अवैध सम्बन्धको आरोपमा एकासी वर्षीय वृद्धलाई वनबास !

अवैध सम्बन्धको आरोपमा एकासी वर्षीय वृद्धलाई वनबास !


चन्द्रकान्त खनाल (गुल्मी)

ब्राह्मण कुलकी महिलासँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै एक दलित बृद्धलाई बाँधेर दुव्र्यवहार गरी गाउँ निकला गर्ने गुल्मी अर्वेनीका दुई व्यक्तिविरुद्ध सार्वजानिक अपराधको मुद्धा दायर गरिएको छ । यही पुस १ गते विहान अर्वेनी–५ का ८१ वर्षिय वृद्ध लालबहादुर सुनारलाई न्यौपाने थरकी स्थानीय ४२ वर्षिया महिलासँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै गाउँ निकला गर्नेहरूका विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्धा दायर गरिएको हो ।

पीडितका छोरा अनुराम सुनारले दिएको जाहेरीअनुसार घर नै भत्काउन बाध्य पारी गाउँ निकाला गर्ने सोही स्थानका अन्दाजी ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालयका साहयक झविलाल न्यौपानेविरुद्ध मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।

वृद्ध सुनारसँग नाम जोडिएकी महिलाका श्रीमानसँग समेत जबर्जस्ती सम्बन्ध विच्छेद भएको र आरोपित बृद्धसँग सम्वन्ध स्थापित गरेको कागज गराएर त्यहाँ सहभागी गाउँवासीलाई समेत हस्ताक्षर गराएका गाविस कार्यालय सहायकले स्थानीय तहमा सुइँको पाएपछि अप्ठ्यारो पर्ने डरले उक्त कागज च्यातेर फालियो भन्ने प्रतिक्रिया दिएका छन् ।

पीडित पक्षले नाम ठेगना चिन्न नसकेको बताइएका सय डेढ सय जनाको जत्था लिएर गाविस कार्यालयमा ती दुवैलाई केरकार गर्दै अवैध सम्बन्ध स्वीकार गर्न बाध्य पारेर औँठा छाप लगाउन लगाएको पीडित महिलाले बताइन् ।

गाउँ निकलाको अगुवाई गरेको स्वीकार गर्ने आरोपित चिन्तामणी न्यौपानेले गाउँ निकलाको निर्णय आफुले मात्रै नभई सयडेढ सय गाउँवासीले गरेको बताए । उनले भने– ‘मैले मात्र होइन, सय–डेढसय जनाले गाउँ निकला गर्ने गरेको निर्णयलाई मैले कार्यन्वयन गराउन निजको छोरालाई उनको घर भत्काउन लगाएको हुँ ।’ वृद्धका छोरा अनुरामले भने– ‘डाँडाभाँटा जोगाउने भए आफैले घर भत्का नत्र हामी साँझ जलाइदिन्छौ भने, म एक्लै उनिहरू धेरैजना भएकाले डरले हुन्छ भनेर छानामा चढेर भत्काउन बाध्य भएँ ।’

यस्तालाई वनवास पठाउनै पर्छ भन्दै गाउँलेहरूले वृद्धलाई झोला झिम्टी बोक्न लगाई जंगलमा छोडेर आएका थिए । त्यसरी विस्थापति तुल्याई जंगल धपाइएका पीडित दुईजनाले गुल्मी हर्मिचौरको हार्से भन्ने भीरयुक्त जंगलमा दुई दिन दुई रातसम्म खुल्ला आकाशमुनि बिताएका थिए । उनका छोरा र अन्य आफन्तजनले खोज्दै जाँदा उक्त स्थानको ओढारमा खान पकाउँदै गरेको अवस्थामा फेला पारेर गाउँ फर्काइएको थियो । गाउँ फर्काएपछि पनि गाउँलेको डरका कारण स्थानीय दलितहरूले चार दिनपछि मात्र घटनालाई वाहिर ल्याएका हुन् ।

यो २१ औं सताव्दीमा पनि सताव्दियौंँअघि हुने यस्तो बर्बरतापूर्ण घटना घटाइएको भन्दै दोषीहरूमाथि कडा कारवाही हुनुपर्ने माग यहाँका अधिकारकर्मीहरुले गरेका छन् । उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पुगेका दलित अधिकारकर्मीहरूले प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाललाई भेटेर यस्तो माग गरेका हुन् ।

old-man