आफ्नै पार्टीका नेतालाई समेत झुक्याउँछन् प्रचण्ड

आफ्नै पार्टीका नेतालाई समेत झुक्याउँछन् प्रचण्ड


prachanda-narayankaji

संविधान संशोधनको प्रस्ताव तयार भइसकेपछि उक्त प्रस्तावमा मधेसी मोर्चाका नेताहरूको समर्थन हुने–नहुने यकिन नभए पनि प्रधानमन्त्री प्रचण्ड भने मोर्चाका नेताहरूको समर्थन हुन्छ भन्नेमा ढुक्क थिए । विमलेन्द्र निधिसँग मिलेर तयार गरिएको प्रस्तावमा मेधसी मोर्चाको असहमति रहने प्रचण्डले ठानेनन् र आफ्नै पार्टीका नेताहरूसँग उनले भनेका थिए, ‘हामीले तयार गरेको प्रस्तावमा मधेसी मोर्चाका नेताहरूको सहमति आइसकेको छ ।’ माओवादी पार्टीभित्र केही नेताहरू ‘संशोधन प्रस्ताव दर्ता गर्नुअघि मधेसी मोर्चाबाट प्रस्ताव दर्ता भएपछि निर्वाचनमा सहभागी बन्छौँ भन्ने लिखित प्रतिबद्धता आउनुपर्छ’ भन्दै थिए । खासगरी नेता नारायणकाजी श्रेष्ठले त्यसप्रकारको धारणा प्रकट गरेको बताइन्छ ।

त्यसरी श्रेष्ठले दर्ताका लागि पनि सर्त राख्नुपर्ने बताएपछि प्रचण्ड केही दिन त हच्किएका पनि हुन्, तर पछि केही शक्तिकेन्द्रहरूको ‘फिडब्याक’ पाएपछि प्रचण्ड निकै सुरिए र आफ्नै पार्टीका नेताहरूसँग भन्न थाले, ‘मैले मधेसी मोर्चाका नेताहरूलाई मनाइसकेको छु, उनीहरूले मानिसकेका छन्, त्यसैले अब संशोधन प्रस्ताव दर्ता गरिहाल्नुपर्छ ।’ प्रचण्डले यसरी आत्मविश्वासका साथ भनेपछि पार्टीका अधिकांश नेताले उनका कुरामा विश्वास गर्दै संशोधन प्रस्ताव दर्ता गर्दा हुने मानसिकता बनाएका थिए । नेता नारायणकाजी श्रेष्ठले भने आफ्नो पनि मधेसी मोर्चाका नेताहरूसँग कुराकानी भइरहेको बताउँदै उनीहरू प्रस्ताव दर्ता भए पनि चुनावमा आउने पक्षमा नरहेको जानकारी प्रचण्डलगायत पार्टीका नेताहरूलाई गराएका थिए ।

वास्तवमा मधेसी मोर्चाका नेताहरूलाई प्रचण्डले संशोधन प्रस्तावका प्रावधानहरूमा राजी गराउन सकेका थिएनन्, न प्रस्ताव दर्ता गरेपछि चुनावमा सहभागी हुन नै उनले सहमत गराउन सकेका थिए । हुँदै नभएको कुरा पार्टीका सहकर्मी नेताहरूलाई बताएर प्रचण्डले गत साता रातारात संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावप्रति मधेसी मोर्चा सम्बद्ध नेताहरूले अहसमति जाहेर गरिसकेका छन् र प्रस्ताव दर्ता गरिएकै कारण उनीहरू चुनावमा सहभागी हुन राजी भएका पनि छैनन् । यस प्रकरणबाट माओवादी पार्टीका नेताहरूले प्रचण्ड झुट बोल्छन् भन्ने मात्र महसुस गरेनन्, आफ्नै पार्टीका नेताहरूलाई झुक्याउनसमेत उनी हिचकिचाउँदा रहेनछन् भन्ने पनि स्पष्ट बुझेका छन् । प्रचण्डका कारण अब मुलुकमा आगो बल्ने स्थिति बनेको छ, को कसले प्रचण्डलाई काँध थापेर बस्ने हुन्, प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।