
पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा निकै ठूलो उत्साह पैदा भएको पाइएको छ । केन्द्रीयस्तरमा पार्टी एकीकरण भएको महिनादिनभित्रै पचपन्न जिल्ला समिति पनि एकीकृत भइसकेको र विवादित बाह्र जिल्लामा महाधिवेशनसम्म आलोपालो अध्यक्ष रहने गरी एकीकृत समिति बनाइएको छ । ज्ञातव्य छ, राप्रपाको एकता महाधिवेशन आगामी फागुनको ६–९ सम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनले पार्टीलाई संवैधानिक राजसंस्थाको पक्षमा उभ्याउने वा गणतन्त्रमा जाने भन्ने विषयको टुङ्गो लगाउनेछ । अहिले पशुपतिशमशेर राणा गणतन्त्रको पक्षमा छन् भने कमल थापालगायत राप्रपाका अधिकांश नेता–कार्यकर्ता संवैधानिक राजसंस्थाको पक्षमा देखिएका छन् । महाधिवेशनले सङ्घीयतालगायतका जटिल विषयमा पनि स्पष्ट निर्णय लिने बताइएको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्नेमा राप्रपा एकमत रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री विमलेन्द्र निधिद्वारा ल्याइएको संविधान संशोधन प्रस्तावको पक्षमा पशुपतिशमशेर राणा मात्र देखिएका छन् । संशोधन प्रस्ताव तयार गर्ने र दर्ता गर्ने प्रक्रियामा सामेल नगरिएकोले संशोधनका पक्षमा जाने नैतिक बाध्यता नरहेको ठहर राप्रपा कार्य सम्पादन समितिको बैठकले गरेको छ ।
राप्रपाले देशको पाँच विकास क्षेत्रमा क्षेत्रीय बैठक र बृहत् आमसभाको आयोजना गर्ने भएको छ । मङ्सिर ३० गते बिहीबार पोखरामा आयोजना गरिने आमसभामा वक्ताका रूपमा अभिनेत्री रेखा थापालाई राप्रपाले प्रस्तुत गर्ने भएको छ । केही वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग नृत्य गर्दै माओवादी पार्टी प्रवेश गरेकी रेखा यसै साता राप्रपा प्रवेश गरेकी छिन् । रेखाले समेत सभालाई सम्बोधन गर्ने भनेपछि सभामा सहभागीहरूको सङ्ख्या बढ्ने अपेक्षा राप्रपाका नेताहरूले गरेका छन् । आमसभाको भोलिपल्ट पुस १ गते पोखरामा क्षेत्रीयस्तरको बैठक राप्रपाले गर्ने भएको छ ।
पोखरापछि पूर्वाञ्चलको क्षेत्रीय बैठक आगामी पुस ८ गते र पूर्वाञ्चलको आमसभा पुस ९ गते झापामा गरिने भएको छ । ९ गते हुने झापाको आमसभामा चाहिँ राप्रपाले अर्की चर्चित लोकगायिका कोमल वलीलाई वक्ताका रूपमा प्रस्तुत गर्ने भएको छ । झापामा कोमल वलीका प्रशंसकहरूको ठूलो जमात रहेको र उनको नाममा हजारौँ मानिसलाई आमसभामा उपस्थित गराउन सकिने विश्वास राप्रपा नेतृत्वले गरेको छ । मध्यमाञ्चल विकास क्षेत्रको आमसभा भक्तपुरमा गर्ने निर्णय गरिएको भए पनि सोको मिति निर्धारण भएको छैन । मध्यमाञ्चलपछि सुदूर तथा मध्यपश्चिमाञ्चलमा पनि आमसभा र क्षेत्रीय बैठक आयोजना गरिने पार्टी सूत्रले जनाएको छ । तर, त्यसको पनि मिति निर्धारण भइसकेको छैन ।

प्रतिक्रिया