बालगोविन्द जनता उमाविलाई करोड सहयोग

बालगोविन्द जनता उमाविलाई करोड सहयोग


Sarlahi

सर्लाहीको पिपरिया गाविसस्थित श्री बालगोविन्द जनता उमाविको भवन निर्माणका लागि मित्रराष्ट्र भारतले एक करोड आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, सर्लाहीका स्थानीय विकास अधिकारी जगन्नाथ पन्त र बालगोविन्द जनता उमाविका प्रिन्सिपल बद्रीनारायण मिश्रबीच यससम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत साना विकास परियोजना शीर्षकमा उक्त विद्यालयका लागि भारतले सहयोग प्रदान गर्न लागेको सम्झौतापत्रमा उल्लेख छ । नयाँ विद्यालय भवन आगामी पन्ध्र महिनाभित्रै सम्पन्न हुने जनाइएको छ ।

प्राथमिक विद्यालयको रूपमा खडा भई बीस वर्षअघि माध्यमिक तहमा स्तरोन्नति भएको बालगोविन्द जनता उमावि हाल उमाविस्तरमा सञ्चालित छ भने विद्यालयमा करिब एक हजार छात्रछात्रा अध्ययनरत रहेका छन् । नयाँ बन्ने भवन संरचनाले अध्ययन–अध्यापन कार्यमा थप मद्दत मिल्ने र विद्यार्थीको सिकाइमा पनि स्तरोन्नति आउने अपेक्षा स्थानीयले गरेका छन् ।

सम्बद्ध पक्षले जनाएअनुसार सर्लाही जिल्लामा यसअघि नै भारत सरकारका तर्फबाट विभिन्न सात आयोजना सम्पन्न गरिएका छन् भने पाँच अर्ब लगानीका अन्य बाह्रवटा परियोजना निर्माण चरणमा रहेका छन् । जिल्लाको लागि सत्ताइसवटा एम्बुलेन्स, बसलगायत भौतिक साधनहरूसमेत उपलब्ध गराइएको बताइएकोे छ ।