
विपद् र विपद् व्यवस्थापनपछिको अवस्थामा लैङ्गिक दृष्टिकोणबाट काम गर्न गठित महिला समूहले विपद्को अवस्था र विपद्पश्चात गरिएका महिलामैत्री तथा लैङ्गिक संवेदनशील कामसँग सम्बन्धित क्रियाकलापको अभिलेख तयार गरी आगामी दिनमा गरिने विपद् ब्यवस्थापन तथा पूर्वतयारीहरुलाई महिलामैत्री दृष्टिकोणबाट हेर्न माग गर्दै एक अडान पत्र तयार गरिएको जानकारी दिएको छ । बुधबार आयोजित प्रेस मिटमा सो समूहका तर्फबाट होम नेट साउथ एसियाका अध्यक्ष चाँदनी जोशीले महिला समूहले विपद् र विपद्पछिको अवस्थामा निर्वाह गरेको भूमिका एवम् विविध क्रियाकलापबारे उल्लेख गर्दै अडान पत्रमा उल्लेख गरिएका मुद्धाबारे जानकारी दिनुभयो । उक्त अडान पत्र यही नोभेम्वरको २८–३० सम्म महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजना गर्न लागिएको दक्षिण एसियाली क्षेत्रिय परामर्श कार्यक्रममा विभिन्न दक्षिण एसियाली देशका प्रतिनिधिसमक्ष प्रस्तुत गरिने बताइएको छ ।
महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु होम नेट साउथ एसिया, साथी, वियोण्ड बेइजिङ कमिटी, जागरण नेपाल, मिडिया एडभोकेसी ग्रुप (म्याग), दलित महिला संघ (फेडा), र एकल महिला समूह नेपाल नामका संस्थाहरु मिलेर विपद् र विपद्पछिको अवस्थामा लैङ्गिक दृष्टिकोणबाट काम गर्नका लागि महिला समूह गठन गरेका हुन् । समूहले विपद् व्यवस्थापन तथा पूर्वतयारीसँग सम्बन्धित विभिन्न नीति तथा कानूनहरुलाई लैङ्गिकमैत्री बनाउनका लागि “लवी डकुमेन्ट” समेत तयार गरेको छ । उक्त डकुमेन्टलाई सम्बन्धित निकायमा पेश गरी राज्यका विपद्सम्बन्धी नीति तथा कानुनहरुलाई लैङ्गिकमैत्री बनाउनका लागि पहल गरिने समूहले जनाएको छ ।
अकल्पनीय प्राकृतिक विपत्ति निम्तिएर मुलुक आपतकालीन अवस्थाबाट गुज्रिरहेको बेला महिलाको अवस्थालाई सम्बोधन गर्न विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ गत ०७२ वैशाख १७ गते गठन गरिएको सो महिला समूहले विपद्मा परेका वा पर्न सक्ने महिलाका लागि आगामी दिन अझ सशक्त रुपमा अघि बढ्न रणनीतिक योजना समेत तयार पारेको छ भने नोभेम्वरको अन्तिम साता आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रिय परामर्श कार्यक्रममा प्रस्तुत गर्न लागिएको माग पत्रमा मानवीय सहायताको क्रममा महिला सहभागिता र नेतृत्व, खाद्य सुरक्षा, आश्रय र दीगो जीविकोपार्जन, महिला तथा बालबालिकाविरुद्धको हिंसा निवारणसँग सम्बन्धित मागहरु समावेस गरिएको बुझिएको छ ।
यसबारे जानकारी दिन आयोजित कार्यक्रममा होम नेट साउथ एसियाका अध्यक्ष चाँदनी जोशी, म्यागका अध्यक्ष बबिता बस्नेत, वियोण्ड बेइजिङ कमिटीका सुशीला श्रेष्ठ, साथीका उमा शाह र एकल महिला समूह नेपालका निर्मला ढुंगानाले विपद्को बेला महिलाले भोग्नुपरेका पीडाबारे आफूहरुले देखे–भोगेका अनुभूतिहरु समेत सेयर गर्नुभएको थियो ।

प्रतिक्रिया