजस्तो जीवन्त भाषाले पनि संसारमा भएका अन्य सबल र सुदृढ भाषाका शब्दलाई आत्मसात् वा ग्रहण गर्छ । भाषाविज्ञानको यो विश्वव्यापी र गतिशील नियमलाई नेपाली भाषाले पनि अवलम्बन गर्दै आइरहेको छ । संस्कृत भाषा सम्पूर्ण भारोपेली भाषाको माउ अर्थात् जननी भाषा हो । नेपाली भाषाको मूल र कुल पनि संस्कृत भाषा नै हो । तत्समका रूपमा संस्कृत भाषाका संयुक्त वर्ण र आगन्तुक शब्दद्वारा आत्मीय सम्बन्ध सेतु गाँस्न अन्य भाषाका शब्दहरूलाई नेपाली भाषाले निरन्तर यात्रारम्भ गर्दै आइरहेको छ । शब्दस्रोतका यी दुवै मूलमा भाँजो हाल्ने र दुवाली छेकेर नेपाली भाषाको विकासक्रमलाई अवरुद्ध पार्ने भाषा–माफियाको प्रपञ्च रहेको छर्लङ्ग छ । जसअन्तर्गत संस्कृत भाषाबाट नेपाली भाषामा आएका संयुक्त वर्ण कटौती गर्ने र आगन्तुक शब्दलाई विकृत र अशुद्ध बनाएर बिच्क्याउने एवम् अपमानित गराउने यी परचक्रीहरूको रिसवत् खाएर बसेका भाषा–माफियाको भूमिका निर्वाह गर्दै आएका नेपाली अनुहारकै तर नेपाल र नेपालीको सम्पूर्ण सार्वभौम अस्तित्व र महत्वलाई सधैँका लागि समाप्त पार्न तम्सेका यी लोभी, पापी र जघन्य अपराधीको कोपभाजनबाट नेपाली भाषालाई बचाउने दायित्व र जिम्मेवारी बहन गर्ने निर्णायक घडी आज हामी सम्पूर्ण नेपालीका माझमा उपस्थित भएको छ ।