बैरगनिया सम्मेलनदेखि सङ्घर्षविरामसम्म बीपी

बैरगनिया सम्मेलनदेखि सङ्घर्षविरामसम्म बीपी


sn-karki-5

– स्वयम्भूनाथ कार्की

बैरगनिया कन्फरेन्समा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाली डेमोक्रेटिक काङ्ग्रेस एकीकरण भएर बनेको नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्तिको नीति पारित ग¥यो । सुवर्णशमशेरले एक महत्वपूर्ण कुरा उठाए, क्रान्तिको बेलामा हरेक विषयलाई वर्किङ कमिटीबाट निर्णय गराइनु सम्भव थिएन, क्रान्तिको बेला केही गोप्यता राख्न पनि आवश्यक हुन्छ त्यसैले उचित पनि थिएन । यसकारण कसैलाई सर्वोच्च अधिकार सुम्पिन आवश्यक थियो । मातृका एकीकरणपछिका पार्टी अध्यक्ष थिए । बीपीले मातृकालाई सो अधिकार सुम्पने प्रस्ताव गरे । के.आई. सिंहहरूले यो अप्रजातान्त्रिक भयो भनेर त्यसको विरोध गरे । बीपीको जोडले त्यो प्रस्ताव पारित भयो । आफ्नो जोडले मातृका सुप्रिम कमान्डर भएकाले बीपीलाई मातृकाले म सुप्रिम कमान्डर भनेको मन नपरेको आभास हुन्छ । परिच्छेद २९ मा भन्छन्, ‘त्यो मेरै जोडबाट पास भएको थियो र मातृकाबाबु सर्वोच्च अधिकारी हुनुभयो । जहिले पनि भन्नुहुन्थ्यो, ‘म त सुप्रिम कमान्डर । तर, त्यो मेरो जोडबाट हुनुभयो ।’

भर्तीको काम, हतियार तथा पैसाको जोहोको काम बीपी र सुवर्णले सम्हाले । त्यसमा भूपू सैनिक र आजाद हिन्द फौजका सदस्यहरूको प्रधानता थियो । बीपीले हतियारको खोजी बर्मामा एसियन सोसलिस्ट पार्टी सम्मेलनको आतिथ्य गरिदिने प्रस्ताव लिएर जाँदा नै गरिसकेका थिए । सुवर्णले पार्टी एकीकरण पहिलेदेखि नै भर्ती सुरु गरिसकेका थिए । महावीरशमशेर र सुवर्णशमशेर पार्टीको आर्थिक सङ्कटमोचक थिए, भीमशमशेरका यी दुवै नातिहरूले आफूभन्दा अलग भएर पार्टी खोल्दा त मनग्ये आर्थिक मद्दत गरेका थिए भने भर्तीको काम, हतियार खोज्ने काम र पैसाको जोहो गर्न सबैभन्दा उपयुक्त नै बीपी सुवर्णको जोडी थियो । बर्माबाट हतियार ल्याउन महावीरशमशेरको प्लेन नै प्रयोग गरिएको थियो । यसबाहेक बीपी र सुवर्ण पूर्वपट्टिको क्रान्तिइन्चार्ज बनाइए भने पश्चिमपट्टिको इन्चार्ज महेन्द्रविक्रम र सूर्यप्रसाद बनाइए । पश्चिममा भएका गडबडीको दोष यही कारणले बीपी नेतृत्वलाई दिन्छन् । गडबडबाट मुक्त त पूर्व पनि थिएन, पछि आफू गृहमन्त्री भएपछि बीपीले ठीक गरेका गडबडीमा पूर्व–पश्चिम दुवैतिरका छन् ।

वीरगन्जमा थीरबम मल्लको बलिदानपछि तहबिल र हतियार कब्जा भइसकेपछि बीपी अगाडि बढ्दै भीमफेदी गढी कब्जा गर्न चाहन्थे । पूर्णसिंह र याकथुम्बा मिलिटरी चलाउने जिम्मेवारीमा थिए । पूर्णसिंह आजाद हिन्द फौजको सिनियर अफिसर थियो, सुवर्ण पनि मिलिटरी स्टे«टजी पढेको र जेनेरल भइसकेका थिए । दुवैले आफूसँगको अहिलेको बलले अर्को हमला गर्न नसक्ने आँकलन गरेका थिए । वीरगञ्ज छोडेर जङ्गलमा बेस बनाएर आफ्नो स्थिति बलियो बनाउनुपर्छ भन्ने उनीहरूको भनाइ थियो । तर, बीपी बढ्दै गएर भीमफेदी कब्जा गर्ने र काठमाडांैमा खलबली मच्चाउने ध्याउन्नमा थिए । यस्तैमा पटनाको आईजीले काठमाडौंबाट सेना मार्च गरिसकेको खबर दियो । प्रत्यक्ष लडाइँमा थीरबम मल्ल गुमाएर आएको पूर्णसिंहको आँकलन सही थियो कि एक सयको विरुद्ध एकजना विद्रोही सैनिकले विजय प्राप्त गर्न सक्छ भन्ने बीपीको दृष्टिकोण ठीक थियो यसको परीक्षण नै हुन पाएन आईजीले ल्याएको खबरले ।

विराटनगरमा बडाहाकिमनिवास कब्जा गर्न गोलाबारुद माग्न बीपी भारतीय प्रधानमन्त्री नेहरूकोमा गए । गोलाबारुद त पाएनन् नै बरु उल्टै नेहरूले म तपाईंलाई हतकडी लगाइदिन्छु भनेर झपारेको प्रसङ्ग परिच्छेद ३० मा उल्लेख छ । यसरी भारतबाट निराश भएपछि सुवर्णले जुटमिलको फाउन्ड्रीमा रकेट बनाउन लगाए । तर, त्यो रकेटले पनि कम्पाउन्डवाल तोड्न सकेन । अनि फेरि ट्याक्टरलाई ट्याङ्कमा रूपान्तरण गरेर विराटनगरको बडाहाकिमलाई कब्जा गरे । यस क्रान्तिकालमा बीपीले सुप्रिम कमान्डरको निर्देशन लिएको भेटिन्न बरु निर्देशन नाघेका केही घटना भने छन् । राणाहरूलाई राजनीतिक दबाब राजा त्रिभुवनको आडमा नेहरूले दिएका थिए । फलत मोहनशमशेर टिक्न सकेनन् । परिच्छेद ३१ मा ‘भारतीय प्रेसमा काङ्ग्रेसी बन्दुकभन्दा बढी आवाज निस्किन्छ’ भन्ने विजयशमशेरको भनाइ यसै कुराको प्रमाण हो । यही विकसित परिस्थितिमा त्रिभुवनले लडाइँ बन्द गरेर राणा, काङ्ग्रेस राजाको अध्यक्षतामा बसेर समाधान निकाल्ने अपिल निकाले । आफूलाई नसोधी वक्तव्य निकालेको भनेर पर्चा छर्ने प्लेनलाई फायर गर्ने आदेश बीपीले दिए । यसलाई उनी आफ्नो कमजोरी मान्छन् । ‘मेरो एउटा खास राजनीतिक अपरिपक्वताले होस् वा जे भएर होस्, मेरा यस्ता आवेश पहिले पनि प्रकट हुन्थे, र अहिले पनि’ ।

त्रिभुवन दिल्लीमै थिए, राणाका तर्पmका र काङ्ग्रेसका तर्पmका सम्भावित वार्ताकारहरू दिल्लीमा जम्मा भए । सुरुमा भारत सहजकर्ताको रूपमा देखापरेको छ, तर वार्तास्थलको बारेमा नै करिब–करिब मतभिन्नता भएको छनक पाएपछि भने भारत बिस्तारै निर्देशक हुँदै गएको प्रस्ट अनुभव हुन्छ । वार्ता कहा“ गर्ने भन्ने विषय उठान हुनेबित्तिकै सबैलाई उछिनेर बीपी भन्छन्– काठमाडौं । यो नै सीपीएन सिन्हाजस्तो घघडानलाई काङ्ग्रेसभित्र सल्लाह, छलफल, विचार–विमर्श हुने रहेनछ र बिनातयारी कुरा गर्ने रहेछन् भनेर अड्कल काट्न सजिलो पार्ने घटना भयो । आपसमा छलफल गरेर तर्कपूर्ण तरिकाले कुरा राखिएको भए सम्भवतः भारतको भूमिका सहजकर्ताको नै रहन्थ्यो वा धेरै कुरामा उसलाई सीमित गर्न सकिने थियो । तर, यसपछि भने नेपाल फर्कने बेलासम्म नै भारतका निर्देशकको भूमिकामा गयो । कहाँसम्म भने राजाले गर्ने शाहीघोषणा पनि उसैले अङ्ग्रेजीमा खेस्रा गरिदियो जसको अनुवाद मात्र बीपीले गर्न पाए । तीनपक्षीय वार्ताको त कुरा मात्र रह्यो बीपीको भनाइमा त्यस्तो कुनै वार्ता नै भएन, राजासँगको एक औपचारिक भेटबाहेक न कुनै औपचारिक कुरा भयो न अरू भेट नै । बीपीले राजालाई भेट्नुभन्दा नेहरूलाई भेट्नु ज्यादा उपलब्धिमूलक ठाने । त्यसैले परिच्छेद ३२को अन्तमा बीपीलाई भन्न कर लाग्यो ‘एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको ।’