प्रतिष्ठानले मनायो २५औँ वार्षिकोत्सव

प्रतिष्ठानले मनायो २५औँ वार्षिकोत्सव


6-pr-pic-1

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको २५औँ वार्षिकोत्सव मनाइएको छ । नेपाल र भारत सरकारबीच प्रतिष्ठान स्थापनाको औचित्यमाथि सहमति भएपछि सन् १९९१ को डिसेम्बरमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको स्थापना भएको थियो । स्थापनाको उद्देश्यबमोजिम बितेका २५ वर्षमा प्रतिष्ठानले एक–आपसका कला, साहित्य, संस्कृति आदानप्रदानका साथै दुवै देशका जनजीविकासम्बन्धी विविध आयाम एवम् उत्थानका लागि बौद्धिक बहसलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता द्विपक्षीय उपयोगी कार्यक्रम प्रतिष्ठानका काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित नेपाली दूतावाससम्बद्ध दुवै सचिवालयले आयोजना गर्दै आएका छन् ।

प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमा नेपालका सुपरिचित समूहहरू सुरसुधा, गुरुकुल सङ्गीत एकेडेमी, एस्थेटिक डान्स स्टुडियो, थिएटर भिलेज र सुरसुधा कला केन्द्रद्वारा सङ्गीत, नृत्य तथा रङ्गमञ्च प्रस्तुतिहरू दिइएको थियो । समारोहमा प्रतिष्ठानका दुवै सचिवालयका गतिविधि झल्काउने शोध एवम् एकेडेमिक सामग्रीको समेत प्रदर्शन गरिएको थियो ।

व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सभामुख घर्तीले पच्चीस वर्ष पूरा गरेको उपलक्ष्यमा प्रतिष्ठानलाई बधाई दिँदै नेपाली, नेपाली जनता र यहाँको भाषा तथा संस्कृतिप्रति दर्शाएको सम्मानभावका लागि भारतीय राजदूत रञ्जित रायप्रति विशेष आभार प्रकट गर्नुभयो । भारत र नेपालबीचको सम्बन्धमा सघनता ल्याउन प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको पनि सभामुख घर्तीले सराहना गर्नुभयो ।
यस्तै, भारतीय राजदूत रञ्जित रायले पनि बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले निर्वाह गर्दै आएको भूमिकाले आफूलाई प्रसन्न तुल्याएको उल्लेख गर्दै नेपाल र भारतबीच प्रतिष्ठान सम्बन्धको एक आधारस्तम्भका रूपमा रहेको बताउनुभयो । कार्यक्रममा जानेमानेका कवि, कलाकार, लेखक, कूटनीतिज्ञ, बौद्धिक व्यक्तित्वहरूका साथै अन्य क्षेत्रका पाँच सयभन्दा बढीको उपस्थिति थियो ।