
■ विनोद नेपाल
लोकतन्त्रमा नेताहरू जनतासँग डराउनुपर्ने हो । तर, हाम्रा नेतालाई जनतासँग कत्ति डर छैन । विधिसँग त डराउँदैनन् र आवश्यकताअनुसार तोडमोड, व्याख्या, अपव्याख्या गरिदिन्छन् भने जनतासँग डराउने कुरै भएन । यिनलाई जे गरे पनि हुन्छ भन्ने ठानेका छन्् नेतागणले । यसैले मुलुकमा दण्डहीनता बढेको छ । बेथिति बढेको छ । अराजकता र अन्योल बढेको छ । जनतामा चरम निराशा व्याप्त छ । नेताप्रति घृणा भाव छ भने राजनीतिप्रति नै वितृष्णा बढेको छ ।
विदेशीसँग भने यिनलाई निकै डर छ । यिनको नाडी छामेकैले यिनलाई विदेशी कूटनीतिज्ञहरूले पनि टेर्न छाडिसके । सबैजसो कूटनीतिक प्रतिनिधिले हाम्रो आन्तरिक राजनीतिप्रति चासो राख्ने र प्रतिक्रिया जनाउने गर्छन् । कोही रिसाए सत्ता हल्लिने र खुसी भए सत्ता लम्बिने मानसिकता पनि हाम्रा नेताको छ । यस्तो मानसिकताकै कारण लोकतन्त्र कमजोर हुँदै गएको छ । गणतन्त्र संस्थागत हुन सकेको छैन । संविधान कार्यान्वयन झन्झन् जटिल हुँदै गएको छ ।
हाम्रा नेताहरू देशभित्र डराउँछन् त केवल एकजनासँग, ती हुन्– पूर्वराजा ज्ञानेन्द्र शाह । टुक्रा–टुक्रामा विभाजित नेपाललाई सिङ्गो नेपालमा परिणत गरी झन्डै दुई सय चालीस वर्ष शासन गर्ने शाहवंशीय राजामध्ये अन्तिम राजा उनको स्वदेश होस् वा विदेश भ्रमण र घुमफिर, हाम्रा नेताहरूमा अनेक आशङ्का उत्पन्न गरिदिन्छ, त्रसित बनाउँछ । शाहका वक्तव्य वा प्रेस विज्ञप्ति त आउनैहुन्न, यी थर्कमान भइहाल्छन्, छटपटिन्छन् । सत्तै पो झम्टन आँटेका हुन् कि भनेझैँ डराउँछन् । यसैले त कुनै वक्तव्य आयो भने यी षड्यन्त्र गर्न खोजेको भन्दै कुर्लन्छन्, त्यसो नगर्न र चुप लागेर बस्न निर्देशन दिन्छन् ।
यिनै ज्ञानेन्द्र शाहको वक्तव्य फेरि एकपटक चर्चामा छ जसले हाम्रा नेताहरूको निद हराम भएको छ । मुलुक अन्योलमा परेको तथा विभिन्न किसिमका कलहले राजनीतिक गतिरोध उत्पन्न भएको र आफैँले बनाएको संविधान कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा उनले यस्तो विज्ञप्ति जारी गर्दा लाज छोप्न चर्को जवाफ दिने प्रयास केही निर्लज्ज नेताहरूबाट भएको छ ।
पूर्वराजा शाहले आज हामी जुन माटोमा जन्मिएर कर्मक्षेत्रमा क्रियाशील छौँ त्यो श्रद्धा र आस्थाका धरोहर पुर्खाहरूको बलिदान, अदम्य साहस र रगत–पसिनाबाट आर्जित पवित्र भूमि हो भन्दै हामीलाई सिङ्गो, सङ्गठित, अविभाजित र सार्वभौम नेपाल दिएर जाने पुर्खाहरूले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवम् कर्तव्य हो भनेका छन् । तर, वर्तमान अवस्थामा मूल्य–मान्यतामा आधारित राजनीति नहुनु शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको र दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । उनले मुलुकलाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको, नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै गएको, तराई, पहाड र हिमालबीचको ऐक्यभाव तोड्ने प्रयत्न भइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने खालका कार्य हुनु अशोभनीय र असैह्य भएको बताएका छन् । यसैगरी निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरू किमार्थ बलिया हुन नसक्ने भन्दै इतिहास कलङ्कित गर्दै निश्चित र निहित स्वार्थ पूरा गर्न गरिएको कार्यहरू कदापि प्रशंसित हुन नसक्ने तथा माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्ने पनि उनको ठम्याई छ ।

पूर्वराजाको यस किसिमको वक्तव्य आउनासाथै नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विटरमार्फत शाहको वक्तव्यमा कडा जवाफ दिए । उनको वक्तव्यको सम्बन्धमा मन्त्रिपरिषद्मा समेत चर्चा–परिचर्चा भयो । मन्त्रीहरूले पन्ध्र वर्षअघिको तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याको छानबिनको कुरा उठाए । प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई चुप लागेर बस्न सुझाउँदै अन्यथा दुःख पाउने चेतावनी दिए । माओवादी नेता वर्षमान पुनले त पूर्वराजालाई नियन्त्रणमा लिन सकिने चेतावनी नै दिए ।
तर, पूर्वराजाको वक्तव्यमा समेटिएका विषयवस्तुहरू केलाउने हो भने उनले उल्लेख गरेका कुनै पनि कुरा गलत छैनन् । उनले उठाएका हरेक विषय जायज छन् । उनको वक्तव्यमा नेपाली जनताले भोगिरहेको, महसुस गरेको यथार्थ समेटिएको छ र उनले सही कुरा नै गरेका छन् । यसैले सो वक्तव्यले हरेक राष्ट्रवादीलाई एकपटक राष्ट्रप्रति सोच्न बाध्य बनाउँछ । यसैले एक जिम्मेवार नागरिकको हैसियतमा मात्र हेर्दा पनि राजाले उठाएका सवालहरू गम्भीर छन् । यसप्रति राजनीतिक नेतृत्वले पूर्वाग्रह राख्ने वा प्रतिशोध लिने होइन सकारात्मक रूपमा लिनुपर्छ । निश्चय नै ज्ञानेन्द्रले राजाको रूपमा शासन गरे, अलोकप्रिय भए तर दलहरूले जनतालाई के दिए र देशको हालको अवस्था कस्तो छ गम्भीर भएर सोच्ने हो भने वक्तव्यको खण्डन गर्नु वा प्रतिवाद गर्नुपर्ने कुनै कारण छैन । यसैले पूर्वराजाका विज्ञप्तिको विरोधमा वक्तव्यबाजी गर्नेहरूले एकपटक छातीमा हात राखेर सोच्नु जरुरी छ ।
यही परिवेशमा हाम्रा नेताहरूको मानसिकता देखेर हरेक सचेत नागरिकलाई दया जागेर आएको छ । कठै हाम्रा नेता भन्न मन लागेको छ । र, पङ्क्तिकारलाई नेताहरूसँग प्रश्न गर्न मन लागेको छ, राजतन्त्र भूत भइसक्यो, तैपनि किन यसरी तर्सन्छौ नेता हो ? के अझै पनि राज्यका संयन्त्र आफ्नो हातमा छन् भन्नेमा विश्वस्त छैनौ ? छैनौ भने त्यो तिमीहरूकै कमजोरी हो । जनतामाथि विश्वास गर । जनताको भावनाको कदर गर । जनताको सम्मान गर । पूर्वराजासँग नतर्स । उनका बेलाबेलामा आउने कुरासँग नझस्क । सजग रहु । उनले उठाएका कुराहरू कत्तिको जायज छन् तिनको विश्लेषण गर । कमी–कमजोरी स्वीकार गर । आत्मालोचना गर । आफूलाई सुधार्न ढिलो नगर । तर, आफूहरूका कमजोरी औँल्याएर वक्तव्य निकाले भन्दैमा पन्ध्र वर्षअघिको कुरा उठाएर प्रतिशोध साध्ने धम्की नदेऊ । कुनै समयको राजा, जसले यतिखेर आमनागरिककै रूपमा जीवन बिताउँदै छ उसले देखेका वास्तविकता अभिव्यक्त गर्न र सत्तासीनहरूलाई सजग गराउन पनि नपाउने ? त्यसैलाई अन्यथा ठान्ने ? के यही हो लोकतन्त्र ? यसैले पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यप्रति पूर्वाग्रह नराख, त्यसलाई मनन गर । पूर्वराजाको वक्तव्यका अक्षरअक्षरका भावनालाई नेपाली जनताको भावनाको रूपमा लेऊ र कमी–कमजोरी सुधार गर यसो हुन सकेमा मात्र नेपाल र नेपालीको कल्याण हुनेछ ।
प्रतिक्रिया