भ्रमणबाट फर्किएपछि पूर्व श्री ५ मौन : प्रचण्डमा छटपटी, आमजनतामा जिज्ञाशा

भ्रमणबाट फर्किएपछि पूर्व श्री ५ मौन : प्रचण्डमा छटपटी, आमजनतामा जिज्ञाशा


gyanendra-shah-073

सुटुक्क चीनको भ्रमण गरेर फर्किनुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले आफ्नो भ्रमणबारे मौनता कायम राख्नुभएको छ । गत कात्तिकको अन्तिम साता ‘निर्णायक छलफल गर्ने’ सोचका साथ सिङ्गापुर जानुभएका उहाँ सिङ्गापुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष प्रतिनिधिसँग छलफल गरी त्यतैबाट बेइजिङतर्फ जानुभएको थियो । चीनमा रहँदा पूर्व श्री ५ ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विशेष भेटवार्ता गर्नुभएको बताइएको छ । राष्ट्रपति सीका अतिरिक्त उहाँले चिनियाँ सेनाका प्रमुख र अन्य उच्च अधिकारीहरूसँग पनि छलफल गर्नुभएको थियो । उच्च तहका भेटवार्तामा उहाँले आफूसँग कसैलाई पनि साथमा नराख्नुभएको सम्बद्ध सूत्रहरूले जनाएका छन् । ज्ञातव्य छ, पूर्व श्री ५ को साथमा पूर्वयुवराज्ञी हिमानी र स्वकीय सचिव सागर तिमिल्सिना पनि बेइजिङ जानुभएको थियो । तर, उहाँहरू सिङ्गापुर र बेइजिङमा के–कस्ता कुराकानी भयो भन्नेबारे पूरै अनभिज्ञ रहनुभएको बताइन्छ । पूर्व श्री ५ ले बेइजिङ र सिङ्गापुरमा भएका विशेष भेटवार्ताबारे कसैलाई कुनै कुरा नबताउनुभएपछि उहाँको मुखमुद्रा हेरेर भ्रमणबारे अनुमान गर्नेहरूले पनि कुनै अन्दाज गर्न सकेका छैनन् । मौसुफको मुहार हँसिलो छ, तर यत्तिकै आधारमा भ्रमणमा के भयो भनी अनुमान गर्न सकिने अवस्था नरहेको निकटवर्तीहरूको भनाइ छ ।

बेइजिङबाट फर्किनुभएपछि पूर्व श्री ५ गत सोमबार राति सोल्टी होटेलमा आयोजित विशेष समारोहमा सहभागी हुन पुग्नुभयो । सोल्टी होटेल स्थापनाको पचास वर्ष पुगेको अवसरमा प्रभाकरशमशेरद्वारा होटेलका पूर्व तथा वर्तमान डाइरेक्टरहरूलाई रात्रिभोज दिइएको थियो । सन् १९६६ मा स्थापित सोल्टी होटेलको स्वर्ण दिवसका अवसरमा आयोजित रात्रिभोजमा पूर्व श्री ५ लाई पनि होटेलको पूर्वअध्यक्षका रूपमा आमन्त्रण गरिएको थियो । होटेल सोल्टी प्रा.लि. मा रूपान्तरित हुनुअघि सञ्चालक समितिको अध्यक्ष भएर उहाँले काम गर्नुभएको थियो । कुल एकाउन्नजनाको सहभागिता रहेको सो भोजमा अधिकांश व्यक्ति सपत्नी उपस्थित थिए । भोजमा सहभागी हुन पूर्व श्री ५ राति पौने आठ बजेतिर पुग्नुभएको र रातको साढे दश बजेसम्म भोज चलेको थियो । त्यस अवसरमा उहाँले सात मिनेटको सङ्क्षिप्त मन्तव्य प्रकट गर्नुभएको थियो । सोल्टी होटेल खोल्नुको मूल उद्देश्य देशमा पर्यटन प्रवद्र्धन गनु रहेको बताउँदै स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुहुने अङ्कल र अन्टी (वसुन्धरा र प्रिन्सेस) को उहाँले विशेष रूपमा स्मरण गर्नुभएको थियो । उहाँले नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना रहेको बताउँदै गुणस्तरीय पर्यटन विकास गर्नुपर्ने धारणा प्रकट गर्नुभएको थियो । होटेल नाफामा नजाउन्जेल यसमा पब्लिकलाई सामेल नगरी आफूहरूले नै चलाएको र नाफा हुन थालेपछि मात्र पब्लिकलाई सेयर दिइएको बताउँदै उहाँले भन्नुभएको थियो, ‘सोल्टी होटेलको व्यवस्थापन राम्रो छ र यसका सबै क्रियाकलाप पारदर्शी छन् ।’

पूर्व श्री ५ बाट यसरी सम्बोधन हुँदा सहभागीहरू भावुक बनेका थिए । उनीहरूले बेइजिङ भ्रमणको उपलब्धिबारे पनि कुनै सङ्केत मिल्ने आशा गरेका भए पनि उहाँले त्यस सम्बन्धमा केही बोल्नुभएन । यतिबेला पूर्व श्री ५ को सिङ्गापुर र बेइजिङ भ्रमणमा के भयो भन्ने जिज्ञाशा सर्वत्र उत्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड उहाँको भ्रमणबाट ज्यादा सशङ्कित हुनुभएको छ र निकटवर्तीहरूसँगको भेटमा प्रचण्डले ‘उपलब्धि गुम्ने खतरा रहेको’ भन्दै चिन्ता प्रकट गर्न थाल्नुभएको छ । प्रचण्डमा पैदा भएको छटपटी देखेर देख्नेहरूले ‘पूर्वराजाले सिङ्गापुर र बेइजिङको भ्रमणमा गर्दैमा गुम्न सक्ने उपलब्धि हासिल गरिएछ’ भनी व्यङ्ग्यात्मक टिप्पणी गर्न थालेका छन् । पूर्व श्री ५ गत आइतबार सिङ्गापुर हुँदै बेइजिङबाट स्वदेश फर्कनुभएको हो ।