
गुल्मीका प्र.जि.अ. कृष्णप्रसाद ढुङ्गानाले झण्डै शताब्दि उमेर पुग्न लागेकी धनकला अर्याललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि भने– ‘आमा, दुध पिएर जानुस् है ?’ तर प्रजिअको आग्रहमा वृद्धा धनकलाले जवाफ दिइन्– ‘पर्दैन, पर्दैन, भयो बाबुले नागरिकता दियौ, मलाई पाथी दुधभात खाएजस्तै भएको छ ।’ यसो भन्दै उनले शीर निहुराएर दुई हात जोडी प्रजिअ ढुङ्गानालाई आशिर्वाद दिइन् ।
गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीबाट गुल्मीनिवासी वृद्धाले ९२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएको सन्दर्भ हो यो । आँपचौर गाविस–७ की धनकला अर्यालले उमेरको यस उचाईमा आइपुग्दा नागरिकता पाएकी हुन् । वि.सं. १९८६ मंसिर २१ गतेको जन्ममितिमा उनले रुपाकोट–९ स्वर्गिय भुवानन्द भण्डारीकी छोरी र आँपचौर–७ का स्वर्गिय चन्द्रमणि अर्यालकी श्रीमती नाताबाट नागरिकता प्राप्त गरेकी छन् ।
धनकलाको नागरिकतामा जिल्ला प्रशासन रुपन्देहीका प्रशासकीय अधिकृत रामचन्द्र पन्थीले हस्ताक्षर गरेका छन् भने अहिलेसम्मकै सबैभन्दा जेष्ठ नागरिकले नागरिकता पाएकोमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले स–सम्मान प्रणाम गर्दै नागरिकता हस्तान्तरण गरेका थिए । वृद्धा हिँड्न नसक्ने भएकीले छोरा चेतन अर्याल र उनकी नातेदार महिलाले बुईमा बोकेर प्रशासनसम्म ल्याएका थिए ।
उनलाई प्र.जि.अ. ढुङ्गानाले सोफामा बसाले र आफु थुपुक्क भुइँमा बसेर नागरिकता हस्तान्तरण गरेका थिए । नागरिकता दिएकोमा वृद्धाले ढुङ्गानालाई दुई हात जोडेर ‘मनले चिताएको पुगोस्, तिमीहरु सबैलाई राम्रो होस्’ भन्दै आर्शिवाद थिएकी थिइन् । यस उमेरकी वृद्धा आमालाई नागरिकता दिन पाएकोमा प्र.जि.अ. ढुङ्गानाले गर्व लागेको बताए । उनले यसबाट पनि नागरिकताको महत्व कति रहेछ भन्ने कुरा प्रष्ट भएको अभिव्यक्ति दिए ।
हरबखत भजनकिर्तन जप्दै दुई हात जोडेर शिर निहुराउँदै ईश्वरको शरण पर्ने उनले ९६ वर्षको उमेरमा पहिलोपटक सदरमुकाम तम्घास देखाउन ल्याएकोमा छोराले आफुलाई ज्यँुदै स्वर्गमा पुराएको भन्दै आर्शिवाद पनि दिइन् ।
यस्तो राम्रो ठाउँ, यति ठुला घरहरु देख्न पाउँदा म त ज्युँदै स्वर्गमा पुगेँ भन्दै केहीबेर हाँसेकी उनले केहि बेरपछि खुशीका आँशु पनि बगाइन् । वास्तवमा छोरा चेतन उनकै पेटबाट जन्मेका नभई जेठीपट्टिका सन्तान रहेछन् । १४ वर्षको उमेरमा विवाह भएकी उनकी एक छोरी मात्र थिइन् । सौतातर्फका छोरा भए पनि आफुलाई माया र सेवा गर्नमा कत्ति कसर बाँकी नराखेको भन्दै उनले छोरा चेतनको प्रशंसा गरिन् ।
१५-१६ वर्षअघि नै छोराले चौरासी पुजा गरिदिएको र दानदक्षिणा, तिर्थ ब्रतमा छोराले कत्ति कमी नगरेको उनले बताइन् । ‘जापानमा बसे पनि छोरा चेतनले घरमा मेरो स्याहारसुसार गर्ने मान्छेसमेत राखीदिएका छन्’, धनकलाले थप खुलासा गरिन् । एक मात्र छोरा चेतन गत १० वर्षदेखि जापानमा कार्यरत छन् ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया