आइस हक्कीको साधारणसभा

आइस हक्कीको साधारणसभा


नेपाल आइस हक्की सङ्घले दोस्रो बवार्षिक साधारणसभा सम्पन्न गरेको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवम् ओलम्पियन सुरेन्द्र हमालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनलाई सुझावका साथ पास गरेको छ । प्रतिवेदनमा नेपाल आइस हक्की सङ्घले एक वर्ष पहिले भएको निर्वाचनपश्चात् भए–गरेका गतिविधिलाई समेट्दै आगामी दिनमा गर्नुपर्ने कार्यको योजना प्रस्तुत गरेको थियो । हालसम्म सङ्घले नेपालमा आइस हक्की खेलको सम्भावनाको अध्ययन, आइस रिंक स्थापनका लागि प्रारम्भिक चरणको अध्ययन र उक्त रिंक स्थापनाका लागि सङ्घको विशेष निमन्त्रणामा अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घका कोषाध्यक्ष तथा फ्रान्स आइस हक्की सङ्घका अध्यक्ष लुक टार्फिकलाई नेपाल बोलाई आइस हक्की रिंक स्थापनाका लागि विभिन्न स्थानको भ्रमण गराइएको र त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग पहल भइरहेको जनाइएको छ ।

यस्तै आगामी दिनमा सङ्घले गर्नुपर्ने कार्ययोजनामा जुनियर खेलाडीलाई आइस हक्कीको प्रारम्भिक प्रशिक्षण दिन तथा केही खेलको अवलोकनका लागि मित्रराष्ट्र फ्रान्सको आइस हक्की सङ्घको पहलमा २०१७ मेमा भ्रमण गराउने, पोखरा स्पोर्टस् कम्प्लेक्समा आइस रिंक स्थापनाका लागि नक्सा तयार गर्ने, प्राविधिक जनशक्ति निर्माणका लागि २०१७ जुलाईमा फिनल्यान्डमा एक टोली पठाउने, अन्तर्राष्ट्रिय फोरममा सहभागी हुनुका साथै आर्थिक तथा प्राविधिक सहयोग जुटाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा निजी क्षेत्रलाई आइस हक्की रिंक निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने, खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने कार्यक्रमलाई प्रतिवेदनमा समावेश गरिएको छ । साधारणसभामा केन्द्रीय पदाधिकारीका साथै विभिन्न जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।