मन्त्री जागेपछि आक्रामक तयारीमा प्राधिकरण

मन्त्री जागेपछि आक्रामक तयारीमा प्राधिकरण


images

काठमाडौं उपत्यका विकास प्राधिकरणले पटक–पटक सूचना जारी गर्दा पनि टुक्रे जमिन लिएर अनधिकृत प्लटिङ गर्दै सहरको सुन्दरतामाथि धावा बोल्नेहरूको बिगबिगी बढेपछि सहरी विकास मन्त्रालयले यस्तो प्रवृत्तिलाई निरुत्साहित तुल्याउने तदारुकता देखाएको छ । विशेषगरी राजधानी उपत्यकाको सुन्दरता जोगाउन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले तदारुकता देखाउनुभएको बुझिन्छ ।

सम्बद्ध मन्त्रालय स्रोतका अनुसार अनधिकृत तवरले जग्गा खण्डीकरण गरी कुरूप पार्ने, सरकारी स्वामित्वमा रहेका जमिन मास्ने÷बिगार्ने, खहरे–कुलो आदिलाई बाटोको रूपमा प्रयोग गरी दुरुपयोग गर्ने समूहहरूको सक्रियता पछिल्लो चरणमा ह्वात्तै बढेको पाइएको छ । खासगरी भक्तपुर एरिया, काठमाडौंको मूलपानीलगायत क्षेत्रमा यस्ता अनधिकृत क्रियाकलाप बढेका छन् । यस्तो क्रियाकलापलाई बेलैमा रोक्न नसके सहरीकरणको महान् उद्देश्यमा ठूलो धक्का पुग्ने ठहरका साथ सहरी विकास मन्त्रालय कारबाहीमा उत्रन लागेको हो । यसका लागि मन्त्री केसीले मातहतका निकायमा आवश्यक निर्देशन दिनुभएको र उपत्यका विकास प्राधिकरण पनि आक्रामक कारबाहीको तयारीमा रहेको सूत्र बताउँछ ।

उपत्यकाभित्र जग्गा प्लटिङ गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वीकृति अनिवार्य गरिएको छ । प्लटिङ गर्न चाहने कम्पनी विधिवत् दर्ता भई त्यसले आफूले गर्न लागेको कामको ठोस योजना नक्सासहित प्राधिकरणसमक्ष पेस गर्नुपर्छ । मापदण्डअनुसारको ढल, पानी, बिजुली आदि पूर्वाधारको व्यवस्था गरिएको सुनिश्चित भएपछि मात्र प्राधिकरणले स्वीकृति प्रदान गर्छ । तर, राजधानीमा हालसम्म करिब पाँच दर्जन कम्पनीले मात्रै अनुमति लिएर जग्गा कारोबार गरेका छन् । अनधिकृत तथा व्यक्तिगत तवरले जग्गा प्लटिङ गरी कारोबार गर्नेको सङ्ख्या अनगिन्ती छ । समूह बनाएर बैंकमार्फत या व्यक्तिगत तवरले केही रकम लगानी गर्ने र जथाभावी जग्गा टुक्र्याएर बेच्दै लाभ उठाउन खोज्ने यस्ता समूहको बिगबिगी बढेकाले काठमाडौं उपत्यकाको सौन्दर्यमा ह्रास आएको छ । साथै, अव्यवस्थित बसोबासका कारण सरकारमाथि अनेक चुनौतीसमेत थपिन पुगेको बुझिन्छ । जथाभावी जग्गा खण्डीकरण हुँदा मुलुकभर नै अव्यवस्थित सहरीकरण वृद्धिका साथै उत्पादनमा समेत ह्रास आइरहेको विज्ञहरू बताउँछन् । प्राधिकरणले जारी गरेको नियम उल्लङ्घन गर्ने टुक्रे व्यवसायीको ज्यादती बढेपछि आर्थिक जरिवाना लगाउनेसहितको कडा कारबाही गर्न प्राधिकरण सक्रिय भएको बताइन्छ ।

अव्यवस्थित रूपमा भइरहेको जग्गा प्लटिङ रोक्न कारबाही सुरु गरिएको प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले जानकारी दिनुभयो । जथाभावी जग्गा प्लटिङ हुँदा राजधानीमा अव्यवस्थित सहरीकरण र भूखण्डीकरण बढेको आयुक्त तिवारीको स्वीकारोक्ति छ । उहाँका अनुसार आफूखुसी जग्गा प्लटिङ गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न प्राधिकरणले काम अघि बढाइसकेको छ । स्वीकृति नलिई जग्गा प्लटिङ गर्नेहरूको अब सम्पति रोक्का गर्न सकिनेसमेतको व्यवस्था गरिँदै छ । पहिले नै आफूखुसी जग्गा प्लटिङ गरिएको स्थानमा समेत पाँच प्रतिशत जग्गा खाली राख्नुपर्ने प्रावधान लागू गरिएको छ । यसअघि तीन प्रतिशत मात्र जग्गा खाली राख्नुपर्ने व्यवस्था थियो ।

ज्ञातव्य छ, अर्जुननरसिंह केसीले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पब्लिक पार्टनरसीपमा सहरीकरण प्रक्रिया अघि बढाउने नीति अख्तियार गर्नुभएको छ । राजधानीका सडक विस्तार कार्यमा दर्शाएको खुबीका कारण ख्याति कमाएका प्राधिकरणका आयुक्त तिवारीले जमिन टुक्र्याएर काठमाडौंको सौन्दर्यमाथि धावा बोल्नेहरूलाई पनि उचित ठेगान लगाउनेमा राजधानीवासीहरू विश्वस्त रहेका छन् । अर्को एक समाचारअनुसार बागमतीलगायत विभिन्न नदी–किनाराका सार्वजनिक जमिन कब्जा गरी बस्ने सुकुम्बासीहरूलाई केही दिनभित्रै हटाउन पनि मन्त्री अर्जुननरसिंह केसीले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
ploting-ktm