‘हिन्दूराज्य नेपाल’को आवश्यकता किन ?

‘हिन्दूराज्य नेपाल’को आवश्यकता किन ?


narayan-koirala

— नारायणप्रसाद कोइराला

समुन्नत राष्ट्र नेपालको परिकल्पना गर्दा देशको भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भेषभूषा, भाषाभाषी सम्पूर्णको अध्ययन र उनीहरूको संरक्षण गरी राजनीतिक आचरणमा सुधार ल्याएर मात्र सम्भव हुन्छ । विश्वका अन्य देशभन्दा नेपाल यी सबै कुरा र सम्पदामा अगाडि छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो, हिन्दूहरूको आरध्यदेव पशुपतिनाथ तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएको जल, जङ्गल, जडीबुटीको खानी, हिमालयको देश नेपाल, अब आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नुपर्छ । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ घोषणा गरी देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजाने भनी हाम्रा राजनीतिज्ञहरूबाट उद्घोष पनि भइसकेको छ । सबै राजनीतिक दलका कुरा सुन्दा लाग्दछ कि अबको केही वर्षपछि नेपाल विकसित राष्ट्रको सूचीमा पर्दछ र हामी समुन्नत राष्ट्र नेपालका नागरिक बन्नेछौँ । तर, राजनीतिक अचरण नभएका हाम्रा देशका नेताहरूको बोलीमा विश्वास गर्ने आधार भने अझै बनेको छैन जसले यस्ता प्रश्नहरू नेपालीहरूको सामु आइरहेको छ, के नेताको बोली साँच्चिकै व्यवहारमा परिणत होला त ? के नेपालका राजनीतिक दलहरू अब आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्लान् त ? भ्रष्टाचारमा कमी आउला त ? यी आदि प्रश्नहरू नेपाली जनताका मनमा खेलिरहेको छ ।

देश विकासको पहिलो आधार भनेको राजनीतिक चरित्र नै हो त्यसपछि यहाँका प्राकृतिक सम्पदा, मौलिक संस्कृति, भौतिक पूर्वाधार आदि । विश्वमा एक मात्र हिन्दूराज्य भनेर चिनिएको देश नेपाल आज राजनीतिक दलहरूको अदूरदृष्टिताका कारण धर्मनिरपेक्ष हुन पुगेको छ । ९० प्रतिशतभन्दा बढी सनातन धर्मको बाहुल्य रहेको देश अन्य सबै धर्मका लागि पनि सुरक्षित गन्तव्य हो, नेपालको धार्मिक सहिष्णुता विश्वको उदाहरणीय नै थियो र छ पनि । सबै धर्मको समान हक र अस्तित्व रहेको एक मात्र हिन्दूराष्ट्र नेपाललाई एकाएक कसको इसारामा बिनाएजेन्डा, जनताका सुझावको बाबजुद पनि रातारात धर्मनिरपेक्षता भनी घोषण गर्ने कार्य भो ? के नेपालका नेतामा यति पनि दूरदृष्टि छैन कि यसले देशलाई कता लैजान्छ भनेर ? के धर्मनिरपेक्ष मुलुक घोषणा गर्नु ठूलो क्रान्तिकारी कदम हो त ? के साँच्चै राष्ट्र विकास र समृद्धिका लागि हिन्दूधर्म बाधक थियो ? के सनातन धर्मले कहीँ कहिल्यै कसैको अहित गरेको थियो ? कि अन्य धर्मलाई बाधा पु¥याएको थियो ? बिनाअध्ययन जनताको सुझावलाई समेत बेवास्ता गरी घोषणा गरिएको धर्मनिरपेक्ष आखिर कहिलेसम्म ? धेरै ठूलो परिवर्तनसहित अति क्रान्तिकारी निर्णय गरेर ल्याइएको धर्मनिरपेक्षसहितको संविधान, घोषणा भएकै दिन तिनै राजनीतिक दलका कार्यकर्ताद्वारा जलाइन्छ, संविधानको विरुद्धमा बुलन्द आवाज उठ्छ र तिनै क्रान्तिकारी भनाउँदाहरूबाट संशोधन प्रस्ताव दर्ता हुन्छ । संविधान राम्रो त छ नै तर अपूरो पनि त रहेछ । जसले गर्दा संशोधन गर्न पर्ने अवस्था आएको छ । सनातनदेखि चलिआएको हिन्दू परम्पराअनुसार पूजापाठ गरेर मन्त्रालय प्रवेश गर्ने, रातदिन घरमा जप गर्ने, मठमन्दिरहरू धाउने हाम्रा मन्त्रीहरू म धर्म मान्दिनँ भन्नसमेत पछि परेका हुँदैनन् र छाती फुलाएर भन्दै हिँड्छन् हामीले क्रान्तिकारी परिवर्तन ग¥यौँ त्यो हो धर्मनिरपेक्ष राष्ट्र ।

आर्थिक क्रान्तिको कुरा त कता हो कता देशलाई आर्थिक भार थप्ने गरी आफ्नो सुरक्षा क्षेत्रलाई समावेश गरी राज्यहरू बढाउने खेलमा लागिपरिहेका हाम्रा नेताहरूलाई देश विकासबारे पनि क्रान्तिकारी निर्णय गर्न नेपाली जनताको सुझाव छ । नेपालमा हाल ८१.३ प्रतिशत हिन्दूहरूको बसोबास रहेको छ भने ॐकार परिवारभित्रका बुद्धधर्म ९ प्रतिशत, किराँत ३ प्रतिशत र अन्य ०.९ प्रतिशत रहेको देश आज १.४ प्रतिशत मात्र धर्मावलम्बी रहेका केही क्रिश्चियनका दलालहरूको पहलमा धर्मनिरपेक्ष हुन पुगेको छ । के यो सही मूल्याङ्कन हो ? नेपाल हिन्दूराष्ट्र नै हो र हुनु पनि पर्दछ । हिजो हिन्दूराष्ट्र हुँदा पनि नेपालमा सबै सँगै क्रिसमस मनाउँथ्यौँ, मुस्लिम धर्मको इदमा पनि खुसी साटासाट गर्दथ्यौँ र सरकारले सार्वजनिक बिदासमेत दिन्थ्यो भने त्यो सधैँभरि रहिरहन्छ यसैलाई सनातन धर्मको विशेषता भनौँ या धार्मिक सहिष्णुता । के १.५ प्रतिशत हिन्दू भएको देश बेलायतमा हिन्दूको महान् पर्व दशँै–तिहारमा सार्वजनिक बिदा हुन्छ ? कि १.८ प्रतिशत हिन्दू भएको पाकिस्तानमा ? त्यसैले अन्य धर्मका धार्मिक नेता वा गुरुहरूले पनि यो कुरा सोच्नुपर्दछ कि नेपाल हिन्दूराष्ट्र हुँदा नै अन्य सबै धर्मको रक्षा र सम्मान हुन्छ । हाम्रोे देशको पर्यटकीय क्षेत्रहरू जुन धार्मिक रूपमा पनि अति महत्वपूर्ण रहेको छ जस्तै, पाथिभारा मन्दिर, बुढा सुब्बा, बराहक्षेत्र, पशुपतिनाथ, स्वयम्भुनाथ, गोसाइँकुण्ड, मुक्तिक्षेत्र, खप्तडबाबा, लुम्बिनी यी आदि हजारौँ धार्मिक क्षेत्रहरू छन् जसलाई हामी सनातन धर्मसँग जोडेर पर्यटकीय क्षेत्रको रूपमा विकास गरी विश्वसामु प्रचारप्रसार गर्न सकेको अवस्थामा नेपाल पनि विश्व पर्यटनको महत्वपूर्ण हिस्सा हुन सक्दथ्यो र समृद्धिको बाटोमा अगाडि बढ्ने थियो । त्यति मात्र होइन, विश्वको सबै भाषाको पनि उद्भव भाषा संस्कृत शिक्षालाई विद्यालयस्तरबाट नै अनिवार्य गर्न सकेको अवस्थामा हाम्रा सन्ततीहरूले भाषाको सही ज्ञानलाई अङ्गाल्न सक्ने थिए, तर दुःखलाग्दो कुरा देशका भलाद्मी र भाषाविज्ञ भनाउँदा राष्ट्रघाती दलालहरू संस्कृत शिक्षालाई निमिट्यान्न पारेर अब नेपाली विषय र भाषालाई पनि आक्रमण सुरु गरेका छन् र नेपाली भाषा र नेपाली संस्कृतिलाई नै समाप्त पार्ने प्रयासमा लागिपरेका छन् अनि हाम्रो सरकारले उनीहरूलाई नै उत्कृष्ट शिक्षा पुरस्कारसमेत दिन पछि पर्दैन ।

यसबाट एउटा कुरा प्रस्ट के हुन्छ भने नेपाल सरकारकै रोहवरमा नेपालीको मौलिक संस्कृति, भेषभूषा, भाषा, कला संस्कृतिलाई पूर्ण रूपमा समाप्त पारी बिस्तारै देशलाई नै बन्धक बनाउने प्रयास भइनै रहेको छ । आफ्नो धर्म–संस्कारलाई बिक्री गर्न सक्ने हाम्रा नेताले भोलि देशलाई बाँकी राख्लान् र ? यसैअनुसार देश सञ्चालन हुने हो भने साँच्चै नेपाललाई सिक्किमजस्तै अन्य कुनै देशलाई बुझाउन बाँकी राख्दैनन् । यो सबबाट बचाउन पनि नेपाललाई सनातन हिन्दूराष्ट्रको रूपमा बचाइराख्नुपर्छ । विश्वको सबैभन्दा पुरानो सनातनदेखि चलिआएको प्राकृतिक धर्म नै सनातन हिन्दूधर्म हो भने विश्वको जनसङ्ख्याको आधारमा पनि तेस्रो ठूलो धर्म हो हिन्दूधर्म । यसका चार वेद र अठार पुराण नै सार जगत्को कल्पना हो र जगतको सिर्जना पनि हो । बेदले परिकल्पना गरेको सारलाई नै उपयोग गरेर विश्वका कैयौँ राष्ट्रहरू समृद्धिको बाटोमा अगाडि बढिरहेका छन् भने जहाँबाट वेदको सुरुवात भो हाम्रो देश नेपाल त्यही वेदलाई अपमान गरिरहेका छौँ अनि कसरी सभ्य हुन्छ समाज ? कसरी हुन्छ देश विकास ?

त्यसैले सबैभन्दा पहिला सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गरी सनातन धर्मभित्रका सत् ज्ञानलाई उपयोग गरी सभ्य र समुन्नत राष्ट्र नेपाल निर्माण गर्र्नतर्पm अग्रसर हुनुपर्छ । दक्षिण एसियामा मात्र हिन्दूहरू करिब ७० प्रतिशतभन्दा माथि रहेको अवस्था छ भने विश्वको कुल जनसङ्ख्याको १५ प्रतिशत हिन्दूधर्म मान्नेको जनसङ्ख्या छ, यो जनसङ्ख्याको मुख्य आस्थाको केन्द्र भनेकै विश्वको एक मात्र सनातन हिन्दूराष्ट्र नेपाल हो र उनीहरू कुनै न कुनै बहानामा नेपाल आउन उत्सुक रहेका पनि हुन्छन् जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने कुरा निश्चित छ जसले नेपाललाई छिटै गरिबीबाट मुक्त गर्न सहयोग पु¥याउँछ । त्यसैले आधुनिक नेपालको परिकल्पना गर्दा सनातन हिन्दूराष्ट्र नेपाल नै सबैभन्दा उत्कृष्ट हुनेछ । जय हिन्दूराष्ट्र नेपाल ।

hindi-rastra-nepal