धरानमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु

धरानमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु


para-1

– मनिता चाम्लिङ

धरान÷ परीक्षण उडान गरेको ६ वर्षपछि बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रा.लि. धरानले साहसिक खेलको रूपमा चिनिएको प्याराग्लाइडिङको व्यवसायिक टेण्डम उडान शुरु गरेको छ । सोमबार प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले टेण्डम पाइलट देशवीर जिमीलाई ग्लाइडर हस्तारण गरी कार्यक्रमको उद्घाटन गरे । प्रमुख अतिथि कोइरालाले धरानको विकास भनेको पर्यटन नै भएकाले पर्यटनको लागि भौतिक पूर्वाधारमा निर्माणमा उप–महानगरपालिका अगाडी बढेको बताउँदै साहसिक खेल प्याराग्लाइडिङ पर्यटनका लागि कोशेढुङ्गा सावित हुने बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष लेखमणि जिमीले धरानमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्याराग्लाइडिङको व्यवसायिक उडानको सुरुवात गरिएको जानकारी दिए । अध्यक्ष जिमीका अनुसार कम्पनीले नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरी धरानमा व्यवसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्ने अनुमति प्राप्त गरेको हो । कम्पनी अध्यक्ष जिमीले टेण्डम उडानको लागि मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने सबै अनुमति र प्रक्रिया पूरा भइसकेको बताउँदै प्रा.लि.ले प्राधिकरणबाट इजाजत पत्र र सेफ्टी डिपार्टबाट ‘रिक्रिएस्नल एयर अपरेशन सर्टिफिकेट’ पाएपछि उडान भर्ने बाटो खुलेको बताए ।

उद्घाटनको अवसरमा तीनदिने प्याकेज अन्तर्गत पर्यटकहरूलाई सहुलियत दरमा प्याराग्लाइडिङको प्याकेज समेत दिइएको छ, जसमा प्रतिव्यक्ति ४ हजार ९ सय ९९ रुपैयाँमा आधा घण्टाको उडान भर्न सकिने भएको छ । साथै तीन दिनपश्चात् भने पाँच हजार ५ सयसहित १३ प्रतिशत भ्याटसमेत लाग्ने बताइएको छ ।

पाँचजना टेण्डम फ्लाइट उडान गर्ने गरी अनुमति पाएको यस प्रा.लि.ले धरानका देशवीर जिमी, मणिराज तामाङ र नरेश राईले व्यवसायिक उडान भर्ने छन् । धरान २४ रमिते डाँडाबाट टेकअप गरी धरान १७ स्थित प्रस्तावित एयरपोर्टमा ल्याण्डिङ गरिने उक्त प्याराग्लाइडिङको उद्घाटनमा नरेश राई, देशवीर जिमी, मणिराज तामाङ, सुरेन गुरुङ, सागर क्षेत्री, दिलीप भण्डारी, सन्तोष गुरुङ र नितेष पुनले टेण्डम उडान भरेका थिएभने धरानका राजेश लिम्बुले सोलो उडान भरेका थिए।यसअघि प्रा.लि.ले गतसाल धरानमा चौथो माउन्टेन प्याराग्लाइडिङ एक्युरिसी प्रतियोगिता समेत आयोजना गरेको थियो, जसमा देशभरका ६० जना भन्दाबढी प्याराग्लाइडरहरू प्रतियोगितामा सहभागी भएका थिए ।

धरानमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्ने कम्पनी बुढासुब्बा दोस्रो हो । यसअघि भने स्काई एड्भेञ्चरले २ वर्षदेखि धरान–२० स्थित छोटीमोरङबाट प्याराग्लाइडिङको व्यवसायिक उडान गर्दै आएको छ ।

para