शर्म पचाएका किर्ना !

शर्म पचाएका किर्ना !


Suryendra 5

– सूर्यन्द्र

छुद्र वचन प्रयोग नगर्नु छुद्री नहुनु भनेर बडाबूढाहरूले अर्ती दिएका थिए । यो अर्ती पालन गर्ने हरसम्भव प्रयत्न गरियो । आफ्नो मूल्याङ्कनमा सफल नै भएको जस्तो लाग्छ के कसो भयो भन्ने कुरा त्यो वचनले पोलेकाले भन्ने कुरा हो । तर, यसपटक आफ्नै मूल्याङ्कनमा पनि छुद्र वचन गर्नबाट रोकिन सकिएन । जुकासरी नेपाली जनताको कमाइ चुसेर बिनाकाम बस्ने सांसद त सहिएको थियो, तर आफैंले आफ्नो कुस्त तलब–सुविधा बढाएर पनि ‘यतिले खानै पुग्दैन’ भनेको सुन्दा असह्य भएर निक्लने वचन हो– ‘लाज–घिन पचाएर हसुर्नेहरू !’

राजस्व जनताको रगतपसिनाको कमाइबाट बनेको हुन्छ । कुनै काम नै नगरी त्यसमा ¥याल चुहाउनेहरूको कमी त्यसै पनि छैन । संसद् विकाष कोष भनेर आफ्ना बाजेबराजुले राखिदिएको गुठी हुकुम प्रमाङ्गी गरेभैmँ गरेर बाँड्न पाउने खजाना राखिदिएको छ । जनताको पैसा दुरुपयोग गरेर आफ्नो राजनीतिक प्रभाव बढाउन पाउने यसलाई हसुर्ने संज्ञा दिएको छैन । तर, पक्कै पनि यो ज्युनार गर्ने या खाने श्रेणीमा पर्दैन । त्यसपछि अनेक शीर्षकमा गरेर कैयौँ खर्च मात्र होइन, टाउको साह्रो र पेट गिलो भो भन्ने बहानामा सिंगापुर इलाज गर्न जाने खर्च पनि दिएको छ । त्यसमाथि जीवनभर पाल्नुपर्ने बोझ पनि नेपाली जनताले बोकेको नै छ ।

तर, यसबापत के काम गरेको छ ? सुन्दै अचम्म लाग्छ । संसद् खाली हुन्छ, विदेशी संस्थाको भत्ता पाइने कार्यक्रममा सहभागिता जनाउन । बसेकाहरू पनि संसद्को कुर्सी आफ्नो निद्रा पूरा गर्न प्रयोग गर्छन् । बल्लबल्ल छलफलमा भाग लिए भने पनि त्यो जनचासोको विषय हुँदैन । पाएको समयको तीनचौथाइ समय आफ्ना नेताको आदरणीय, पुज्य, दूरदर्शी भनेर स्तुति गाउन नै प्रयोग हुन्छ । यस्तालाई महिनाको झन्डै डेढ लाख तलबले खान पुग्दैन अरे । यही हो हसुरेको भनेको ।

उनीहरूले हसुर्ने यो राजस्व कसरी आउँछ भन्ने सबैलाई थाहा छ तैपनि वास्ता गर्न चाहान्नन् । यसो त्यो हसुराइमा झरेपडेको वा रहलपहल चाट्न पाइन्छ कि भन्ने मात्र होइन, कतै नियुक्तिमा हुने संसदीय सुनुवाइमा सांसदको दयादृष्टि पुगेन भने अड्चन आउँछ भनेर निर्भीक हुनुपर्ने बुद्धिजीवीहरू चुप बस्छन् । कृपादृष्टिका आकाङ्क्षी सञ्चारकर्मीहरू देखेको नदेखेकै गर्छन् । जनता मेरो मात्र जाने हो र भनेर चुप बस्ने मात्र होइन, सम्भव भए त्यसबाट अलिकति भए पनि आफू पनि तान्ने कोसिस गर्छ । यो सबै भ्रष्टाचार नै हो या नि भ्रष्ट आचार घुसखोरी मात्र भ्रष्टाचार होइन ।

एकछाक खानामा पनि कम से कम तेह्र प्रतिशत रकम सबै नेपालीले तिरेर राजस्व जम्मा हुन्छ । यो त मूल्य अभिवृद्धि करको रूपमा तिरेको रकम मात्र भयो । अन्तःशुल्क, भन्सार, सेवाकर आदिको रूपमा तिरेको रकम त जोड्नै बाँकी छ । शिक्षा मौलिक हक भन्छ संविधान, तर त्यही शिक्षा लिएबापत जनता शिक्षाकर बुझाउँछ । स्वास्थ्य आधारभूत अधिकार भन्छ संविधान तर घिटघिट भएको बिमारीले आफूलाई प्रयोग गर्न आफन्तले दिएको रगतमा पनि कर बुझाउँछ । आफ्नो इलाजमा खर्च गरेको हरेक पैसापैसामा कर बुझाउँछ ।

यसरी जम्मा गरेको राजस्वमा जनताको निमित्त एक चुनदाम पनि खर्च गर्नुपर्दा दाँतबाट पसिना निकाल्छन् । तर, ‘आफ्नो हात जगन्नाथ’ गरेर खाएको घिचेको हो कि हसुरेको हो । नेपालीले यस्ता जुका कहिलेसम्म पाल्नुपर्ने हो आफ्नो दबाई खर्चबाट पनि रकम व्यहोरेर । तैपनि कुनै असर छैन यी लाज–घिन पचाएर हसुर्नेहरूलाई । नचहँदा–नचाहँदै पनि छुद्र वचन प्रयोग गर्न बाध्य नबनाओ न हौ किर्नाहरू हो !