केशरले गरे कमलमाथि प्रहार

केशरले गरे कमलमाथि प्रहार


kesar-kamal

पटक–पटकको प्रयत्नपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच पार्टी एकीकरण सम्पन्न भएको छ । यसले राप्रपाका कार्यकर्ता–पङ्क्तिमा उत्साह ल्याएको देखिए पनि पार्टी एकीकरणको विरोधमा बोल्नेहरू समेत देखिएका छन् । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाको रवैयाप्रति असन्तुष्ट हुँदै पार्टीबाट विद्रोह गरेर बसेका नेता केशरबहादुर बिष्टल राप्रपा र राप्रपा नेपालबीचको एकतालाई अस्वीकार गर्दै कमल थापामाथि सङ्गीन आरोप लगाएका छन् ।
हिजो मङ्गलबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विष्टले उक्त एकतालाई ‘सिद्धान्तहीन एकता’को रूपमा चित्रण गर्नुका साथै ६ लाख ३० हजार मतदाताको आदर्शको परित्याग भनेका छन् । एकीकृत राप्रपाका अध्यक्ष थापामाथि लक्षित गर्दै बिष्टले ‘राजसंस्थाका बाहक हौँ भनी हुङ्कार गर्नेहरू नै गणतन्त्रका राष्ट्रपतिको समर्थक–प्रस्तावक बने, ६ लाख ३० हजार जनताको अभिमत र पार्टीको आदर्शलाई परित्याग गरे’ भनेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ– ‘पार्टीका नीति सिद्धान्त र आदर्शलाई पूर्णतः परित्याग गर्दै राप्रपा नेपाल गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको वैधानिक आदर्श बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा विधिवत विलय भएकाले राप्रपा नेपालको अस्तित्वसमेत समाप्त भएको छ ।’

ज्ञातव्य छ, राप्रपा नेपालको सहअध्यक्ष पदबाट कमल थापाले कारवाही गरेपछि बिष्टले ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ गठन गरेका छन् । राप्रपा एकीकरणपछि विष्टले अब उक्त अभियानलाई देशव्यापी रूपमा संगठित गर्ने घोषणा गरेका छन् ।

विज्ञप्तिमा अगाडि उनले भनेका छन्– ‘राप्रपा नेपाल लगायत यो सिद्धान्तमा अटल विश्वास र आस्था राख्ने व्यक्ति, संघ–संस्था, समूह र दलहरुलाई एकीकृत राष्ट्रवादी शक्तिमा सामेल भई नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र संवैधानिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीसहितको एकात्मक राज्य प्रणाली कायम गर्नमा मन, वचन कर्मले एकजुट हुन हामी विनम्रताका साथ आह्वान गर्दछौँ ।’