ननितालाई ऐतिहासिक सफलता

ननितालाई ऐतिहासिक सफलता


4-1

नेपालकी ननिता महर्जनले आठौँ डब्लूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टिमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटेलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् । ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पा“चौँ स्थानमा रहे । पाँ“चैजनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पा“चैले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए ।

नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोस्रो नेपाली महिला खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौँ संस्करण तथा भुटानको थिम्पुमा भएको ५०औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

कीर्तिपुर नया“ बजारनिवासी ३१ वर्षीया ननिताले तीनवर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलोपटक सहभागिता जनाउँदै उपाधि जितेकी थिइन् । तीन पुरुषसहित चार नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन् । क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन् ।

‘राष्ट्रका लागि पदक जित्न सफल भएकोमा खुसी छु । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले कन्फिडेन्ट भएर खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए,’ ननिताले भनिन्, ‘प्रिजजिङ सकिएपछि दोस्रो वा तेस्रो हुन्छु भन्ने लागेको थियो । र, नतिजा पनि त्यहीअनुसार आयो ।’ ननितले शारीरिक सुगठनमा लाग्न विशेष गरी पति रुडन बज्राचार्यले प्रेरित गरेको र यसमा परिवारका अन्य सदस्यको समेत सहयोग रहेको बताउँदै महिलाले पनि उचित अवसर पाए राष्ट्रका लागि योदान दिन सक्ने बताइन् । ननिताका पति बज्राचार्यले पहिले उपचारका लागि शारीरिक व्यायाम गर्न लगाएको र पछि ननिताले फ्टिनेसमा राम्रो गर्न सक्छिन् भन्ने लागेर शारीरिक सुगठनमा लगाएको बताए ।

‘ननितालाई ब्याक पेन हुने र टाउको दुख्ने समस्या थियो । त्यसैको उपचार गर्न मैले डिभाइन फिजिक फिट्नेसमा व्यायाम गराउन थालेँ,’ उनले भने । ‘डिभाइनमा रुजेश दाइ (सातौँ विश्व शारीरिक सुगठनका रजत विजेता रुजेश शाही) ननिताको व्यायामबाट प्रभावित भएर काठमाडौंमा प्रतियोगिता हुँदै छ ननितालाई पनि भाग लिन लगाउने हो कि भनेर भन्नुभयो । मैले पनि त्यसमा सहमति जनाएँ र प्रतियोगितामा पनि भाग लिएँ र उपाधि पनि जितेँ,’ ननिताले भनिन् ।

थाइल्यान्डमै रहेका नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नया“ अध्याय थपिएको बताउँदै ननिताको सफलताले नेपाली शारीरिक सुगठन मात्र नभई सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए । अध्यक्ष श्रेष्ठले २०१७ को अक्टोबरमा मंगोलियामा हुने नवौँ विश्व च्याम्पियनसिप तथा सोही वर्षको अगस्टमा दक्षिण कोरियामा हुने ५१औँ एसियाली च्याम्पियनसिपमा सहभागी गराउन ननितालाई विशेष तयारी गराउने बताए । प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले सोचेभन्दा राम्रो नतिजा आएको बताउँदै प्रशिक्षणमा अझ बढी ध्यान दिएमा ननितामा योभन्दा राम्रो नतिजा ल्याउने खुबी रहेको धारणा व्यक्त गरे ।

प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथिमा अनिललाल श्रेष्ठ, स्पोर्टस् फिजिक र फिट्नेस फिजिकमा विमललाल श्रेष्ठ तथा स्पोर्टस् फिजिकमा विनोद बज्राचार्यले पुरुषतर्फ नेपालको चुनौती प्रस्तुत गरेका थिए । तीनैजना पदकविहीन बने । वर्षेनी हुने विश्व शारीरिक सुगठनमा यसअघि तीन नेपाली पुरुष खेलाडीले विभिन्न स्पर्धााम पदक जितिसकेका छन् । दोस्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा छैटौँ संस्करणको स्पोर्टस् फिजिकमा विमललाल श्रेष्ठ (यसै प्रतियोगितामा सहभागी) र सातौँको शारीरिक सुगठनकै ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए ।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् महासङ्घ (डब्लूबीपीएफ) को तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् सङ्घद्वारा आयोजित प्रतियोगितामा ४९ राष्ट्रका ४ सय भन्दा बढी खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा डब्लूबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय नेपालका पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले पनि विभिन्न स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेल सञ्चालन गरेका थिए ।

1-6