तरुणहरूको समानान्तर भेला : सभापति देउवालाई अर्को चुनौती

तरुणहरूको समानान्तर भेला : सभापति देउवालाई अर्को चुनौती


tarun-dal

नेपाली काङ्ग्रेसको नेतृत्वले विधि र प्रक्रिया मिचेर तरुण दलको नेतृत्व चयन गरेकोप्रति असन्तुष्ट तरुण नेताहरूले काठमाडौंमा एक विशेष भेलाको आयोजना गरेका छन् । ‘बृहत् तरुण भेला’ नाम दिएर मङ्सिर २२ गते प्रज्ञा भवनमा आयोजित भेलामा प्रमुख वक्ताको रूपमा तरुण नेतासमेत रहिसकेका काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको सहभागिता रहने बताइएको छ । पूर्व तथा वर्तमान तरुण नेताहरू विनोद कायस्थ, पुष्प पराजुली, मोतीलाल श्रेष्ठ, क्यु प्रसाद बस्याल, मेदिनीप्रसाद सिटौला, लक्ष्मी खतिवडा, टेकराज पौडेल, सविता सिलवाल, नारायण भट्टराई, दामोदर कोइराला, खिमानसिंह रायमाझी, प्रताप गुर्धामी, हरि आचार्य र रघुरमण न्यौपानेलगायतको अग्रसरतामा आयोजित भेलाले तरुण दलको भविष्यबारे गम्भीर छलफल तथा बहस गर्ने आयोजकहरूले जनाएका छन् ।

गत कात्तिक २७ गते पोखरामा तरुण दलको महाधिवेशन बन्दसत्र सुरु भएको दोस्रो दिन (कात्तिक २९ गते) पार्टी सभापति शेरबहादुर देउवाको हस्तक्षेपपछि रोकिएको र विधान एवम् प्रक्रिया नै पूरा नगरी तरुण दलको सभापति र महासचिवलगायतको पदपूर्ति गरेको दाबी भेलाका आयोजकहरूको छ । नेविसङ्घको राजनीतिमा सक्रिय रहेका, तरुण दलको पूर्णकालीन सदस्यता नलिएका, महाधिवेशन प्रतिनिधि र पार्षद्को रूपमा सहभागी नभएका जितजंग बस्नेत र भूपेन्द्रजंग शाहीलाई स्वस्थानी कथामा नवराजलाई राजा बनाएझैँ विधि र प्रक्रियासमेत पूरा नगरी अध्यक्ष र महासचिव बनाएको भन्ने दाबी भेलाका आयोजकहरूको छ । महाधिवेशन तयारी समितिका संयोजक उदयशमशेर राणाले मनोनीत गर्नुपर्ने दशजना महाधिवेशन प्रतिनिधि र दश पार्षद् नियुक्त नगरिएको र केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गर्ने प्रक्रियासमेत पूरा नगरी अध्यक्ष र महासचिव तोकिएको पनि असन्तुष्ट तरुण नेताहरूको भनाइ छ । भेलामा देशको अधिकांश जिल्लाका तरुण नेता तथा कार्यकर्ताहरूलाई आमन्त्रण गरिएको छ । भेलाका सहभागीहरूबाट प्राप्त सुझावका आधारमा तरुण नेताहरूले भावी कार्ययोजना बनाउने बताइएको छ ।

यस भेलालाई समानान्तर तरुण दल सञ्चालनको अभ्यासका रूपमा पनि लिइएको छ । पार्टी सभापति देउवाले भेलाका आयोजकहरूलाई अनुशासनको कारबाही गर्ने सोच बनाउनुभएको बुझिन्छ । त्यसरी कारबाही गरिएमा तरुण दलको नेतृत्व चयनको वैधता माथि समेत प्रश्न उठाउँदै असन्तुष्ट पक्ष न्यायालय पुग्ने तयारीमा रहेको सम्बद्ध सूत्रले जनाएको छ ।