टोकियोमा राप्रपाको एकता भेला

टोकियोमा राप्रपाको एकता भेला


13-japan-arpan

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएसँगै राप्रपाको प्रवासी सङ्गठन ओनो जापानको एकता भेला गत आइतबार टोकियोमा सम्पन्न भएको छ । ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको अध्यक्षता र ओनोका संरक्षक, समाजसेवी बुद्धिजीवी तथा पार्टी नेता कलेन्द्रविक्रम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाईंलगायतले पार्टी एकीकरणको आवश्यकता र उद्देश्यबारे प्रस्ट पारेका थिए । भेलाले आगामी ८ तारिक (पुस २७)का दिन पृथ्वीजयन्ती (एकता दिवस) भव्य रूपमा मनाउनेसमेत निर्णय गरेको छ ।

पार्टी एकीकरणसँगै ओनो जापानको सहअध्यक्षमा सुशीलवीर जबरालाई सर्वसम्मत मनोनीत गरिएको छ । मनोनयनसँगै सहअध्यक्ष जबराले पार्टीको उद्देश्य, नीतिलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिए । यसैगरी ओनो जापानका संरक्षक तथा पार्टीनेता शाहीले विश्वका हिन्दूहरूको एक मात्र आस्थाको केन्द्र नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताउँदै पार्टीप्रति आस्था राख्ने र नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रशिक्षण दिएका थिए । भेलाले कान्तोमा विक्रम क्षेत्री, तोहोकुमा चेतबहादुर शाही र कान्साईमा सौरभ मल्लको संयोजकत्वमा क्षेत्रीय समितिहरूसमेत गठन गरेको छ । ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले देश अहिले इतिहासकै जटिल अवस्थामा पुगेको र राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेकाले देश विकासका लागि प्रवासी नेपालीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । जापानमा बसोवास गर्ने हरेक नेपालीको समस्यालाई ओनो जापानले सम्बोधन गर्ने पनि भेलाले निर्णय गरेको छ ।

– अर्पणराज खरेल (टोकियो)