नगद सङ्ग्रह गर्न पर्यटन दूत !

नगद सङ्ग्रह गर्न पर्यटन दूत !


deepak-joshi

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वका समृद्ध मुलुकमा ‘पर्यटन दूत’ नियुक्त गरी उनीहरूमार्फत धेरै ठूलो रकम सङ्ग्रह गर्ने योजना बनाएको रहस्य खुलेको छ । प्राप्त जानकारीअनुसार नेपाल पर्यटन बोर्ड (एनटीबी) मा एमालेसमर्थित दीपकराज जोशीलाई कार्यकारी प्रमुख बनाएपछि उक्त बोर्डको प्रस्ताव र सिफारिसमा तात्कालिक सरकारले संसारका विभिन्न एकाउन्न सहरका लागि ‘अवैतनिक पर्यटन दूत’ नियुक्त गरेको छ । एकाउन्नमध्ये पैँतालीसजना एमालेका सङ्गठित सदस्य रहेका र ६ जना मीस टिनलगायत अन्य विभिन्न क्षेत्रबाट रहेको बुझिएको छ ।

यसरी युरोपका फ्रान्स, बेल्जियम, अस्टे«लिया र संयुक्त राज्य अमेरिकालगायतका समृद्ध मुलुकका विभिन्न सहरका लागि नियुक्त अवैतनिक पर्यटन दूतहरूलाई गोप्य र होसियारीपूर्वक प्रमाणपत्र उपलब्ध गराउने र शपथ खुवाउने गरिएको छ । शपथग्रहण समारोहकै आयोजना गरेर दूतहरूलाई शपथ खुवाउने गरिएको र कार्यक्रम संयोजन एमालेको प्रवासी नेपाली मञ्चले गर्ने गरेको छ । होसियारीपूर्वक आयोजना गरिने शपथग्रहण समारोहमा तात्कालिक पर्यटन सचिव पे्रमकुमार राई र पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी आफैँ मुख्य अतिथिका रूपमा पुग्ने गरेका थिए । हाल पर्यटन मन्त्रालयको सचिव परिवर्तन भएको र पे्रमकुमार राईले आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका कारण दीपकराज जोशीले मात्र शपथ खुवाउने गरेको बताइन्छ ।

केही साताअघि युरोपका विभिन्न सहरमा आयोजित शपथग्रहण समारोहमा भाग लिएपछि राई र जोशी अमेरिका पुगेका थिए । अमेरिकाको पच्चीस राज्यका प्रमुख सहरहरूमा ‘पर्यटन दूत’ नियुक्त गर्ने एमालेको योजनाअनुसार पन्ध्रवटा सहरमा ‘दूत’ नियुक्त गरिसकेको छ । राई र जोशीले क्यालिफोर्नियाको लसएन्जेलसमा आयोजित भेलामा ‘अवैतनिक पर्यटन दूत’लाई शपथ मात्र खुवाएका थिएनन्, देशमा चुनाव हुन गइरहेकोले हरेक पर्यटन दूतले कम्तीमा पचास हजार अमेरिकी डलर चन्दा उठाएर पार्टीलाई बुझाउनुपर्ने एमालेको निर्णयअनुरूप लसएन्जेलसको पर्यटन दूतलाई पनि पार्टी निर्णयअनुसार नगद उठाउन र पठाउन निर्देशन दिएका थिए । भेलामा उनीहरूको अभिव्यक्ति सरकारी कर्मचारीको जस्तो किञ्चित थिएन, उनीहरू एमालेको जिम्मेवार नेताकै हैसियतमा प्रस्तुत भएका थिए । पार्टी निर्णयअनुसार कुल एकाउन्न अवैतनिक पर्यटन दूतहरूबाट कम्तीमा दश करोड रुपैयाँ सङ्ग्रह गर्नुपर्नेछ । राई र जोशीले अमेरिकाको न्युयोर्क, एटलान्टा, टेक्सासलगायतका राज्यमा पुगेर पनि अवैतनिक दूतहरूलाई यसैगरी निर्देशन दिएका थिए ।

ओली नेतृत्वको सरकार परिवर्तन भई प्रचण्ड नेतृत्वमा सरकार बनेपछि अवैतनिक पर्यटन दूत नियुक्तिसम्बन्धी विषयलाई गुप्त राखिएको छ र उनीहरूका निम्ति आयोजना गरिने शपथग्रहण समारोह पनि एमाले समर्थकबाहेक अरू कसैले सुइँकोसम्म नपाउने गरी सम्पन्न गर्ने गरिएको छ । कुन देशको कुन सहरमा क–कसलाई सरकारद्वारा अवैतनिक पर्यटन दूत बनाइएको छ भन्ने जानकारी वर्तमान सरकारलाई नभएको बुझिन्छ । सोसम्बन्धी फाइल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीसँग सुरक्षित रहेको र उनले नवनियुक्त पर्यटनमन्त्री र सचिवलाई यस सम्बन्धमा कुनै जानकारी गराएका छैनन् । यसरी एमालेले सरकारी ओहोदा सिर्जना गरेर सरकारकै आडमा विदेशबाट ठूलो रकम सङ्ग्रह गरी पार्टीमा भिœयाउने काम गरिरहेको भए पनि पाइलटमन्त्री जीवनबहादुर शाही भने आङछिरिङ शेर्पाको ‘पकेटमनी’मा संसार शयर गर्न व्यस्त रहेका छन् । भनिन्छ, पर्यटन मन्त्रालय, व्यापारी आङछिरिङ शेर्पाको एउटा ‘बिजनेस विभाग’जस्तो बनेको छ र शाहीचाहिँ त्यसका विभागीय प्रमुखझैँ काम गर्दै छन् । केही दिनअघि मात्र पर्यटन राज्यमन्त्रीमा नियुक्त युवानेता इन्द्र बानियाँ यसमा सुधार ल्याउन सफल हुने हुन् या होइनन् प्रतीक्षाको विषय बनेको छ ।