प्रज्ञा भवनमा विहङ्गम गोष्ठी

प्रज्ञा भवनमा विहङ्गम गोष्ठी


संविधानबाट ‘धर्मनिरपेक्ष’ शब्द हटाएर सनातन हिन्दूराष्ट्र बनाउन नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्कालगायतले देशमा विशेष अभियान गर्ने भएका छन् । खड्काको नेतृत्वमा गठित ‘नेपाली काङ्गे्रस, सनातन हिन्दूराष्ट्र स्थापना महाभियान’ले मङ्सिर १५ गते बुधबार ‘विहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी’को आयोजना गरेको छ । राजधानीको प्रज्ञा भवनमा आयोजित गोष्ठीमा नेपाली काङ्गे्रसका नेता तथा कार्यकर्तासहित विभिन्न विधामा ख्यातिप्राप्त प्रतिष्ठित व्यक्तिहरूलाई समेत आमन्त्रण गरिएको आयोजकहरूले जनाएका छन् । काङ्गे्रस महामन्त्री डा. शशाङ्क कोइराला र नेता डा. शेखर कोइराला तथा डा. उपेन्द्र देवकोटा, डा. भोला रिजाल र डा. केबी रोकायालगायतलाई गोष्ठीमा निम्त्याइएको छ । गोष्ठीमा प्रबुद्ध व्यक्तिहरूबाट महत्वपूर्ण विचार–सुझाव प्रस्तुत हुने अपेक्षा आयोजक पक्षले गरेको छ ।

नेपाली काङ्गे्रसको नेतृत्वमाथि दबाब पैदा गर्दै देशमा हिन्दूराष्ट्रका पक्षमा वातावरण बनाउन काङ्गे्रस नेता खुमबहादुर खड्काको नेतृत्वमा डेढ वर्षअघि ‘हिन्दूराष्ट्र स्थापना महाअभियान’ नामक मञ्च गठन गरिएको थियो । संविधान घोषणा गरिनुअघि विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने महाअभियानले गत वर्ष संविधान घोषणा भएपछि पहिलोपटक विहङ्गम राष्ट्रिय गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा प्राप्त सुझावका आधारमा महाभियानले भावी कार्यक्रम तर्जुमा गर्ने र उक्त कार्यक्रम काङ्गे्रस नेतृत्वमाथि दबाब पैदा गर्ने तथा देशमा हिन्दूराष्ट्रका पक्षमा वातावरण बनाउन केन्द्रित रहने बताइएको छ ।
flex-banner