नेता खड्काद्वारा भ्रममा नपर्न आग्रह

नेता खड्काद्वारा भ्रममा नपर्न आग्रह


Khum-Bahadur-Khadka

केही अनलाइन पत्रिका तथा सोसल मिडियाहरूमा आफ्नो नाम जोडेर ‘खुमबहादुर खड्काले पूर्वराजासँग भेट गरेको पार्टीबाटै अलग्गिएर राजसँस्था ब्युँताउन लागिपर्ने वचन दिएको’ भनी गरिएको प्रचारबाजीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कांग्रेस नेता तथा हिन्दुराष्ट्र स्थापना महाअभियानका अभियन्ता खुमबहादुर खड्काले बताउनुभएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खड्काले तत्कालीन राजा ज्ञानेन्द्रसँग आफ्नो कुनै सम्पर्क तथा भेट नभएको र कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता पनि नदिएको अवस्थामा कपोलकल्पित सामाग्री तयार गरी आमजनतालाई दिग्भ्रमित तुल्याउन भएको प्रयासले आफू स्तब्ध र दुःखी भएको जनाउनुभएको छ । जो–जसले गरेका भए पनि आफूले यस कार्यको निन्दा र भत्र्सना गरेको खड्काको कथन छ ।

विज्ञप्तिमा खड्काले भन्नुभएको छ– ‘राजसंस्था र गणतन्त्रका बारेमा अब विवाद रहिरहनु हुँदैन, जनमत सङ्ग्रहमार्फत् यो मुद्दाको स्थायी ढङ्गले किनारा लगाइनु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । तर तात्कालिक राजासँग मेरो कुनै भेटघाट नै नभएको अवस्थामा काल्पनिक संवादको ब्यहोरासमेत उल्लेख गरी सम्बन्धित अनलाइन पत्रिकाले किन कपोलकल्पित र भ्रामक समाचार कथेर सम्प्रेषण गरेको हो म आश्चर्यचकित भएको छु । जहाँसम्म काङ्ग्रेस पार्टी विभाजनको कुरा छ, मेरो रगत–पसिना समेत सिँचेर बनेको नेपाली काङ्ग्रेस पार्टीलाई विभाजन गराउने र आफ्नो कलुषित स्वार्थ पूरा गर्ने कपटि चाल कसैले चलेको हो भने म चुनौतीका साथ भन्छु– काङ्ग्रेस फुट्दैन र कसैले फुटाउन पनि सक्दैन । जननायक बीपी कोइरालाको विचार दर्शनबाट निर्देशित र परिचालित काङ्ग्रेसमा पछिल्लो केही वर्षयता देखापरेको विचलनलाई सच्याउन हामी आफै पार्टीभित्र प्रयासरत छौँ र काङ्ग्रेस पार्टी अन्ततः बीपीकै मार्गदर्शनअनुरुप चल्ने विश्वाश पनि हामीलाई छ ।’

नेता खड्काद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ– ‘हिन्दुराष्ट्र स्थापनाका लागि काङ्ग्रेस नेतृत्वमा दबाब पैदा गर्न र देशमा त्यसनिम्ति वातावरण अनुकुल बनाउन हामीले नेपाली काङ्ग्रेस, हिन्दुराष्ट्र स्थापना महाअभियान नामक मञ्च खडा गरेका हौँ, यो महाअभियान राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिको निम्ति क्रियाशील हुँदै संविधानबाट धर्मनिरपेक्षता शब्द विस्थापित गरी हिन्दुराष्ट्र नेपाल बनाउने उद्देश्यका निम्ति केन्द्रित छ, काङ्ग्रेस र प्रजातन्त्रका पक्षमा पनि यस अभियानले अन्ततः सहयोग पु¥याउने विश्वास हामीले गरेका छौँ ।’

केही अनलाइन पत्रिका र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भएको अनर्गल प्रचारबाजीको भ्रममा नपर्न नेता खड्काले आमनेपाली जनता र नेपाली काङ्ग्रेसका तमाम नेता तथा कार्यकर्ताहरूमा आग्रह गर्नुभएको छ ।

khum-bahadur-khadka