फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेताहरू नयाँ शक्तिमा

फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेताहरू नयाँ शक्तिमा


kapilbastu-party-prabes-2

पूर्वमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरी आफ्ना कार्यकर्तासहित बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा चौधरीको नेतृत्वमा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यहरू शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्जबिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरीशंकर चौधरी, जिल्लासचिव काशीराम यादवलगायत हजार स्थानीय नेता तथा कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।

नयाँ शक्ति प्रवेश गर्नेहरूले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यतिबेला मुलुकमा देखिएको राजनीतिक अस्तव्यस्ततालाई पार लगाउँदै जनताका जल्दाबल्दा समस्याको सम्बोधन गरी मुलुकको आर्थिक विकास र समृद्धिमा पहल गर्न नयाँ शक्ति पार्टीले बोकेको विचार, दृष्टिकोण र कार्यक्रममा आफूहरु समाहित हुन लागेको जनाएका छन् । विज्ञप्तीमा उल्लेख छ, ‘इतिहासले सुम्पेको यो युगीन कार्यभारलाई पूरा गर्नका निम्ति नयाँ सकारात्मक सोंच, नैतिकवान नेता तथा कार्यकर्ता, अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन आर्थिक समृद्धिको विस्तृत योजनासहितको वैकल्पिक राजनीतिक शक्तिको निर्माण र विकास गर्दै सचेत प्रकारले अगाडि बढ्न डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश भई आगामी दिनमा अझ सक्रिय भूमिका, राष्ट्रिय संकल्प र परिवर्तनप्रतिको आशावादबिना नयाँ नेपाल निर्माणको नेपाली जनताको सपना पूरा नहुने भएको ठहर गर्दै आजैका मितिदेखि लागू हुने गरी नयाँ शक्ति पार्टी नेपालमा हामी प्रवेश गरेको घोषणा गर्दछौँ ।’

फोरम उपाध्यक्ष दानबहादुर चौधरी पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री र केन्द्रीय सदस्य मुहम्मद वकिल मुसलमान पूर्व वनमन्त्री हुन् । त्यसैगरी अन्य व्यत्तिहरू केन्द्रीय सदस्य तथा नवलपरासी, कपिलवस्तु तथा रुपन्देही जिल्लाका विभिन्न तहमा क्रियाशील स्थानीय नेता रहेका बताइएको छ ।

आफ्नो पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको चुनावमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेर मुलुकको आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने दाबी गरे । नवप्रवेशी चौधरीले मुलुकको राष्ट्रिय एकता बलियो पार्दै देशलाई विकास र समृद्धिको दिशामा लैजान डा. भट्टराई मात्र दूरगामी भिजन भएको सर्वस्वीकार्य व्यक्तित्व रहेको जनाउँदै अब नयाँ शक्ति प्रवेशमा देशव्यापी लहर चल्ने दाबी गरे ।

kapilbastu-party-prabes-1