सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति

सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति


झापा जिल्लामा रहेका नेपाल–भारत सीमास्तम्भमध्ये तीन सय ६ वटा सीमास्तम्भ ६ महिनाभित्रै पुनर्निर्माण गर्ने सहमति भएको छ । गत साता बिर्तामोडमा नेपाल–भारतबीचको अधिकारसम्पन्न संयुक्त टोलीबीच भएको छलफलपछि सीमास्तम्भ पुनर्निर्माण गर्ने सहमति भएको हो । झापा, मोरङ र सुनसरीमा भारतसँगको सीमा छुट्याउने ११ सय ७३ सीमास्तम्भ छन् । भारतको तर्फबाट प्रशासक एडीएम, डिएम र भारतीय नापी सर्भे अफिसर केबी खत्रीसमेतको उपस्थितिमा नेपाल–भारत सीमामा सन् २०१७ को जुनसम्ममा तीन सय ६ वटा सीमास्तम्भ निर्माण गरिसक्ने सहमति भएको हो । सो इलाकाका एक सय ७४ वटा सीमास्तम्भ भत्काएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको पनि टोलीले निक्र्योल गरेको छ ।

यसैबीच साउथ एसिया फाउन्डेसनको आयोजनामा गत सोमबार सुरु भएको ‘इन्डिया–नेपाल फल्क क्राफ्ट फेस्टिभल’ गत शुक्रबार समापन गरिएको छ । नेपाल र भारतबीच लोकसंस्कृति आदान–प्रदान गर्ने मूल उद्देश्यले राजधानीको भृकुटीमण्डपमा आयोजित फल्क क्राफ्ट फेस्टिभलमा अवलोकनकर्ताको घुइँचो लागेको थियो । मेलामा नेपाल र भारतका स्थानीय कलाकृति एवम् संस्कृति प्रस्तुत गरिएको थियो भने भारतदेखि आएका ५० तथा नेपालका २० जना कलाकारले तयार पारेको लोक तथा कला संस्कृति झल्कने वस्तुहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए ।

भारत सरकारको प्रायोजन तथा भारतीय दूतावास काठमाडौं, नेपाली दूतावास नयाँदिल्ली, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान, हस्तकला महासङ्घ नेपाल, नेपाल पर्यटन बोर्ड र इन्डियन कल्चरल सेन्टर (भारतीय दूतावास)को सहयोगमा मेला आयोजना भएको हो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गरेको मेला उद्घाटन समारोहमा सिँचाइमन्त्री दीपक गिरी, नेपालका लागि भारतीय राजदूत रञ्जित रायलगायतको विशेष उपस्थिति रहेको थियो ।