काठमाडौं उपत्यकालाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन छलफल

काठमाडौं उपत्यकालाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन छलफल


beautiful-kathmandu

काठमाडौँ उपत्यकाबाट निस्कने फोहारमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई मंगलबार मन्त्रालयमा बोलाई आ–आफ्नो नगर क्षेत्रबाट निस्कने फोहोरमैलाको दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नगरपालिकाले आफैँबाट सुरु गर्न निर्देशन दिए । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकालेर ‘मोहोर’ आम्दानी गर्न थालेको उदाहरण दिँदै उनले फोहोर व्यवस्थापनको वैकल्पिक उपायलाई तत्काल आ–आफ्नो नगरमा सञ्चालन गर्न आग्रह गरे ।

घरमा कुहिने र नकुहिने गरी छुट्टयाइएको फोहोर एउटै गाडीमा हालेर लैजाने गरेको पाइएको भन्दै उनले नगरपालिका वा निजी क्षेत्रले फोहोर उठाउँदा छुट्टाछुट्टै गाडीको प्रयोग गर्नुपर्ने बताए । उनले भने, “नगरका प्रत्येक घरबाट निस्कने फोहोरलाई घरमै कुहिने र नकुहिने गरी छुट्टयाउन सहयोग गर्नुहोस्, कुहिने फोहोरलाई खाल्डो वा ‘कम्पोस्ट विन’ मा हाल्ने र नकुहिने फोहोरलाई मात्र ल्याण्डफिल साइटमा लैजाने व्यवस्था मिलाउनुहोस् ।”

उपत्यकाका नगरपालिकाले फोहोर मात्रै उत्सर्जन गर्ने गरेको र ती फोहोर कहाँ, कसरी व्यवस्थापन गर्ने गरिएको छ भन्ने विषय पनि सोचनीय रहेको भन्दै मन्त्री पाण्डेले २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई १५ दिनभित्र हाल उपत्यकाको फोहोरको व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटको अवलोकन गर्न निर्देशन दिए ।

यही पुस १ गतेदेखि सार्वजनिक सवारीका साधनमा फोहोर सङ्कलन गर्ने भाँडाको व्यवस्था गरिएको बताउँदै उनले यस अभियानलाई आआफ्नो नगर क्षेत्रमा प्रचारात्मक रुपमा अघि बढाउन आग्रह गरे । नेपाल प्रहरी, ट्राफिक प्रहरी र वडा नागरिक मञ्चका प्रतिनिधि सम्मिलित टोली बनाएर ठिक ठाउँमा फोहोर फाले÷नफालेको अनुगमन गर्नुपर्ने उल्लेख गर्दै उहाँले तोकिएको स्थानभन्दा बाहिर फोहोर फाल्नेलाई जरिवाना गरिने चेतावनी दिए ।

नगरवासीले आफू सुरक्षित घरमा बसेको महसुस गर्न पाउनुपर्ने बताउँदै उनले वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड, २०७२ कडाइका साथ लागू गराउन निर्देशन पनि दिए । उनले मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनलाई निर्माण सम्पन्नको प्रमाणपत्र दिइए यस काममा संलग्न जो कोहीलाई पनि कारबाही गरिने थप चेतावनी दिए ।

सो अवसरमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अब प्रत्येक नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट निस्केका फोहोर शुद्धीकरणका लागि नगर क्षेत्रभित्रै ‘सङ्कलन केन्द्र’ को व्यवस्था गर्नुपर्ने र सङ्कलन केन्द्रबाट २४ घन्टाभित्र फोहोर उठाएर अन्यन्त्र लैजानुपर्ने उल्लेख गर्दै घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाएर व्यवस्थापन गर्न हरेक नगरपालिकालाई ‘एक हप्ता, एक वडा’ अभियानलाई प्रचारात्मक ढङ्गले अघि बढाउन आग्रह गरे ।