बाली सम्मेलनमा मन्त्री महतले भने– ‘नेपाल विश्वकै लागि उदाहरण’

बाली सम्मेलनमा मन्त्री महतले भने– ‘नेपाल विश्वकै लागि उदाहरण’


dr-mahat-bali

बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलन इन्डोनेसियाको बालीमा बिहिबारदेखि सुरु भएको छ । धर्म, प्रजातन्त्र र बहुलवाद नारा राखिएको सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले सिक्न सक्ने बताए ।

इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले उद्घाटन गरेको र विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनमा संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्ने उल्लेख गर्दै मन्त्री महतले शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखे । नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको उनले बताए ।

मन्त्री डा. महतले भने– ‘हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहनु यसैको ज्वलन्त उदाहरण हो ।

समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा दिए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा राखे ।

नेपाल संसार नै एउटा परिवार हो भन्ने वसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो भन्दै महतले नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए ।

समाजका हरेकखाले चुनौतीहरुको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैं धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतंकवादको विरुद्धमा रहँदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरे । शुक्रबारसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्ननले पनि मन्तव्य राखेका थिए ।