बञ्चरेडाँडा ब्यहोर्दैछ राजधानीको फोहोर

बञ्चरेडाँडा ब्यहोर्दैछ राजधानीको फोहोर


pandey-3

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नुवाकोट र धादिङको सीमानास्थित बञ्चरेडाँडामा निर्माणाधीन ‘ल्यान्डफिल साइट’को स्थलगत अवलोकन गरेका छन् । काठमाडौँ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने गरी धादिङको छत्रेदेउराली¬–९ र नुवाकोटको ओखरपौवा–४ स्थित बन्चरेडाँडामा ल्यान्डफिल साइटको निर्माण भइरहेको छ ।

साइट अवलोकन गर्दै मन्त्री पाण्डेले फोहोरबाट उत्पन्न हुने विकाराल समस्या समाधान गर्न योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताए । ‘योजनाबद्ध विकास गर्न कै लागि बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको योजना आएको हो’– उनले भने । फोहोर व्यवस्थपनलाई दीर्घकालीन बनाउन प्रयत्न गर्ने उल्लेख गर्दै उनले उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखलाई बोलाएर आफूले फोहोर व्यवस्थापनबारे छलफल गर्ने बताए । मन्त्री पाण्डेले बन्चरेको विकास निर्माण र तत्काल ल्यान्डफिल साइटको निर्माण सम्पन्न गर्न मन्त्रिपरिषद्मा आफूले गम्भीरताका साथ विषय उठाउने प्रतिबद्धता जनाउँदै ल्यान्डफिल साइटलाई व्यवस्थित नगर्ने हो भने यसले विकाराल रुप लिने बताए ।

हाल काठमाडौँ उपत्यकाका २२ वटा नगरपालिकाबाट प्रतिदिन करिब १००० टन फोहोर उत्सर्जन हुने गरेको छ । त्यसको करिब ७० देखि ७२ प्रतिशत फोहोर जापानी सहयोग नियोग (जाइका)ले २०६२ सालमा सिसडोलमा निर्माण गरिदिएको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने गरिएको छ । अहिले दैनिक करिब ७०० टन फोहोर सिसडोलमा व्यवस्थापन गरिएको फोहोर मैला व्यवस्थापन केन्द्रले जनाएको छ ।

जाइकाले २०६२ सालमै गरेको अध्ययनमा सिसडोलमा प्रतिदिन ३०० देखि ३५० टन फोहोर २३ वर्ष सम्म व्यवस्थापन सकिने जनाइएको थियो । पहिलो चरणमा जाइकाले सिसडोलमा करिब तीन वर्षमात्र फोहोर व्यवस्थापन गर्न सक्ने जनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरण गरी केन्द्रले आपतकालीन रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।

केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीका अनुसार दुई वर्षपछि राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न सकिँदैन । उनी भन्छन्, ‘यदि दुई वर्षभित्र बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको पूर्वाधार निर्माण नभए राजधानीको फाहोर उठाउन सकिदैन । अहिलेको दीर्घकालीन ल्यान्डफिल साइट बन्चरेडाँडा नै हो, जुन दुई वर्षभित्र कुनै पनि हालतमा सम्पन्न गर्नुपर्ने हुन्छ ।’

दुई वर्षदेखि निर्माण सुरु गरिएको बन्चरेडाँडामा ल्यान्डफिल साइटका लागि आवश्यक एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । नयाँ बन्ने ल्यान्डफिल साइटमा करिब २० वर्षसम्म फोहार व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ । करिब रु दुई अर्ब ४५ करोडको लागतमा ल्यान्डफिल साइट निर्माण भइरहेको हो ।

फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बैकल्पिक मार्गका रुपमा सडक विभागबाट करिब छ किलोमिटर छोटो सडक निर्माण भइरहेको छ भने फोहार बिसर्जन गर्ने स्थलसम्म पुग्ने कोल्पुखोलामाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न हुने ज्ञवालीले बताए । त्यस्तै, कोल्पुखोला डाइभर्सनको काम पनि सम्पन्न भइसकेको छ । बन्चरेडाँडामा व्यवस्थापन गरिने फोहोरबाट निस्कने पानी सिधै खोलामा नमिसाइने मन्त्रालयले जनाएको छ ।

banchare-danda