
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की अधिकारसम्पन्न हुँदाका बखत आफूलाई ‘आयुक्त’कै रूपमा प्रस्तुत गरी अख्तियारमा हैकम चलाएका कार्कीका प्रेस सल्लाहकार भवानी सुवेदीको ‘हाइफाइ’ अहिले पनि उस्तै रहेको अख्तियारका कर्मचारीहरू बताउँछन् । सम्बद्ध सुत्रका अनुसार सुवेदीको व्यवहारमा फरकचाहिँ के देखिएको छ भने हिजो उनी ‘प्रमुख आयुक्त कार्की मेरा इशारामा चल्छन्’ भन्थे भने कार्की निलम्बनमा परेपछि बाँकी आयुक्तको पनि प्रेस सल्लाहकार मै हुँ भन्दै उनले लोकमानका पालामा भएका निर्णयका गोप्य फाइलहरू गुप्त ढङ्गले बाहिर ल्याउने, पत्रपत्रिकामा प्रकाशन गराउने र सर्वोच्चको मुद्धामा कार्कीको विरुद्धमा सहयोग पुग्नेगरी फाइलका फोटोकपी मिडिया तथा सम्बन्धित मानिसहरूकहाँ सम्प्रेषण गर्ने गरेका छन् । कार्कीविरुद्ध भए–नभएका कागजात सार्वजनिक गराएर उनका विरोधिलाई मसला प्रदान गर्ने र अदालतबाट जसरी हराउने खेलमा सुवेदी सक्रिय रहेको उनकै मित्र–मण्डलीको बुझाई छ । अख्तियारबाट गोप्य फाइलका फोटोकपी हात पार्न उनले कार्यालयका निकटतम् कर्मचारीहरूलाई नै धम्क्याउने गरेको समेत बताइन्छ ।
ज्ञातव्य छ, अख्तियारभित्रका कुनै पनि गोप्य सूचना वा निर्णयहरू आधिकारिक व्यक्तिले मात्र पत्रपत्रिकामा दिने भनी वर्तमान कार्यवाहक प्रमुख दीप बस्नेतले अख्तियारका सबै कर्मचारीसमक्ष सुनाएको निर्णय लत्याउँदै गोप्य कागजात बाहिर निकाल्ने काम भवानी र उनका कम्प्युटर सहयोगी राधा श्रेष्ठले गरिरहेका छन् । हालका आयुक्तहरूको नजिक हुनका निम्ति उनीहरूले यस्तो व्यवहार गरेको चर्चा अख्तियारका कर्मचारीबीच चल्ने गरेको छ । कुनै दिन लोकमानका अति निकट मानिने सुवेदी अहिले लोकमानको खुल्लमखुल्ला विरोधमा उत्रिएको सन्दर्भले डुब्न लागेको जहाजलाई मुसाले पनि साथ छोड्ने उखान मात्र स्मरण गराएको नभई अख्तियारका बहालवाला आयुक्तहरू वा उच्चपदस्थ कर्मचारीहरू समेत सुवेदी–प्रवृत्तिप्रति सचेत रहनुपर्ने देखिएको छ ।
प्रतिक्रिया