राजनीतिक गत्यावरोध तोड्न कांग्रेसद्वारा चारबुँदे प्रस्ताव

राजनीतिक गत्यावरोध तोड्न कांग्रेसद्वारा चारबुँदे प्रस्ताव


nc-leaders

संविधान संशोधन गर्न सरकारले अघिसारेको प्रस्तावका कारण मुलुकमा राजनीतिक गत्यावरोधको स्थिति पैदा भएपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गतिरोध अन्त्य गर्न भन्दै चार बुँदे प्रस्ताव अघि सारेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलका पदाधिकारी एवम् पूर्व पदाधिकारी तथा उपत्यकामा रहेका केही वरिष्ठ केन्द्रीय सदस्य सहभागी बैठकले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो ।

उल्लेखित चार प्रस्तावमा सहमतिका लागि सत्तासाझेदार, प्रमुख प्रतिपक्षी दलसहित अन्य दलसँगको वार्तालाई अझ कसिलो र निर्णायक बनाउने निर्णय उक्त कांग्रेस बैठकले गरेको छ । स्थानीय निकायको निर्वाचन नयाँ संविधान अथवा पुरानै संरचना बमोजिम गर्ने भन्ने विषयमा भने बैठकले स्पष्ट निर्णय गरेको छैन ।

स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयकलाई पारित गर्न सत्तारुढ दलहरु प्रतिबद्ध भए आफूहरु सदन खोल्न तयार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो भनाइ सार्वजनिक गर्दै आएको छ । सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावविरुद्ध एमालेले आठौँपटकसम्म सदन अवरुद्ध गरिसकेको छ । यसैगरी निर्वाचनसित सम्बन्धित तीन विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छन् । अर्कोतर्फ निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एकजनामात्र आयुक्त छन्।

यसैबीच अवरुद्ध संसद् खुलाउन र राजनीतिक गतिरोको निकास खोज्न सभामुख ओनसरी घर्तीमगरले मुख्य दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छिन् । संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित संसद्‌मा रहेका सात दलका प्रमुख नेताहरुलाई बोलाइएको बताइएको छ।

ज्ञातव्य छ, एमालेलगायतका विपक्षीहरुको अवरोधका कारण तीन सातादेखि संसद् ठप्प छ। मधेसलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन दर्ता गराए पनि अहिलेसम्म संसद्‌मा प्रवेश पाएको छैन। एमाले लगायतका दलहरुले मंसिर १६ देखि लगातार संसद अवरुद्ध गर्दै आएका छन्। संशोधन फिर्ता नलिएसम्म संसद् चल्न नदिने अडानमा विपक्षी छन्। स‌ंसद्को बैठक मंगलबारका लागि बोलाइएको छ।