युगपुरुष मोदी

युगपुरुष मोदी


rajendra-pathak-sagar

– राजेन्द्रप्रसाद पाठक

सत्ययुगले विष्णु जन्मायो, तेत्रायुगले अयोध्यापति श्री राम जन्मायो, द्वापरयुगले जगदीश्वर श्री कृष्ण जन्मायो, कलियुगले भारतवर्षमै चियावाला हुँदै योगी हुँदै सन्न्यासी हुँदै प्रधानमन्त्री श्री नरेन्द्र दामोदार दास मोदी जन्मायो भन्दा अतिसयोक्ति भयो भन्नेहरूको कमी हुने छैन । यद्यपि यी चारै युगपुरुषलाई एकै स्थानमा राखेर कथित मूल्याङ्कन गर्दा भौतिक, बौद्धिक, सामाजिक, राजनीतिक, धार्मिक, वैदिक क्षमता र योग्यताको जाँच गर्दा युग र त्यसको प्रकृति आचरणअनुसार तोलामासा फरक पर्न सक्ला, आशय र उद्देश्यमा समभाव प्रकट भएको देख्नु आफैँमा समतामुखी समाजप्रति विश्वास राख्ने आध्यात्मिक सामाजिक आचरण हो भन्दा फरक परोइन ।

यी चारै युगपुरुषलाई तौलने मापक र सूचकहरू के–के हुन सक्छन् भन्ने प्रश्न खडा भयो भने त्यसको उत्तरस्वरूप आउन सक्ने शब्दहरू भनेको विश्वको सबैभन्दा पुरानो हिन्दू विधिशास्त्रलगायत संसारको मानव समुदायले स्वीकार गरेको सम्पूर्ण धार्मिक–सामाजिक सिद्धान्त वा दर्शन सबैले नै स्वीकार गरेको एउटै मन्त्र सत्वगुणी भावार्थले प्रेरित ‘बहुजन हिताय बहुजन सुखाय’ भन्ने शब्द संयोजनले नै सिद्ध गर्न सक्दछ । पूर्वीय संस्कारले पुज्ने र अवलम्बन गर्ने बेद र १८ पुराण साथै त्यसका उपपुराणका निचोडका रूपमा सिर्जना भएको श्लोक ‘अष्टदश पुराणस्य व्यासस्य वचनंद्वयम् परोपकाराय पुण्याय पापाय परपिडनम्’ यस श्लोकको भावार्थ हुन्छ अठारै पुराणमा मुनिश्वर व्यासले भन्नुभएको छ कि अरूको उपकार गर्नु पुण्य वा धर्म हो भने पीडा दिनु पाप हो भन्ने भावले अभैm पुष्टि गर्दछ । संसारमा उत्पत्ति भएकाहरूको शतप्रतिशत हित गर्न पनि सकिँदैन र हित गर्नु पनि हुँदैन भन्ने कुरालाई अघिल्ला तीन युग पुरुषहरूको आचरण र व्यवहारले सिद्ध गरेको कार्यविवरणको आधारमा सिर्जना भएको रामायण र महाभारतसमेतले सकारात्मक सोच र आचरण भएकाको संरक्षण गरेको र नकारात्मक सोच र आचरण हुनेहरूको संहार गरेको दृष्टान्त बोकेको शास्त्र अझै हामी पढ्दै छौँ, पुज्दै छौँ र भविष्यमा समेत यसको महत्व अझै बढ्दै जानेछ ।

यस्तै अर्का युगद्रष्टा महात्यागी शान्तिका अग्रदूत भगवान् बुद्धले समेत ‘अप्प दिपो भवः’ भन्दै गर्दा आफूले जलेर दियोले जसरी लोकलाई उज्यालो प्रदान गर्दछ अथवा अन्धकारबाट उन्मुक्ति गराउँछ त्यसरी नै संसारको उज्यालो अथवा ज्ञानको ज्योति बन्न सक्नु नै मानवरूपी जन्मको औचित्य साबित हुन सक्दछ भन्ने ज्ञान विश्वलाई प्रदान गरेर भौतिक शरीरबाट बिदा लिनुभयो । राम, बुद्ध र कृष्ण यी तीनै अवतारलाई विष्णुअवतार भनी हिन्दू ग्रन्थले बताएको हुँदा अन्यलाई त्यसै समान तुलना गर्न नसकिएला, तर पनि ती यस्तै भावना र उद्देश्य लिएर कार्य सञ्चालन गर्न सक्ने महामानवलाई आंशिक पूर्ति गर्नका लागि खटिएका र लोकहितका खातिर आफ्नो दिलो ज्यान अर्पन गर्न सक्ने महान् सोच र सामथ्र्य प्राप्त हुनु आफैँमा मानव समुदायलाई रक्षा गर्ने कडी बन्न सक्दछ । यस्ता युगद्रष्टा युगपुरुषको जन्म बारम्बार भइरहँदैन जबजब अन्याय र अत्याचारको फैलावट बिनाुसर्त हुन्छ तबतब त्यस्ता सात्विकहरूको जन्म र कर्मले सर्वसाधारणलाई उद्धार गरी समतामूलक समाजको स्थापना हुने गर्दछ । त्यस्तै अथाह शक्ति, स्रोतसाधनसम्पन्न देश भारतमा एक राजनीतिक व्यक्तित्वको उदय भएको छ । जसका कारण अति अल्पजनले बहुजनमाथि लादिएको दर्दनाक अमानवीय राजनीतिक, सामाजिक, आर्थिक आचरणमाथि धावा बोल्ने शक्ति र सामथ्र्य प्रदान गरेका कारण अबका केही वर्षमा नै सम्पूर्ण भारतवर्षभरि एकप्रकारको आशाको किरण फैलियो र सर्वसाधारणले त्राण पाउन सक्ने परिस्थिति नजिकिएको आभास हुन थालेको छ ।

भाषिक, सांस्कृतिक र जातीय एकताका कारण पनि समाजमा विभिन्न घटनाक्रमले नेपाललाई असर पु¥याउने यथार्थ हामीबाट अलग हुन सकेको छैन । त्यसैले भारतमा जति ठूलो उच्चतम स्तरको परिवर्तन हुन सक्यो भने नेपालमा समेत तत्काल त्यसको असर देखापर्दछ । हाल आएर भारतीय प्रधानमन्त्रीले गर्नुभएको आर्थिक निर्णयले भारतको अर्थतन्त्रमा शुद्धीकरण आई पूर्ण रूपमा चलायमान हुन र अनैतिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति राज्यको दायरामा आई अपार स्रोत र साधन स्वदेशमै सिर्जना हुन सक्दछ । यसको सही उपयोगद्वारा देशलाई उपयोग पर्ने पुँजीमाथि अन्यत्रको मुख ताक्नुपर्ने छैन ।

विगतमा विभिन्न चरित्र धारण गरेका र त्यसलाई सहजताका साथ निवारण गरेका एक अथक सामाजिक, राजनीतिक योद्धाका रूपमा नरेन्द्र दामोदास मोदीलाई लिने गरिन्छ । उनको सङ्घर्षरत जीवनपद्धतिलाई नजिकबाट नियालेका र कुनैबेला सहयात्री सहकर्मीसमेत बनिसकेका भाजपाका नेता श्री राजकमल पाठक भन्नुहुन्छ, ‘कुनैबेला मोदीजी यतिसम्म काम गर्नुहुन्थ्यो कि दिनभर र रातको आठ बजेसम्म कुनै समुदायलाई समय उपलब्ध गराएर उनका समस्याप्रति साक्षात्कार गर्दै उनीहरूलाई भोलिपल्ट बिहान आठ बजे पुनः समय दिइरहँदा रातभर अन्य समुदायहरूको समस्यामाथि साक्षात्कार हुँदाहुँदै भोलिपल्ट आठ बजिसकेको पत्तो पाउँदैन थिए । यसको मतलब २४ सै घन्टा आरामै नगरी अहोरात्र खटिन सक्ने उनको मनोवृत्ति आफैँमा कर्ममुखी थियो । मानव हितका लागि गरिने कार्य नै धर्म ठान्ने मोदीजी विगत केही वर्षदेखि गणतन्त्र भारतका प्रधानमन्त्री भएका छन् । उनको आगमनसँगै भारतले नयाँ मुहार फेर्ने पक्कापक्की भइसकेको छ । विगत ६९ वर्षअगाडि नै भारतमा गणतान्त्रिक लोकतन्त्र स्थापना भइसके तापनि साँच्चिकै लोकहितका कार्यमा राजनीतिकर्मीहरू त्यति अग्रसर भएजस्तो आभास हुँदैन । किनकि भारतमा शताब्दीयौँसम्म बेलायत सरकारले शासन गरेको मुलुक हो । निकै ठूलो यातायातको सञ्जाल मानिने रेल्वेसेवाको विस्तार बेलायती इष्टइन्डिया कम्पनीले नै स्थापना गरिसकेको थियो । जति बेला भारतमा पूर्ण रूपमा यातायात संरचना बनिसकेको थियो त्यसबेला नेपालमा काठमाडौंको नयाँ सडकलगायत राणा शासकको दरबारको वरिपरि मात्र धुले रोड निर्माण गरी भैँसेको बाटो हुँदै गाडी बलामीहरूले बोकेर काठमाडौं प्रवेश गराउँथे र राजा र प्रधानमन्त्रीहरू दरबारपरिपरि गाडीमा सवार हुन्थे ।

विभिन्न राजनीतिक अस्थिरताका बाबजुद भारतवरिपरिका देशहरूले समेत सामान्य विकासको स्वाद चाखिसकेको अवस्थामा भारतजस्तो साधनस्रोतसम्पन्न देशमा आजसम्म अत्याधुनिक यातायातको सुविधाबाट भारतीय जनता बन्चित हुनुमा पक्कै पनि राजनीतिक इच्छाशक्ति कमी भएको अनुमान लगाउन सकिन्छ । विशाल र शक्तिशाली छिमेकी मुलुकमा त्यस्ता व्यक्तिवादी चरित्र हाबी भइरहँदा अन्य साना र सामान्य आर्थिक स्तर भएका छिमेकी देशहरूले समेत त्यस्ता चरित्रहरूको अनुशरण गर्दै सर्वसाधारण जनतामाथि अन्याय हुन गएको अन्य थुप्रै दृष्टान्तहरू छन् । त्यसको प्रत्यक्ष सिकार हुन पुगेको नेपाल, भुटान, बंगलादेश, श्रीलङ्का आदि देशहरूले समेत राजनीतिक, आर्थिक र सामाजिक स्थिरता प्राप्त गर्न नसक्दा भारतको विगतको राजनीतिक इच्छाशक्तिको कमी–कमजोरी हुन सक्दछ । अझै जोडदार रूपमा हेर्ने हो भने नेपालजस्तो खुल्ला सिमाना भएको देशमा त त्यसको प्रत्यक्ष असर पर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । भारत र नेपालबीच राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, जातीय, सांस्कृतिक भाषिक एकता भएका कारण भारतको सम्पूर्ण गतिविधिले नेपालको अनेकन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्न सक्दछ । त्यसको ज्वलन्त उदाहरणको रूपमा इ.सं. १९४७ मा भारतमा प्रजातन्त्र आयो । त्यसको लगत्तै १९५० मा नेपालमा राणातन्त्र फालिएर प्रजातन्त्र आएको थियो ।

भाषिक, सांस्कृतिक र जातीय एकताका कारण पनि समाजमा विभिन्न घटनाक्रमले नेपाललाई असर पु¥याउने यथार्थ हामीबाट अलग हुन सकेको छैन । त्यसैले भारतमा जति ठूलो उच्चतम स्तरको परिवर्तन हुन सक्यो भने नेपालमा समेत तत्काल त्यसको असर देखापर्दछ । हाल आएर भारतीय प्रधानमन्त्रीले गर्नुभएको आर्थिक निर्णयले भारतको अर्थतन्त्रमा शुद्धीकरण आई पूर्ण रूपमा चलायमान हुन र अनैतिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति राज्यको दायरामा आई अपार स्रोत र साधन स्वदेशमै सिर्जना हुन सक्दछ । यसको सही उपयोगद्वारा देशलाई उपयोग पर्ने पुँजीमाथि अन्यत्रको मुख ताक्नुपर्ने छैन । ठूलाठूला आयोजना सम्पन्न गर्न सकिनेछ । आर्थिक गतिविधि बढ्न गएमा युवा रोजगारी वृद्धि भई विदेश पलायनता कम हुन सक्दछ । अनैतिक सम्पत्ति आर्जन गर्ने र आर्थिक गतिविधि स्थिर पारेर शक्ति सञ्चय गर्ने निराशाजनक गतिविधिबाट देश र समाज मुक्त हुन सकेमा मात्र उन्नतिमा बढावा दिन सकिन्छ । सीमित मुठ्ठीभर व्यक्तिहरूले देशको अर्थतन्त्र ठप्प पार्न सक्ने अवस्थाबाट अबको भारत मुक्त हुने सहज अनुमान लगाउन सकिन्छ । दक्षिण एसियाकै विशाल देश भारतको उच्चतम विकासले सम्पूर्ण दक्षिण एसियाभरिकै विकासमा टेवा पु¥याउन सक्तछ । जातजाति, थर, गोत्र र खानदानी राजनीतिको अन्त्य सँगसँगै अर्थतन्त्रको विकासले अबका केही वर्षमै अति सम्पन्न मुलुकको रूपमा भारत खडा हुनेमा शङ्का गरिरहनु नपर्ला । यसको प्रत्यक्ष असर निकट भविष्यमा नेपालमाथि पनि पर्न सक्दछ ।

हाम्रोजस्तो अल्पविकसित देशले पनि भारतजस्तो विशाल गणतान्त्रिक देशले गरेको सही र उपयोगी निर्णयहरूमाथि आत्मसात् गर्न सक्यो भने देश र देशवासीको मुहार फेरिन समय लाग्नेछैन । महान् मोदीको उदय भारतका लागि मात्र नभएर सम्पूर्ण दक्षिण एसियाकै मुहार फेर्न सक्ने क्षण बन्न सकोस् । हाम्रा नेताहरूले समेत ढिला नगरी सकारात्मक सोचको अनुशरण गर्न सके भने विगतका गल्ती–कमजोरीहरूलाई त्याग गरेर सबल सामाजिक–राजनीतिक सोचको विकास गर्दै देश बन्नु भनेको परिवार, समाज हुँदै बृहत् मानव समूहको हित हुनु हो भन्ने नयाँ सोचको शुभारम्भले नयाँ युगको आगमन हुन सक्दछ । जसरी राजनीतिक कमिट्मेन्टका कारण मलेसिया, दक्षिण कोरिया, सिङ्गापुर, जापान, चीनजस्ता देशले समृद्धि हासिल गरे त्यसैगरी भारत पनि निकट भविष्यमै विशाल समृद्धि हासिल गर्दै छ । त्यसैले मोदीको निर्णयले चिरनिद्रामा मस्त हाम्रा राष्ट्रनायकहरूको पनि होस खुलोस् यसबाट देश र जनताको पनि भलो हुनेछ । अस्तु ।
modi_n

(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाजका अध्यक्ष हुन्)