नेपाल तरुण दल र अबको आवश्यकता

नेपाल तरुण दल र अबको आवश्यकता


laxmi-kanta-paudel-3

– लक्ष्मीकान्त पौडेल

नेपाल तरुण दलको महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भयो । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभएजस्तै गुटको भावना कम हुँदै गएर अन्त्य हुने क्रममा छ भन्ने तरुण दलको महाधिवेशन र कार्यसमिति चयनले देखायो । कार्यसमितिमा तरुण दलले गुट–उपगुटको भागबन्डाभन्दा माथि उठेर एकताको सन्देश दिन सक्यो । सबैलाई थाहै थियो कि चुनाव हुँदा कुनै एक पक्षले जित्ने सम्भावना बढी हुन्छ, तर त्यो अवस्था आउन दिन नहुने थियो र त्यस्तै भयो । यसका लागि पार्टी सभापतिको भूमिका अहम् रह्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाहरूसमेत सबैको तरुण दलको पोखरा अधिवेशनलाई अझ एकतामय बनाउन अहम् र ऐतिहासिक रह्यो ।

तरुण दलले अब जनताको हित, जनतामा सङ्गठन, जनतामा लोकतन्त्र र समाजवाद तथा शान्ति र समानताको आवश्यकताको प्रचार गरेर जनहितमामा परिणत गर्नुपर्ने हुन्छ । तरुण दलको आफ्नै इतिहास र गौरवशाली परम्परा छ । यो परम्परा लोकतन्त्र र समाजवाद तथा राष्ट्रियता र समावेशीकरण आदि विषयमा केन्द्रित छ । पूर्ण समावेशीकरण र समावेशी प्रतिनिधित्वलाई तरुण दलले अझै यथार्थमा परिणत गर्न सक्नुपर्छ । यो सबै जात, भाषी, लिङ्ग, क्षेत्रको साझा देश हो भन्ने सन्देश पहिला तरुण दलले आफूमा नै त्यो देखाएर सुरु गर्न आवश्यक हो । यो लक्ष्य नेपाली काङ्ग्रेसको पनि हो र नेपाली काङ्ग्रेसको भगिनी सङ्गठनको रूपमा यसको सक्रियताको आफ्नै महत्व छ । यसको स्थापनाकालमा नै लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास राजा महेन्द्रबाट भएको थियो । ०१७ साल पुस १ गते राजाले लोकतान्त्रिक परिपाटीलाई समाप्त गर्दा नेपाल तरुण दलको उद्घाटन कार्यक्रम हुँदै थियो, तानाशाहा महेन्द्रले हाम्रा नेताहरूलाई थुन्ने र लोकतान्त्रिक परिपाटीलाई पनि देशबाट फाल्ने कार्य गरे । तरुण दल जन्मबाट नै तानाशाहाको विरुद्धमा केन्द्रित हुन पुगेको सङ्गठन हो । यसको सङ्गठन देशका तरुणहरूलाई समेटेर विचार, सङ्गठन, क्रियाशीलता, विकास तथा लोकतन्त्र र समाजवादको संरक्षण र सम्बद्र्धनका लागि छ । अहिले पनि तरुण दलमा यो भावना अविछिन्न रूपमा छ ।

महामानव बीपीको इच्छा पनि तरुणहरू क्षमता, विवेक र परिश्रमका त्रिवेणी भएका हुँदा युवाहरूलाई नै देशको वास्तविक परिस्थितिलाई बुझ्न र सञ्चालन गर्न दिनुपर्छ भन्ने थियो । विद्यार्थीले समाजवाद अर्थात् लोकतन्त्र र समानता जसमा समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, क्षेत्रीय समानतासमेत पर्दछन् तिनको अध्ययन गरेर विचारमा परिपक्व हुने र आवश्यकताअनुसार देश र जनताका लागि कार्य गर्ने र पढनपाठनलाई सर्वोपरि राख्ने कार्य गर्नुपर्छ भन्ने मान्यता देखिन्छ । त्यस समयमा पनि परिश्रम र सहयोगी भावनाको विकास हुन आवश्यक देखिन्छ । तरुणहरूमा विद्यार्थीजीवनको ज्ञानलाई व्यवहारमा जनताबीच लागू गर्ने गुरुत्तर दायित्व रहेको हुन्छ ।

कम्युनिस्टहरू सत्तामा जानुभन्दा पहिला युवाहरूलाई परिचालित गर्छन् । सत्तामा जान नसक्दा वा सक्दा पनि उनीहरूले वृद्ध हुँदासम्म पद छोड्दैनन्, युवाहरू त्यही कारणले आकर्षित हुँदैनन् । जुन दल युवाहरूको माध्यमबाट सत्तामा जान सकेको छ, युवालाई परिचालित गरेर सत्तामा पुगेको छ त्यो वा ती दलहरू ठूला बन्न सकेका छन् । त्यसको उदाहरण नेकपा एमाले नै छ । ०२८ मा झापा जनहत्यामा संलग्न हुनेहरू वा तिनैका समकालीनहरूको नेतृत्वमा नै अहिलेसम्म त्यस दलको केन्द्रीय तह चलेको देखिन्छ । त्यस्तै नेकपा माओवादीमा पनि दशवर्षे हिंसाको समयमा युवाहरूलाई नै बढी प्रयोग गरिएको हो । तिनै प्रयोग गर्नेहरू नेतृत्वमा रहन्छन् ।

तरुणहरू भनेका विचारलाई खार्ने र जनतामा जनताको हितका लागि आफैँसमेत हराउन नै सक्ने जोश र होस् तथा विचार र विवेकको समाजवादी समूह हो जसले मूलभूत रूपमा देशको विकासको नेतृत्व लिन सक्नुपर्छ र त्यसका लागि वातावरण पनि तयार हुन आवश्यक छ । यो सङ्गठन देशको जुझारु शक्ति, लोकतन्त्र र समाजवादको मुख्य प्रवाहक हुनुपर्छ । सिद्धान्तमा यसो भनिए पनि व्यवहारमा यो हुन सकेको छैन । कमजोरीलाई चिर्नु र तिनै कमजोरीलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन । देशमा समावेशी तरुण पुस्तालाई नेपाली काङ्ग्रेसको विभिन्न तहमा र अन्य राजनीतिक नियुक्तिसमेतका कुरामा उपयुक्त अनुपातमा समावेश गरिन आवश्यक छ । नेपाली काङ्ग्रेसको कार्य भनेको तरुणहरू र तरुणबाट प्रौढ बन्दै गरेकाहरूलाई नेतृत्व क्रमिक रूपमा हस्तान्तरण गर्ने भूमिका निभाउन तयार रहन तरुण दल पनि दक्ष बन्न सक्नुपर्छ ।

कम्युनिस्टहरू सत्तामा जानुभन्दा पहिला युवाहरूलाई परिचालित गर्छन् । सत्तामा जान नसक्दा वा सक्दा पनि उनीहरूले वृद्ध हुँदासम्म पद छोड्दैनन्, युवाहरू त्यही कारणले आकर्षित हुँदैनन् । जुन दल युवाहरूको माध्यमबाट सत्तामा जान सकेको छ, युवालाई परिचालित गरेर सत्तामा पुगेको छ त्यो वा ती दलहरू ठूला बन्न सकेका छन् । त्यसको उदाहरण नेकपा एमाले नै छ । ०२८ मा झापा जनहत्यामा संलग्न हुनेहरू वा तिनैका समकालीनहरूको नेतृत्वमा नै अहिलेसम्म त्यस दलको केन्द्रीय तह चलेको देखिन्छ । त्यस्तै नेकपा माओवादीमा पनि दशवर्षे हिंसाको समयमा युवाहरूलाई नै बढी प्रयोग गरिएको हो । तिनै प्रयोग गर्नेहरू नेतृत्वमा रहन्छन् । यो परिपाटी सबै दलमा अन्त्य भएर युवालाई प्रोत्साहित गर्न आवश्यक छ ।

काङ्ग्रेसले अब दल र दलबाट प्राप्त हुने पदलाई सकेसम्म बढी युवालाई जिम्मेवार बनाउँदै दिन सक्नुपर्छ र तरुणहरू पनि त्यसका लागि तयार हुनुपर्छ । युवाहरूले चाहेमा मतको माध्यम र स्वतन्त्र विचार एवम् प्रतिस्पर्धाको माध्यमबाट नेपाली काङ्ग्रेसको नेतृत्व तहमा काम गर्न पाउने अवसर कायम छ । तर, यसलाई हामीले अझ परिस्कृत गर्न सक्छौँ र आवश्यकताअनुसार त्यसो गर्न पनि पर्दछ ।

जातीय, सांस्कृतिकसमेतका कुरा उठाएर जनताको चेतनाको विकासलाई व्यवस्थित किसिमले पछाडि घकेल्ने प्रयास भएका छन् । हरेक संस्कृति र परम्परालाई, धर्म र भाषालाई मानवीय एकताको आधारको रूपमा लगेर मानवीय आवश्यकतामा एकता र सोबाहेकका विशेष कुरामा विविधता हुनुपर्नेमा जातीयसमेतका द्वेषहरू उठाउने कार्य भएका छन् । त्यो अवस्थाको अन्त्य हुनुपर्छ । हामी पहिला मानिस हौँ, त्यसपछि नेपाली हौँ र त्यसपछि कुनै जात, वर्ग वा समुदायका हौँ र हाम्रो अधिकारले हामीलाई पछाडि धकेल्न हुँदैन भन्ने हामीले जनतालाई बुझाउन सक्नुपर्ने हुन्छ । त्यसभन्दा पहिला सङ्गठनमा ध्यान दिन आवश्यक हुन्छ किनभने सङ्गठनबिना लक्ष्य पूरा गर्न सकिँदैन । सङ्गठनलाई राम्रो बनाउन राजनीतिमा इमानदारीको महत्व छ । बेइमानी गरेर पैसा कमाउनेहरू अहिले सबै दलमा धेरै–थोरै छन् । सङ्गठनलाई बलियो बनाउन हामीले काङ्ग्रेससँग सम्बन्धित सबैलाई इमानदारीका लागि पहल गर्नुपर्ने हुन्छ । यो लामो प्रक्रिया पनि हुनसक्छ ।

हाम्रो क्रियाशीलता नै जनतामा जाने र जनतालाई आफ्नो कुरा भन्ने माध्यम हो । त्यस्तै, अन्य स्थानहरूमा आफ्ना अभिमतहरू राख्ने माध्यम पनि हो । जनतामा जाने र क्रियाशील बन्ने कार्य राजनीतिका लागि राजनीतिमा आधारित हुन भने हुँदैन । जनताको सुखदुःखमा सहभागी बन्ने, आफ्ना विचार राख्ने र सङ्गठनको माध्यमबाट सामूहिक हितका लागि श्रम गर्नेसमेतका कार्य अप्ठ्यारामा परेकाहरूलाई सामूहिक रूपमा शारीरिक श्रम गर्ने बानी पनि आवश्यक हुन्छ । स्थानीय समस्याको पहिचान गर्ने र तिनलाई स्थानीय तहमा समाधान गर्ने कार्य पनि प्रसस्त छन् । हामीले विचारको आधारमा आफूलाई प्रस्ट गर्न सक्नुपर्छ । यसका लागि अध्ययन र त्यसप्रति समालोचनात्मक दृष्टिकोण आवश्यक छ । बिनाअध्ययन हामी राम्रा विचारलाई पनि जनतामा पस्कन सक्दैनौँ ।

सामान्यतः हामीलाई जनताको हितविपरीत जानु छैन । जनताको हित जेमा छ भन्ने लाग्छ त्यो कमसेकम स्थानीय तहमा नै छलफल गरेर निष्कर्षमा पुग्यौँ भने पनि त्यो नेपाली काङ्ग्रेसको नीति हुन सक्छ । विचारको प्रस्टता र व्यवहारको उपयुक्तता हामीले इमानदारी साथ समानतामा र विकासको पक्षमा सोचेमा निस्किन्छ । त्यसैले समाजवादी बन्न सबैभन्दा सजिलो छ किनभने धेरैजसो सामान्य विवेकको आधारमा जनहित र समानता तथा विकासको कुरा नै समाजवादको कुरा हो । अर्कोतर्फ समाजवादी बन्न साह्रै गाह्रो छ किनभने भ्रष्टाचार गरेमा लुकाउन लोकतन्त्रको र स्वतन्त्र छानबिन गर्ने निकायहरूको कारणले गाह्रो छ । अर्कोतर्फ जनताको हितमा ध्यान दिइएन भने जनताले सामान्य मतको माध्यमद्वारा तिरस्कार वा अस्वीकार गर्न सक्ने हुँदा त्यो पनि कतिपयलाई कठिन हुन सक्छ । त्यसैले समाजवादी बन्न इमानदारलाई सजिलो छ र गलत सोच लिनेलाई कठिन विषय हो । लोकतन्त्रलाई मान्नु भनेको वा आत्मसात् गर्नु भनेको सिसाको घरमा बस्नुजस्तै हो । सिसाको घरमा बस्नेले अरूको समानता र हितबारे ध्यान दिएन भने त्यो आफ्नो घर चकनाचुन पार्न एउटा ढुङ्गा काफी हुन्छ ।