एनसेलको नयाँ सेवा

एनसेलको नयाँ सेवा


ncell-brand

अग्रणी मोबाइल सेवाप्रदायक कम्पनीको पहिचान बनाएको एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ नामक दुई आकर्षक सेवा ल्याएको जनाएको छ । साप्ताहिक रोमिङ डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु. ५ प्रतिएमबीसम्मको न्यून शुल्कमा डेटाको मज्जा लिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

यही पुस १ गतेदेखि लागू भएको ‘साप्ताहिक रोमिङ डेटा प्याक’अन्तर्गत ग्राहकले रु. १,५०० मा २५० एमबी डेटा र रु. ५,००० मा १ जीबी डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरी रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु. ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्छन् । यी सेवाअन्तर्गतका सबै शुल्क करसहित हुन् । साप्ताहिक रोमिङ डेटा प्याक भारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अस्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कीलगायत ५० भन्दा बढी देशमा लागू हुने र रोमिङ ट्रान्जिट पासअन्तर्गतको अफर भारत, चीन, बंगलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कीलगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागू हुने जानकारी दिइएको छ ।

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार ‘साप्ताहिक रोमिङ डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अङ्ग्रेजीमा ‘ए’ टाइप गरी ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ डेटा प्याक सेवा सुचारु गरेको दिनदेखि सात दिनका लागि मान्य हुनेछ ।

रोमिङ ट्रान्जिट पास अफरअन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घन्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जा लिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरी रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घन्टाको समयावधिपश्चात् सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दरअनुसार डेटा शुल्क लाग्ने एनसेलको भनाइ छ । एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माका अनुसार ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवा ल्याइएका हुन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्छन् भने आवश्यकताबमोजिम ग्राहकले जतिपटक पनि साप्ताहिक रोमिङ डेटा प्याक लिन सक्नेछन् ।