सर्वोच्चको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिन्ह

सर्वोच्चको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिन्ह


moso

मुद्दाको पेशीका लागि सर्वोच्च अदालत गएको अवस्थामा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पेशीकक्षमै मोसो दली दुव्र्यवहार गरिएको घटनाले लोकमानप्रति सर्वोच्च अदालत नै पूर्वाग्रही रहँदै आएको पुष्टि भएको छ । यस घटनाले सर्वोच्च अदालतलाई नै विवादमा तानेको छ भने उसको सुरक्षा व्यवस्था र संवेदनशीलतामाथि पनि गम्भीर प्रश्नचिन्ह खडा भएको चर्चित संविधानविद डा. भिमार्जुन आचार्यको धारणा छ । उनले सर्वोच्च अदालतको पेशीकक्षमै भएको आक्रमण र मोसो दल्ने कामलाई नेपालको न्यायिक इतिहासकै ‘दुर्लभ घटना’ भनेका छन् ।

‘यो सबै घटनाको जिम्मा सर्वोच्चले लिनुपर्छ’ भन्दै संविधानविद् आचार्यले भने– हिजोको दिनमा सर्वोच्च लोकमानविरुद्ध एकहोरो लागेको देखिन्छ, यसैको फाइदा मोसो दल्नेहरुले उठाए ।’ आचार्यका अनुसार यो लोकमानमाथि मात्र नभई सर्वोच्च अदालतको संवेनदशीलतामाथिको समेत आक्रमण हो । सर्वोच्चकै इतिहासमा पनि यो लाजमर्दो घटना भन्दै आचार्यले भने, ‘सर्वोच्चले लोकमानको बिषयमा जुन ढंगले सुनुवाई गरिरहेको छ, त्यसमा केही न केही कमजोरी र पूर्वाग्रह छ भन्ने कुरा थप प्रष्टियो ।’

यसैबीच लोकमानसिंह कार्कीले आफूमाथि सर्वोच्च अदालत परिसरमा भएको आक्रमणप्रति खेद प्रकट गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै कार्कीले भनेका छन्- ‘सम्मानित सर्वोच्च अदालत परिसरमा आज मेरो मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले मलाई स्तब्ध र दुःखी बनाएको छ । न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा म माथी भएको दुरव्यवहारलाई मेरा विरुध्द केही महिनायता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु । यस निन्दनीय घटनाबाट मेरो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुनुपर्ने ठानेको छु । ममाथि केही समययता पूर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुँदै आएको भए पनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाइसकेको छैन ।’

‘यस प्रकारको निन्दनीय घटनाबाट मेरो आत्माविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र हुने अवगत गराउँछु । राष्ट्रप्रति मैले निर्वाह गर्नु पर्ने कर्तव्यपथबाट कदापी विचलित नहुने प्रतिवध्दता आम नेपाली दाजुभाइ दिदीबहिनीसमक्ष जाहेर गर्दछु ।’