सरकारको उदासीनता र बदनियत : १३औँ साग प्रधानमन्त्रीको सम्बोधनमै सीमित

सरकारको उदासीनता र बदनियत : १३औँ साग प्रधानमन्त्रीको सम्बोधनमै सीमित


shreebikram Bhandari

– श्रीविक्रम भण्डारी

१२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको नौ महिना पूरा भइसकेको छ । प्रतियोगिताको समापन समारोहमा १३औँ सागको आयोजनाका लागि नेपाललाई साग गेमको झन्डा हस्तान्तरण गरिएको थियो । तत्कालीन समयमा नेपालको तर्फबाट उक्त झन्डा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बोकेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको समेत उपस्थिति थियो । नेपालको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गर्दै १३औँ सागको झन्डा बोकेको नेपालले अहिलेसम्म १३औँ सागका लागि कुनै तयारीको थालनीसमेत गरेको छैन । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुने सागको आयोजनाका लागि अब एक वर्ष र तीन महिनाको समय बाँकी रहेको छ । यस्तो अवस्थामा नेपालले १३औँ सागको तयारीको त कुरै छोडौँ चर्चासमेत नगर्नुले १३औँ साग एकादेशको कथा बन्ने पक्का भएको छ । समय खरायोको वेगमा दौडनु, नेपालको तयारीचाहिँ कछुवाको गति मात्र बन्नुले नेपालमा १३औँ साग होला– त्यसमाथि ठूलो प्रश्न खडा भएको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता शुभारम्भ नेपालबाट भएको थियो । नेपालले पहिलो साफको सफल आयोजना गरेर दक्षिण एसियाली मुलुकमा यो प्रतियोगिताको महत्व र प्रभावबारे सकारात्मक सन्देश दिन सफल भएको थियो । त्यसपछिका केही संस्करणहरू निरन्तर रूपमा सञ्चालन हुँदै आए पनि त्यसपछि यो प्रतियोगिता ओझेलमा पर्न थालेको थियो । भारत, पाकिस्तान, श्रीलङ्का र नेपालले प्रतियोगितालाई निरन्तर रूपमा सञ्चालन नगरेर सागको आयोजनामाथि नै प्रश्नचिह्न खडा गरिदिएका थिए । दुईपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना गरेको नेपाललाई आठौँ साफ गर्न ६ वर्ष लागेको थियो । त्यस्तै पाकिस्तानले पनि नवौँ साग पाँच वर्षको अन्तरालपछि गरेको थियो । गत वर्ष भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ सागको आयोजना पनि भारतले पा“चपछि वर्षपछि मात्रै गरेको थियो । नेपालले आठौँ समयमै आयोजना गर्न नसक्नु भौतिक पूर्वाधार र आर्थिक अभाव भए पनि भारत र पाकिस्तानका लागि भने त्यस्तो कुनै समस्या थिएन । र पनि, सागको आयोजना प्रत्येक दुई वर्षमा हुन सकेन । भारत र पाकिस्तानको राजनीतिक चिसोपनले पनि साग बलिमा चढ्दै आएको थियो । हालै सम्पन्न १२औँ सागमा पाकिस्तानी खेलाडीहरूलाई भारतले भिसा नदिनु यसको सानो उदाहरण हो । यसरी दक्षिण एसियाली मुलुकमा आपसी मित्रता र भ्रातृत्वको विकास गर्ने पवित्र उद्देश्यका साथ सञ्चालनमा गर्न थालिएको साग गेम अहिले विभिन्न कारणले गर्दा ओझेलमा पर्दै गएको कसैबाट छिपेको छैन ।

वर्तमान अवस्थामा १३औँ सागको जिम्मेवारी नेपालले पाएको छ । तर, नेपालले जिम्मेवारी बोक्नुबाहेक अहिलेसम्म १३औँ सागको आयोजनाका लागि सिन्कोसमेत भाँच्न सकेको छैन । सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् १३औँ साग नेपालमा समयमै हुनुपर्छ भनेर कुर्लंदै आए पनि सरकारले १३औँ सागको आयोजनालाई कागजमै सीमित पारिदिनु दुर्भाग्य बनेको छ । राखेपका संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सय दिनको हनिमुनको समयमा गरेको सम्बोधनमा १३औँ सागको आयोजनाका लागि कटिबद्ध रहेको र १३औँ सागलाई प्राथमिकतामा राखेको बताए पनि त्यो कुरा सम्बोधनमै सीमित रहेको छ । साँचो अर्थमा भन्नुपर्दा एमाओवादी केन्द्रको खेलकुदमन्त्री भएका कारण प्रधानमन्त्री प्रचण्डले बाध्यतावश सागको उच्चारण गरेका हुन् भन्दा अतिसयोक्ति नहोला । अन्यथा सरकार १३औँ सागप्रति गम्भीर भएको भए झन्डा बोकेको दिनदेखि नै सागको आयोजनाका लागि कम्मर कसेर लाग्थ्यो । तर, विडम्बना ! राष्ट्रको मान, सम्मान र प्रतिष्ठा गा“सिएको १३औँ सागप्रतिको सरकारको उदासीनता र सौतेलो व्यवहार आफँैमा सर्मनाकको विषय बनेको छ । तसर्थ अब १३औँ समयमै नहुने त पक्का भएको छ, अब कहिले हुने हो त्यसको अड्कल र अनुमान लगाउन सकिने अवस्थासमेत छैन । यसर्थमा सरकार १३औँ सागप्रति गम्भीर नै छैन, साँचो अर्थमा भन्नुपर्दा १३औँ साग गर्ने पक्षमै छैन ।
sport-article-1

महाभूकम्प र बहाना
नेपालमा महाभूकम्प गएको डेढ वर्षभन्दा पनि बढी समय भइसकेको छ । तर, सरकार र खेलकुदका पदाधिकारीहरूले उक्त भूकम्पको वहानाको रटान लगाउन भने छोडेका छैनन् । महाभूकम्पले मुलुकको भौतिक संरचनामा पु¥याएको क्षति कसैबाट छिपेको छैन । यो क्रममा खेलकुद क्षेत्रमा भएको क्षति अन्य क्षेत्रभन्दा पक्कै पनि कम छैन । मुलुकको एक मात्रै राष्ट्रिय रंगशाला दशरथ रंगशाला पनि महाभूकम्पको चपेटामा परेको थियो । जसको पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन । जर्जर अवस्थामा रहेको दशरथ रंगशालामा छत हाल्ने कार्य भए पनि भूकम्पले क्षति पु¥याएको ठाउ“को अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन । प्राप्त जानकारीअनुसार अहिले पनि दशरथ रंगशालाको पुनर्निर्माण गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच जुहारी चलेको अवस्था छ । दशरथ रंगशालाको निर्माणको जिम्मा पाएका इन्जिनियरहरूले रंगशाला जोखिममुक्त रहेको र पुनर्निर्माण गर्नु नपर्ने प्रतिवेदन राखेपलाई बुझाए पनि खेलकुद मन्त्रालयको दबाबमा रंगशाला पुनर्निर्माण गर्नुपर्ने कुरामा राखेपले सहमति प्रकट गरेको खुलासा भएको छ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता भौतिक पूर्वाधार निर्माणका संयोजकलाई समेत बाइपास गर्दै राखेप र खेलकुद मन्त्रालयले यस्तो गैरजिम्मेवार हर्कत गरेको खुलासा भएको छ । स्रोतका अनुसार आर्थिक चलखेल र कमिसनको चक्करमा राखेपका पदाधिकारी र खेलकुदमन्त्रीबीच यस्तो गोप्य सहमति भएको जानकारीमा आएको छ । यसबाट के प्रस्ट हुन्छ भने उनीहरू रंगशालाको निर्माण गर्न चाहँदैनन् । रंगशालालाई बहाना बनाउ“दै १३औँ सागलाई एकादेशको कथा बनाउन चाहन्छन् । यसर्थमा कि दशरथ रंगशाला १३औँ सागको मुख्य रंगशाला हो ।

बजेट छुट्याएको र पटक–पटक मिति तोक्दै आएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत राजनीतिक चलखेल गर्ने सरकारले १३औँ साग समयमै आयोजना गर्ला भन्नु दिवास्वप्न देख्नु मात्रै हो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता किन भइरहेको छैन ? किन सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्दै र स्थगित गरिँदै आएको छ ? सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि किन बोर्ड मिटिङको समय तोकेर पनि सर्दै आएको छ ? किन खेलकुदमन्त्रीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति खेलवाड गरिरहेका छन् ? अहिले यी प्रश्न अहम् बनेका छन् । अन्यथा पहिले कसरी राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गरिन्थ्यो ? त्यसबारे खेलकुदमन्त्री दलजित श्रीपालीलाई जानकारी गराउन जरुरी छ । यसर्थमा कि राष्ट्रिय प्रतियोगिता अहिलेसम्म पूर्ण भौतिक पूर्वाधार निर्माण गरेर गरिएको कहीँ पनि रेकर्ड छैन । राजधानीमा आयोजना गरिएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि टुँडिखेलमै खेलाइएको हो भने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कसरी माओवादीले गराएको थियो त्यो खेलकुदमन्त्री श्रीपालीलाई राम्रोसँग थाहा छ । यसर्थमा कि श्रीपाली त्यसबेला पीएलओका टिम म्यानेजर थिए । यहाँ भन्न खोजिएको कुरा के हो भने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत राजनीतिक दृष्टिले हेर्नेले १३औँ साग नेपालमा गर्न गर्ला देलान् ? त्यो घामजस्तै छर्लङ्ग छ । २५–३० करोड बजेट भएको सागमाथि गिद्देदृष्टि राख्ने एमाओवादी केन्द्रले १३औँ सागको अर्बौंको बजेटमा एमालेका सदस्यसचिवलाई त्यसै खेल्ने देलान् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको हर्कतलाई हेर्दा पनि सोझै अड्कल र अनुमान लगाउन सकिन्छ ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुन्छ या हुँदैन भन्दा पनि अब सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिल्यै हुँदैन भन्दा उपयुक्त हुन्छ । यसर्थमा जबसम्म बहुमतको स्थिर सरकार नेपालमा हुँदैन तबसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुँदैन भन्दा अन्यथा नहोला । प्रधानमन्त्री एउटा दलको, खेलकुदमन्त्री अर्को दलको र राखेपको सदस्यसचिव अर्को दलको हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता प्रभावित बनेको कसैबाट छिपेको छैन । ती प्रतियोगिताप्रति राजनीतिक स्वार्थ एउटा पक्ष हो भने सबैभन्दा महत्वपूर्ण पक्ष आर्थिक हो । पैसा भनेपछि महादेवको पजि तीन नेत्र भनेजस्तै नेपालका नेताहरूको ¥याल चुहिनु त स्वाभाविकै हो । त्यसमा अर्बौंको बजेट तलदेखि माथिसम्म मिलेर झ्वाम पार्नुको स्वर्गीय आनन्द शेषनागले समेत वर्णन गर्न सक्तैनन् । यस्तो विकास र विस्तारभन्दा पनि कसरी आफ्नो स्वार्थसिद्ध गर्ने र आफ्ना नातागोताको भरणपोषण गर्ने मानसिकता भएकाहरूले आफ्नो अनुकूलताबाहेक अन्य समयमा १३औँ त के राष्ट्रिय प्रतियोगिता गर्ने देखिँदैन । तर, यसमा एउटा विकल्प छ भन्दा अतिसयोक्ति नहोला । त्यो के भने यदि राजनीतिक असमानता भएर पनि खानेकुरामा काले–काले एक भएको खण्डमा चाहिँ जे पनि हुन सक्छ । दक्षिण एसियाली त के एसियाली र ओलम्पिकको आयोजनाका लागि नेपालका नेताहरू झन्डा बोक्न पछि पर्दैनन् ।

यसरी अहिले दलीय स्वार्थको जाँतोमा नराम्रोसँग पिल्सिन पुगेको छ, १३औँ साग । यहाँ राष्ट्रको प्रतिष्ठालाई दलीय स्वार्थको ग्रहणले नराम्रोसँग प्रभावित पारेको छ । यो खग्रास ग्रहणले खेलकुदलाई कहिलेसम्म ढाक्ने हो त्यसको अत्तोपत्तो छैन । तसर्थ निरन्तर प्रशिक्षणमा रहेका र आफ्नो रगत–पसिना सुकाएका र बगाएका खेलाडी असमन्जस्यमा परेका छन् । उनीहरू यो कालो धब्बा खेलकुदबाट कहिले हट्ला त्यसको प्रतीक्षामा छन् । तर, राजनीतिले गाँजेको खेलकुदमा सजिलै त्यो कालो धब्बा हट्ने निश्चित छैन । परिणाम नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने कुनै सङ्केत देखिँदैन । यस्तो अवस्थामा नेपालले निश्चित समयमा त के १० वर्ष लगाएर १३औँ सागको आयोजना गरेको खण्डमा पनि उपलब्धिमूलक नै मान्नुपर्छ । किनकि यो सतिले सरापेको देश हो, राम्रो काम हुँदै हुन्न, भइहाल्यो भने पनि दशकौँ लाग्छ । खेलाडी र आमनेपालीले भोग्दै आएको यही तीतो सत्यलाई आत्मसात् गर्दा नै सबैको कल्याण हुनेछ ।