केराबारी र उखुबारी जोड्न पुल

केराबारी र उखुबारी जोड्न पुल


13-kerabari

रूपन्देहीको देवदह क्षेत्रमा दुई नयाँ पुल निर्माण हुने भएका छन् । देवदह नगरपालिका केराबारी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदी र देवदह–३ वसन्तपुर र तिलोत्तमा–१५ भाटा जोड्ने रोहिणीखोला पुलको एक कार्यक्रमबीच नेपाली काङ्ग्रेस रूपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य हरि काफ्ले, क्षेत्रीय सभापति हीराबहादुर खत्री, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, तिलोत्तमा नगरपालिका निमित्त कार्यकारी अधिकृत राजेन्द्र आचार्यलगायतले अत्यन्त नजिक भएर पनि खोलाको कारणले निकै टाढाजस्तै भएका तिलोत्तमा र देवदह नगरपालिकाका गाउँबस्तीलाई पुल निर्माणले जोड्ने मात्र नभई गौतम बुद्धको मावली देवदहको प्रचारप्रसार र पर्यटन विकासमा मद्दत पुग्ने धारणा राखे ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटाबजार जोड्ने रोहिणीखोला पुल १० करोड एक लाख रुपैयाँमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । १२० मिटर लम्बाइको पुल निर्माणसँगै ५०० मिटर एप्रोच सडक र २०० मिटर नदी नियन्त्रणसमेत गरिने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

पुल र तटबन्ध निर्माण भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै नदी कटान नियन्त्रण भई खेत र बस्तीहरू सुरक्षित हुने विश्वासले स्थानीयवासी निकै उत्साहित भएका छन् । यस्तै, उता देवदहको केरवानी र नवलपरासी सुनवलको उखुबारी जोड्ने ४२ मिटर लामो कजरार नदी पुल अबको दुई वर्षमा निर्माण हुने सम्झौता भएको छ । मैनाचुली सत्यसाई अन्जना जेभीले सात करोड ४२ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको काङ्ग्रेस रूपन्देहीका क्षेत्रीय सभापति हीराबहादुर खत्रीले बताए ।

यसैक्रममा नेपाली सेना शान्ति मिसनमा जाँदा आफ्नै नेतृत्वमा नेपाली झन्डा बोकेर जाने रक्षामन्त्री बालकृष्ण खाणले जनाएका छन् । नेपाली सेनाले अहिलेसम्म शान्ति मिसनमा जाँदा नेतृत्वदायी भूमिका खेलेको भन्दै मन्त्री खाणले अबका दिनमा पनि नेपाली सेना अरू कसैको नभई आफ्नै नेतृत्वमा शान्ति मिसनमा जाने दाबी गरे ।

रूपन्देहीका तिलोत्तमा नगरपालिका–१३ मा निर्माण भएको बेबरी ग्रिनपार्क संरक्षण केन्द्रको पहिलो साधारणसभालाई सम्बोधन गर्दै काङ्ग्रेस नेतासमेत रहेका मन्त्री खाणले तिलोत्तमा नगरपालिकाको गुरुयोजनामा उक्त ग्रिनपार्कलाईसमेत समावेश गर्न नगरपालिकासँग आग्रह गरे । उक्त ग्रिनपार्कभित्रै भ्युटावर निर्माण योजना बनाउन समितिलाई आग्रह गर्दै उनले त्यसमा नगरपालिकाको सहयोग रहने विश्वास प्रकट गरे ।
रक्षामन्त्री खाणले सोही स्थानमा रहेको स्वास्थ्यचौकीलाई नगरस्तरीय अस्पतालको रूपमा विकास गर्न लागिएको जानकारी गराए । उक्त स्वास्थ्यचौकीलाई नगरस्तरीय अस्पतालको रूपमा स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भएको बताउँदै नगरस्तरीय अस्पताल बनेपछि त्यस क्षेत्रका जनताले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने खाणको कथन थियो ।

साधारणसभामा ग्रिनपार्क संरक्षण केन्द्रका अध्यक्ष दिलसिंह थापा र महासचिव हरिप्रसाद भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै त्यस क्षेत्रको सामाजिक विकासमा उक्त केन्द्रले काम गर्ने तथा ग्रिनपार्क निर्माण गरेर सार्वजनिक सम्पत्तिको संरक्षण भएकोसमेत बताए ।

ग्रिनपार्क निर्माणमा विशेष योगदान पु¥याउने स्थानीय समाजसेवी कृष्णप्रसाद पौडेलका साथ दुलबहादुर थापा, गोकर्ण खाम्चा, शेरबहादुर सुनारी र कुलबहादुर खानमगरलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेन्द्रराज आचार्यले नगरको एकीकृत विकासमा नगरपालिका लागिरहेको बताउँदै नगरपालिकाले बनाउन लागेको गुरुयोजनामा पर्यटनको केन्द्र बन्ने गरी उक्त पार्कलाई समावेश गर्ने जानकारी दिए ।
– चन्द्रकान्त खनाल